भरतपुर, १५ वैशाख ।
नारायणघाटको पुलचोकमा पश्चिम र पूर्वका विभिन्न शहरका लागि छुट्ने बसहरू अडिने गर्दछन् । पश्चिमतिर जाने गाडीको काउण्टर भएतिर सपाटोको बोटमा झोला र अरु पोकापुन्तुराको थुप्रो थियो । सबै झोलालाई कुरेर एउटी सानी केटी बसिरहेकी थिइन् । नजिकै काउण्टरमा यात्रुहरू क्लर्कसँग सोधपुछ गरिरहेका थिए । कोही भने आफूले बोकेको भारी लगेज ब्यागलाई छेवैमा बिसाउँदै थिए ।
कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमणलाई नियन्त्रण गर्न चितवन जिल्लामा पनि वैशाख १६ गते मध्यरातदेखि निषेधाज्ञा जारी हुने भएपछि रोजगार तथा पढाइका लागि यहाँ आएका मानिसहरू आफ्नो थाकथलो फर्कन थालेका हुन् ।
बुधबार दिनभर भरतपुर महानगरपालिकाको केन्द्रीय बस टर्मिनल, पोखरा बसपार्क तथा पुलचोकस्थित काउण्टरमा चितवनबाट पूर्व तथा पश्चिम जाने यात्रुहरूको भीड उल्लेख्य मात्रामा रहेको थियो । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा हुने निर्णय सार्वजनिक भएपछि चितवनमा पनि निषेधाज्ञा हुने भन्ने अनुमान लगाएर मंगलबारदेखि नै मानिसहरू घर फर्कन थालेका थिए । चितवन जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय भने बुधबार दिउँसो सार्वजनिक भएको थियो ।
सामान्य दिनमा करिब २० देखि ३० हजार यात्रु वाहक सवारी साधन चितवन प्रवेश गर्ने र यहाँबाट निस्कने गरेकामा बुधबार भने सवारी साधनको चाप एकदमै बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । “निषेधाज्ञा हुने खबर बाहिरिएपछि काठमाडौंबाट चितवन हुँदै पूर्वपश्चिम जाने गाडी मात्र नभएर यहीँबाट छुट्ने सवारीसाधनको संख्या पनि बढेको पाइएको छ”, ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले बताए ।
भरतपुर बसेर अध्ययन गरिरहेकी तुलसीपुर दाङ्गकी कीर्ति ढकाल मंगलबार नै घर फर्किइन् । उनले त्रिवि अन्तर्गत स्नातक तहको द्वितीय वर्षको परीक्षा दिइरहेकी थिइन् । मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको संक्रमण फैलँदो क्रममा रहेको भन्दै गत सोमबारदेखि सबै तहका परीक्षा रोक्ने निर्णय गरेको थियो । त्रिविले सोमबारका लागि तय भएको परीक्षा भने लिएको थियो । “पाँच ओटा विषयमध्ये तीन ओटाको परीक्षा दिइसकेका थियौं । दुईटा पेपर बाँकी रहँदा परीक्षा नै रोकियो”, कीर्तिले अगाडि भनिन्, “अब झन् निषेधाज्ञा हुने, डेरामा बस्न धौ हुने भएपछि घर फर्किँनै बेस ठानेँ ।”
बुधबार पुलचोकमा रहेका विभिन्न यातायात व्यवसायीका टिकट काउण्टर अगाडि पनि यात्रुहरूको भीड थियो । टिकट पाएकाहरूले आफ्ना सरसामना भेला गरी गाडी कुरिरहेका थिए । टिकट नपाएकाले पनि काउण्टरमा जसरी पनि टिकट मिलाइदिन अनुरोध गरिरहेका थिए । काउण्टरका क्लर्कले बसहरूमा सीट खालि नभएको बताइरहेका थिए । गाडीभित्र मुढा वा सामन राखिएको बोरा भएका खण्डमा त्यसैमा बसेर घर जान सकिने विकल्प रहेको उनीहरूले सुझाइरहेका थिए । टिकट नपाएका यात्रुहरूका आँखामा अनिश्चितताको झलक देख्न सकिन्थ्यो । “यात्रुको चाप धेरै भएकाले काउण्टरमा अरु गाडी पनि मगाएका छौं । चितवनबाट पश्चिम जानेको चाप त छँदै छ । काठमाडौंदेखि घर जान टिकट नपाएकाहरू पनि यहाँ आएर टिकट सोध्ने गरेका छन्”, बस कण्डक्टर पदम मगरले सुनाए । गत वर्षको लकडाउन खासै उपयोगी नभएकाले यस पटक निषेधाज्ञा गर्नुले पनि अर्थ नराख्ने उनको भनाइ थियो । “सरकारले पहिले नै खुल्ला नाकामा कडाइ गर्नुपर्ने थियो । तर अब त ढिलो भइसक्यो । यो पटक त झन् भाइरस पनि खतरनाक भएको छ रे भन्छन्”, उनले आफ्नो विचार राखे । खानेपानीको सर्वेक्षण गर्न इच्छाकामना आएका लोकेन्द्र बहादुर डाँगीको चितवन बसाइ अझै एक महिना जति बाँकी थियो । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञा लागू हुने भएपछि उनले पनि घर फर्कने निधो गरेका हुन् । “सरकारले केही विकल्प नदेखेरै अन्तिम अस्त्रको रूपमा निषेधाज्ञा गरेको होला । पोहोरको जस्तो यस पटकको निषेधाज्ञा निरर्थक नहोस् भन्ने कामना छ”, पुलचोकमा सल्यान जाने बस कुरिरहेका डाँगीले बताए ।
देवघाटस्थित परमानन्द संस्कृत गुरुकुलमा अध्ययन गरिरहेका आछामका लक्ष्मण उपाध्यायले पनि निषेधाज्ञा हुन भएर घर फर्किन लागेको बताए । “भौतिक उपस्थितिमा पठनपाठन र परीक्षा नहुने भएपछि विद्यालय नै बन्द भयो । विद्यालयमा संक्रमण फैलन सक्ला भनेर घर फर्कन लागेको हुँ”, उनले सुनाए । भरतपुर महानगरपालिका वडा नं ५ नजिकै पर्ने नारायणपुरकी गौमती सुवेदी आफन्तको विवाह तथा चौरासी पूजामा सहभागी हुन म्याग्दीको बेनी पुगेकी थिइन् । फेरि पनि बन्द हुन्छ रे भन्ने सुनेर हतारिँदै घर फर्किएको उनले बताइन् । “नातेदारको विवाहमा सरिक हुन गएकी थिएँ । त्यहीँ पनि कोरोना भाइरसका संक्रमितहरू देखेँ । सबैतिर बन्द हुन थाल्यो रे भन्ने सुन्ने पछि घर फर्किएकी हुँ”, बुधबार दिउँसो पुलचोक ओर्लिएपछि उनले सुनाइन् ।
“सरकारले निषेधाषा मात्रै गर्ने स्वास्थ्य क्षेत्रको क्षमता बिस्तारमा चाहिँ ध्यान नदिने हो भने निषेधाज्ञा उचित हुँदैन । मानिसहरूको भीडभाडलाई रोक्नै पर्ने भएर पनि निषेधाज्ञा गरेको होला । अब चाहिँ सरकारको भर पर्नुभन्दा पनि आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने समय आएको छ जस्तो लाग्छ”, पुरानो नारायणी यातायात कम्पनीको पुलचोक काउण्टरका कर्मचारी सन्तोष श्रेष्ठले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार वैशाख १६ गते मध्यरातदेखि सुरु भएको निषेधाज्ञा ३१ गतेसम्म चल्नेछ ।