खैरहनी, १५ वैशाख
खैरहनी नगरपालिकामा कोभिडसम्बन्धी चेतनामूलक गतिविधि गरिने भएको छ । उद्योग वाणिज्य संघले सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुसँग मिलेर ती गतविधि सञ्चालन गर्ने भएको हो ।
बुधबार खैरहनीका निजी तथा सरकारी स्वास्थ्य निकायहरुसँग भएको संघको अन्तरक्रियामा विभिन्न ६ वटा निर्णय भएका छन् । संघका अध्यक्ष दिपेन श्रेष्ठको अध्यक्षता तथा खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियाले नगरका १३ वटै वडामा माइकिङ गर्ने, विभिन्न सामाजिक संस्थाहरुसँगको समन्वयमा नगरभित्र कम्तीमा ३–४ ठाउँमा अक्सिजन विट स्थापना गर्ने निर्णय भएको कार्यक्रम संयोजक किरण बुर्लाकोटीले जानकारी दिए ।
त्यस्तै निजी क्षेत्रका औषधि पसलसँग समन्वय गरी ‘तपाईंको औषधि तपाईंको घरमा’ कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने, खाद्यवस्तु डेलिभरीको लागि सहजीकरण गर्ने, सन्देशमूलक पोष्टर वितरण गर्ने तथा फिवर क्लिनिक स्थापनाको लागि नगरपालिका स्वास्थ्य शाखाले पहल गर्ने निर्णय भएको बुर्लाकोटीले जानकारी दिए ।