भरतपुर, १३ वैशाख ।
चितवन जिल्लामा कोरोना भाइरस विरुद्धको दोस्रो मात्राको खोप लगाउनेको संख्या १२ हजार ३ सय २८ पुगेको छ । आइतबार यहाँ थप ९ सय ६२ जनाले खोप लगाएका हुन् । गत वर्ष माघ १४ गतेदेखि फाल्गुन १० गतेसम्म पहिलो मात्राको खोप लिएकाहरूलाई दोस्रो मात्राको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा दोस्रो मात्राको खोप वैशाख ७ गतेदेखि प्रदान गर्न थालिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कालिका नगरपालिकामा २ सय २९, राप्ती नगरपालिकामा २ सय ६०, रत्ननगर नगरपालिकामा १ हजार २ सय ९१, माडी नगरपालिकामा ३ सय १७ र भरतपुर महानगरपालिकामा ९ हजार ५ सय ४८ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । यस्तै, खैरहनी नगरपालिकामा २ सय ९२ र इच्छाकामना गाउँपालिकामा ३ सय ७७ जनाले दोस्रो मात्राको खोप लगाएको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा लगाइएका खोप मध्ये ६ हजार २३ खोप मातृ शिशु क्लिनिक, जिल्ला प्रेषण केन्द्रबाट लगाइएका हुन् ।
स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल र सशस्त्र प्रहरी बल आँपटारीबाट पनि खोप लगाइएका छन् ।
दोस्रो मात्राको खोप लगाएकाहरूको खोपको मात्रा पनि पूरा भएको छ । खोप लगाएको भएपनि कोरोना भाइरसको संक्रमणबाट बच्न व्यक्तिले न्यूनतम जनस्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्ने कार्यालयले जनाएको छ ।
चितवन जिल्लामा हालसम्म ३९ हजार ८ सय ७९ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् । चितवनका नागरिकलाई दिइएको कोभिसिल्ड नामक खोप भारतीय कम्पनी सिरम इन्ष्टिच्युटले निर्माण गरेको हो ।