भरतपुर, १० वैशाख ।
हाकिम चोकतर्फबाट गुड्दै आएको म्याजिक भ्यान चौबिसकोठी चोकको यात्रु प्रतीक्षालय अगाडि आएर टक्क अडिन्छ । म्याजिक भ्यानबाट फुत्त सहचालक ओर्लन्छन् । प्रतीक्षालयमा बसेका यात्रु म्याजिक भ्यानको ढोका नजिक आएर भित्र हेर्छन् । भ्यानमा सबै सीट पहिल्यै यात्रुले भरिएको देखेपछि उनीहरू पछि हट्छन् । अर्काे म्याजिकतर्फ लम्किन्छन् । पहिलो म्याजिक भ्यानका सहचालक चिच्याउँदै यात्रु बोलाइरहन्छन्, “रिंगरोड, रिंगरोड, तपाईं रिंगरोड जाने हो ?” त्यत्तिकैमा एक जना महिला आइपुग्छिन् ।
उनले पनि भ्यानभित्र नियाल्छिन् । भ्यान भरिएको देखेपछि उनी अन्तै मोडिन्छिन् । त्यसपछि अघिका सहचालक बोल्छन्, “दिदी, अगाडि सीट खालि छ । तीन जना अट्छ त्यो सीटमा ।” सहचालक बोलिसकेपछि सबै छक्क परेर मुखामुख हेर्छन् । सहचालकले चालकसँगैको सीटमा तीन जना यात्रु चढाउने कुरा जो गरिरहेका थिए । त्यत्तिकैमा एक जना यात्रीले सहचालकलाई सुझाव दिन खोज्छन्, “भाइ, महामारीको बेला त कोचाकोच गर्न भएन नि !”
ती यात्रुको बोली भुइँमा खस्न नपाउँदै भ्यानका सहचालक कड्किए, “कहाँ त्यसो भनेर हुन्छ ? तेलको भाउ कहाँ पुगिसक्यो । महामारी लागेको छ भनेर रित्तो गाडी चलाउने हामीले ? हुन्न त्यस्तो । खुल्लासँग हिँड्ने भए आफ्नै गाडी किनेर चलाउनुस् न ।” यति सुनेपछि ती यात्रु चुप लाग्छन् । म्याजिक भ्यान भित्र बसेका यात्रुमध्ये केहीले मात्रै मास्क लगाएका हुन्छन् । भ्यानभित्र सेनिटाइजर भन्ने कुराको त नाम नै हुँदैन । यसपछि म्याजिक त्यहाँबाट गुडेर पुलचोकतिर लाग्छ ।
यो त प्रतिनिधि घटना मात्रै हो । सरकारले कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको भन्दै नागरिकहरूलाई गम्भीर भई जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालयले मात्र होइन, स्थानीय सरकार र प्रशासनले पनि विभिन्न समयमा सूचना निकालेर नागरिकहरूलाई भाइरसको संक्रमणबाट बच्न रोकथामका उपायहरू कडाइका साथ अपनाउन अनुरोध गरिरहेको छ । तैपनि सार्वजनिक यातायातमार्फत् यात्रा गर्ने यात्रु र तिनका चालक÷सहचालकले नियम पालना गरेको अझै पनि देखिएको छैन । मन्त्रिपरिषद्का साथै जिल्ला प्रशासन कार्यालय चितवन दुवैले जारी गरेको सूचनामा मास्क नलगाएकाहरू सार्वजनिक गाडीमा चढ्न नपाउने व्यहोरा उल्लेख गरिएको छ । त्यस्तो अवस्थामा चालक तथा सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क उपलब्ध गराउनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
प्रशासनले चालक तथा सहचालकलाई सीटमा क्षमताभन्दा बढी यात्रु नराख्न पनि अनुरोध गरेको छ । तर भरतपुर महानगरपालिकाभित्र चल्ने म्याजिक भ्यानहरूले मुढामा समेत यात्रीहरू चढाउँदै आएको छ । विशेषतः कार्यालयबाट घर फर्कने समयमा एउटा म्याजिकले १४ देखि १६ जनासम्म यात्रु बोक्ने गरेको समेत पाइएको छ । तर शहरी इलाकाका चेकिङ हुने ठाउँमा सवारी चालकले ट्राफिक प्रहरीहरूलाई छलेर उम्कने गरेका छन् । चेकिङ इलाका काटेपछि तिनले फेरि सोही शैलीलाई निरन्तरता दिने गरेका छन् ।
“कोरोनाबाट बच्ने बारेमा नागरिकहरूलाई कसरी सचेत गराउन सकिन्छ भन्ने विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल कार्यक्रम चलाएका छौं” जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक भगवानराज थापाले भने, “जनस्वास्थ्यका मापदण्डलाई अक्षरसः पालना गराउनका लागि के–के कुरामा ध्यान दिनुपर्ला भन्ने विषयमा पनि कुराकानी भएका छन् ।” कसैले अटेर गरी नियम पालना गरेको पाइएमा उसलाई कानून अनुसार नै उपचार गरिने उनले बताए । मुख तथा नाक छोप्ने मास्क खरिद गर्न नसक्नेहरूका लागि आफैँले मास्क वितरणको कार्यक्रम पनि ल्याउन लागेको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनामा सबै खाले सार्वजनिक यातायातका साधनमा चालक तथा सहचालकलाई मास्क तथा भाइजर अनिवार्य लगाउन भनिएको छ । त्यसैगरी लामो दूरीमा चल्ने बसले एउटा ठाउँबाट छुटेपछि गन्तव्यसम्म नपुगुञ्जेल बीचमा जहाँ पायो त्यहीँबाट यात्रु चढाउन पाउने छैनन् । हरेक पटक सवारीसाधन चलाइनुअघि त्यसलाई राम्रोसँग निसंक्रमित गराउन पनि प्रशासनले अनुरोध गरेको छ ।