भरतपुर, ७ वैशाख ।
चितवन जिल्लामा मंगलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत दोस्रो मात्राको खोप लगाउने कार्यक्रम सुरु भएको छ । गत वर्ष माघ १४ गतेदेखि फाल्गुन १० गतेसम्म पहिलो मात्राको खोप लिएकाहरूलाई दोस्रो मात्राको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मंगलबार जिल्लाभर २ हजार ३ सय ३५ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार कालिका नगरपालिकामा ४०, राप्ती नगरपालिकामा २०, रत्ननगर नगरपालिकामा ९२, माडी नगरपालिकामा ६० र भरतपुर महानगरपालिकामा २ हजार १ सय २३ जनाले दोस्रो मात्राको खोप लगाएका हुन् । पहिलो दिन खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने खोप लगाउने कोही पनि नभएको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा लगाइएका खोप मध्ये ८ सय ३४ खोप मातृ शिशु क्लिनिक, जिल्ला प्रेषण केन्द्रबाट लगाइएका हुन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, विपी कोइराला क्यान्सर अस्पताल र सशस्त्र प्रहरी बल आँपटारीबाट पनि खोप लगाइएको थियो ।
दोस्रो मात्राको खोप लगाएकाहरूको खोपको मात्रा पनि पूरा भएको छ । खोप लगाएको भएपनि कोरोना भाइरसको संक्रमणबाट बच्न व्यक्तिले न्यूनतम जनस्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्ने तिवारीको भनाइ थियो । चितवन जिल्लामा हालसम्म ३९ हजार ८ सय ७९ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् । चितवनका नागरिकलाई दिइएको कोभिसिल्ड नामक खोप भारतीय कम्पनी सिरम इन्ष्टिच्युटले निर्माण गरेको हो ।