हेम राकाहा/कायाकैरन
भरतपुर,२९ बैशाख ।
पर्सि (वैशाख ३१ गते) हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन जिल्लाका सातै तहका निर्वाचन कर्मचारी बिहीबारसम्म मतदान केन्द्र पुगिसकेका छन् । कर्मचारीहरु कार्यथलोमा पुगेर मतदाता परिचयपत्रसमेत बाँड्न थालिसकेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार चितवनमा रहेका १६१ मतदान स्थलअन्तर्गत ३७६ मतदान केन्द्रका लागि २ हजार २ सय ४९ कर्मचारी खटिएका छन् । बिहीबारै सर्वदलीय बैठकमार्फत स्थानीय तहका सबै राजनीतिक पार्टीसँग निर्वाचनको बारेमा छलफलसमेत गरिसकिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । जिल्लाका ७ वटा स्थानीय निकायअन्तर्गत ९८ वटा वडामा चुनाव हुँदैछन् । जसबाट ५०४ स्थानीय प्रतिनिधिहरु निर्वाचन हुने निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी परिचालित भएका छन् । सशस्त्र प्रहरी र नेपाली सेना पनि निर्वाचनमा खटिएको टोलीसँगै त्यसतर्फ लागेको उनले बताए । निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्र, स्वस्तिक छाप, डोरीलगायतका सामग्री लिएर हिंडेको मतदान अधिकृतको समूहलाइ संयुक्त सुरक्षा टोलीले सुरक्षा दिएर लगेको प्रहरी उपरीक्षक दीपक थापले जानकारी दिए ।
टोली सुरक्षित साथ मतदानस्थलमा पुगेको उनको भनाइ छ । निर्वाचनमा खटिने कर्मचारी जनशक्तिको व्यवस्थापन निर्वाचन कार्यालयले गर्नेछ भने परिचालन मुख्य निर्वाचन अधिकृतमार्फत हुनेछ । जिल्लामा रहेको विभिन्न सरकारी कार्यालयका कर्मचारी, संस्थानका कर्मचारी र सरकारी विद्यायलका शिक्षकहरु निर्वाचनमा परिचालन हुनेछन् ।