विप्लव काफ्ले
भरतपुर, २० साउन ।
भरतपुर–१९ र २० को मतगणना भरतपुरको कभर्डहलमा हुँदैछ । यसअघि गत जेठ १४ गते राति मतगणनाकै क्रममा प्रतिनिधिबाट मतपत्र च्यातिएपछि फेरि त्यस्तै घटना हुने त होइन ? आशंका व्याप्त छ ।
तर, स्थानीय प्रशासनले यस्तो हुन नदिन अनेक उपाय अपनाएको छ ।
मतगणनास्थलमा तारजाली लगाइएको छ भने भित्र र बाहिर सबै सीसी क्यामेरा जडान गरिएका छन् । मतगणनास्थलको भित्रपट्टि ३ र बाहिर गेटमा २ वटा क्यामेरा राखिएका छन् ।
कभर्डहल क्षेत्रमा सुरक्षाकर्मीको कडा घेरा छ । मतगणनास्थलमा २५ जना कमाण्डो तालिम प्राप्त सुरक्षाकर्मी परिचालित छन् ।
१ सय ६१ जना नेपाल प्रहरीले कभर्डहल घेरेका छन् । सशस्त्र प्रहरी पनि उत्तिकै छन् ।
कभर्डहलको भित्र र बाहिर सुरक्षाकर्मी निकै नै सतर्कतासाथ देखिन्छन् । अहिले कभर्डहल परिसर वरपर प्रवेशमा निकै कडाइ गरिएको छ । पत्रकारलाई समेत सहज प्रवेश दिइएको छैन ।