भरतपुर, २४ चैत्र ।
छिमेकी तनहुँ जिल्लाको देवघाट गाउँपालिकालाई चितवनको भरतपुर महानगरपालिका १ ठिमुरासँग जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ । पुल सोमबार बिहान करिब ४ बजे भत्किएको हो । पुलको लम्बाइ २२० मिटर तथा चौडाइ ८.५ मिटर रहेको थियो।
पुल निर्माणको काममा करिब ७५ प्रतिशत प्रगति भएको थियो । “पक्की पुल चाँडै बन्ला र जोखिमयुक्त झुलुंगे पुल प्रयोग गर्नुपर्ने बाध्यता हट्ला कि भन्ने थियो । तर अब त नबन्दै पुल नै भत्कियो”, स्थानीयहरूको भनाइ थियो ।
सडक डिभिजन भरतपुरका इन्जिनियर विजय दराईले सो दुर्घटना जमिन कम्पन हुँदा भएको हुनसक्ने अनुमान लगाए । पुलमा ४ वटा स्पान राखिँदै थिए । तीमध्ये तीन ओटा स्पान कंक्रिट र अर्को एउटा स्पान फलामको राख्ने योजना थियो । चितवनतर्फ दुई ओटा तथा तनहुँतर्फ एउटा स्पान बनाइएकामा चितवनतर्फका दुवै स्पान भाँचिन पुगेका हुन् । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार कंक्रिट स्पानको लम्बाइ ४० मिटर रहेको छ भने फलामको स्पान ८० मिटर लामो छ ।
पुलको ढलान करिब तीन हप्ता अगाडि गरिएको थियो । करिब ८० मिटर पुल भत्किएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल निर्माणमा वर्षौँसम्म ढिलाइ गर्दै आएको ठेकेदार कम्पनी एडभेन्चर कन्स्ट्रक्सनसँगको सम्झौतमा सरकारले पटक-पटक म्याद थप गर्दै आएको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर कृष्ण राज अधिकारीले डलानको सर्पोट सरेर स्पान भाँचिएको हुनसक्ने बताए । “ढलान गरेपछिको सुरुवाती समयमा पुल एकदमै सम्वेदनशील हुन्छन् । पुललाई तन्काएपछि मात्रै बलियो हुने हो”, उनले थपे, “ढलान अड्याउन राखिएका पाइप हल्लिएर पुल भत्किएको हो कि भन्ने प्रारम्भिक अनुमान गरेका छौं । असारसम्ममा काम सकेर गाडी चलाउने भन्ने योजना थियो । यस्तो नराम्रो हुन गयो ।”
त्रिशूली नदीमाथि निर्माणाधीनसो पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग २०७० साल कार्तिक २० गते १९ करोड ३१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो । तीन वर्षको म्याद सकिने बेलामा पुलको डिजाइन परिवर्तन भएको थियो । डिजाइन परिवर्तन हुँदा सरकारलाई करिब २ करोड २८ लाख रुपैयाँ थप भार परेको थियो ।
डिजाइन परिवर्तन गरेपछि २०७६ वैशाखसम्मको म्याद दिइएको थियो। २०७६ पुसमा खरिद ऐन संशोधन भएर आएपछि देवघाट-ठिमुरा पुल निर्माण गर्ने ठेकेदारले पनि फेरि एक वर्षको म्याद थप पायो। २०७६ फागुनदेखि म्याद थप भएर पुनः काम सुरू गरेको ठेकेदारले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो। प्रतिबद्धता जनाएको एक वर्ष पनि गएको फागुनमा सकिएर यता आएको हो। पछिल्लो पटक ठेकेदारले असारमा काम सक्ने बताएको थियो।