भरतपुर,२९ बैैैशाख ।
गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । दलहरुले बिहीबार साँझसम्म आफ्ना सबै चुनावी अभियान, प्रचारप्रसार सकिसकेका छन् । देशभर सबै ठाउँमा फरक–फरक पार्टीले फरक–फरक सभा गरेका छन् ।
निर्वाचन हुनु ४८ घन्टाअघि सुरु मौन अवधिले मतदाता, उम्मेद्वार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ । मौन अवधि सुरु भएपछि उम्मेद्वारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन पाइँदैन ।
राजनीतिक दल तथा उम्मेद्वारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस् भनेर मौन अवधि राख्ने गरिएको आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् । पूर्व प्रमुख आयुक्त उप्रेतीले भने, “निर्वाचन हुनु ४८ घन्टा अघि मौन अवधि सुरु हुने विश्वकै प्रचलित मान्यता हो । निर्वाचनको वातावरण शान्त होस्, उम्मेदवारबीचको प्रतिस्पर्धा अस्वथ्य नहोस् भनेर मौन अवधि राखिएको हो । मतदातालाई शान्तपूर्वक सोच्न, उम्मेदवारलाई आफ्नो तयारीका बारेमा समीक्षा गर्न र निर्वाचन आयोगलाई बाँकी काम पूरा गर्न पनि मौन अवधिको महत्व छ ।”
पहिलो चरणको निर्वाचन वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ का २८३ स्थानीय तहमा हुँदैछ । उक्त दिनको मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने आयोगले जनाएको छ । मौन अवधिमा प्रचारप्रसार गर्न र मत माग्न हँुदैन । यो अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री हटाएको हुनुपर्नेछ ।
स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न हँुदैन । त्यस्तै उम्मेद्वार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन । उम्मेद्वार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न हुँदैन ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको जानकारी गराए । निर्देशिकाको दफा ७० को उपदफा(१)मा मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको छ ।
“मौन अवधि भनेको शान्त अवधि हो, यो अवधि भनेको उम्मेदवारले आफ्नो तयारीका बारेमा समीक्षा गर्ने र मतदाताले कसलाई भोट दिने भनेर विचार बनाउने समय हो”, प्रवक्ता शर्माले भने । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ(आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाउनुपर्छ ।
उम्मेद्वार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गन पाइँदैन । चुनाव चिह्न अंकित सामाग्रीहरु बिक्री गर्न वा प्रदर्शन गर्न समेत पाइँदैन ।
उम्मेद्वार वा राजनीतिक दलको प्रचार(प्रसार वा गालीगलौच हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
मौन अवधिको आचारसंहिता तोडेको प्रमाणित भएमा सम्बन्धित उम्मेद्वारको उम्मेद्वारी रद्द गर्नेदेखि १ लाख रुपैयाँसम्म जारिवाना गर्न सक्ने व्यवस्था निर्वाचन आयोग सम्बन्धी कानुन २०७३ मा उल्लेख छ । निर्वाचन आयोगको टोलीले जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लङ्घन भएको देखिएमा तुरुन्त रोक्न आदेश दिनेछ । तर, आयोगको आदेश पालना नगर्नेलाई १ लाख रुपैयाँसम्म जारिवाना र उम्मेदवारी नै रद्दसमेत हुन सक्नेछ ।
निर्वाचन आयोगसम्बन्धी कानुनमा भनिएको छ, “कुनै उम्मेद्वारले आयोगले बनाएको आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ । यसरी उम्मेदवारी रद्द गर्नु अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिनु पर्नेछ ।”
यस निर्वाचनमा उम्मेद्वारको संख्या ४९ हजार ३३७ रहेको छ । यसअनुसार पुरुषको सङ्ख्या ३० हजार पाँच र महिलाको सङ्ख्या १९ हजार ३३२ कायम भएको छ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेको आयोगले जनाएको छ ।