विप्लव काफ्ले
भरतपुर, २० साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज सम्पन्न पुनःमतदानमा पहिलेभन्दा २७ मत थोरै खसेको छ । आज बिहान ७ बजेबाट साँझ ५ बजेसम्म भएको मतदानमा कूल २८ सय ७० मत खसेको छ । यसअघि प्रारम्भिक तथ्यांक भन्दै चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले कूल २८७५ मत खसेको जानकारी दिएका थिए ।
तर, त्यसलाई सच्याउँदै जिल्ला निर्वाचन कार्यालयका अधिकृत हरि ढकालले कूल खसेको मत २८ सय ७० भएको बताए । पछि सहायक निर्वाचन अधिकृत घिमिरेले पनि पुष्टि गरेका छन् । घिमिरेका अनुसार शारदा मावि मतदानस्थलका दुई केन्द्रमा कूल १२ सय ४३ मतदातामध्ये ९ सय ३ मत खसेको छ ।
त्यस्तै किरण मावि किरणगञ्जमा १२ सय ४८ मध्ये ९ सय ५३ मत खसेको छ भने जीवनज्योति आधारभूत विद्यालयमा १३ सय ६ मध्ये १ हजार १४ मत खसेको घिमिरेले बताए । तीनै मतदानस्थलमा दुई–दुई केन्द्र थिए ।
पहिलोपटकको मतपत्र गरेपछि मतगणनाको क्रममा च्यातिएपछि आज भएको पुनःमतदानमा बिहानको उत्साह हेर्दा पहिलेको भन्दा बढी मत खस्ने आँकलन गरिएपनि २७ मत थोरै खसेको हो ।
गत वैशाख ३१ गते भएको मतदानमा २ हजार ८ सय ९७ मत खसेको थियो ।
३ मतदान स्थलका ६ वटै मतदान केन्द्रमा कूल ३ हजार ७ सय ९७ मतदाता थिए ।
साँझ ७ बजेसम्म सबै मतपेटिका मतगणनास्थल भरतपुरको कभर्डहलमा ल्याइसक्ने तयारी छ ।
त्यसपछि प्राविधिक काम सकी सर्वदलीय बैठक बसेपछि मतगणना आजै सुरु गर्ने तयारी भएको घिमिरेले बताए ।