काठमाडौं, २० चैत्र ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी छन् । भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन् ।
शुक्रबारबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको हो । शुक्रबारदेखि नयाँबजार, सोह्रखुट्टे, लगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ ।लिमिटेडले पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा हाल दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताए । उनका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको हो ।
चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएकोमा पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पानी ल्याउन सकिने उनले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ-साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।
मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका हुन् ।
स्रोत – इकान्तिपुर डट कम