विप्लव काफ्ले
भरतपुर, २० साउन ।
भरतपुर–१९ को पुनःमतदान सकिएपछि आजै मतगणना गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयको छ । सामान्य अवस्था रहे अबको केही घण्टामा मतगणना सुरु भइसक्नेछ ।
कतिपयलाई फेरि मतपत्र च्यातिने हो कि भन्ने आशंका छ । तर, निर्वाचन अधिकृतको कार्यालयले मतपत्र च्यात्न नदिन सुरक्षाका अनेक उपाय अपनाएको छ । चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार मतगणना गर्ने स्थल भरतपुरको कभर्डहलमा तारजाली लगाइएको छ ।
अब तारजालीभित्र गणक बस्नेछन् भने सबै दलका प्रतिनिधि तारजाली बाहिर बस्नेछन् ।
तारजालीबाहिर १० वटा बेञ्चमा करिब ३६ जना प्रतिनिधि बस्न मिल्ने व्यवस्था गरिएको छ ।
त्यस्तै गणनास्थलमा चारवटा सीसी क्यामेरा जडान गरिएका छन् । अब हरेक गणनालाई क्यामेरले कैद गर्नेछ ।
कभर्डहलको गणनास्थलमा आजै सरसफाइ गरिएको छ । जेठ १४ गते रातिदेखि सिल गरेर राखिएको कभर्डहलमा आज सफाइ गरेर थुप्रै फोहोर निकालिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत हरि ढकालले जानकारी दिए ।
आज भएको पुनःमतदानमा पहिलेभन्दा कम मत खसेको छ । गत वैशाख ३१ गते भएको मतदानमा २ हजार ८ सय ९७ मत खसेकोमा आजको मतदानमा २ हजार ८ सय ७५ मात्रै मत खसेको घिमिरेले जानकारी दिए । बिहान ७ बजेबाट सुरु भएको मतदान अहिले ५ बजेसम्म चलेको थियो । ३ मतदान स्थलका ६ वटै मतदान केन्द्रमा कूल ३ हजार ७ सय ९७ मतदाता थिए ।
फोटोः चक्र रुचालको फेसबुकबाट