गैंडाकोट, १४ चैत ।
कमल कँडेलद्वारा लिखित `निष्ठाको राजनीति´ पुस्तकमाथि गैंडाकोटमा चर्चा गरिएको छ । सहमति गैंडाकोटको आतिथ्यमा गरिएको कार्यक्रममा प्रा. डा. नारायणप्रसाद खनाल र प्राध्यापक गोविन्द रिमालले टिप्पणी गरे ।
पुस्तकमाथि बोल्दै गोविन्द रिमालले आम नागरिकले निष्ठाको राजनीतिलाई रुचाउने सन्दर्भ पुस्तकका आलेखहरूको सन्देश रहेको बताए । नेपाल र विश्व राजनीतिका सन्दर्भलाई लेखकले पुस्तकमा समेट्न सकेको रिमालले बताए ।
अर्का वक्ता प्रा. डा. नारायणप्रसाद खनालले पुस्तकमा अध्यात्म र राजनीतिलाई लेखक कँडेलले सँगसँगै दौडाएको बताए । निबन्ध लेखनमा बिषयवस्तुको ज्ञानमा लेखक सचेत भएर लाग्नुपर्ने सुझाव खनालले दिए ।
चितवन साहित्य परिषद्बाट प्रकाशित पुस्तकमा समाज, राजनीति, धर्म दर्शन, विसंगतिका सन्दर्भमा लेखिएका ११ निबन्ध छन् । विशेषगरी राजनीतिक चिन्तन उनका लेखहरूमा पाइन्छ । सहमति गैंडाकोटका अध्यक्ष करुणासागर सुवेदीले स्थानीय स्रस्टाहरूका कृतिमाथि कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए ।