काठमाडौँ, १२ चैत
नेपाली राष्ट्रिय फुटबल टोलीले त्रिदेशीय फुटबलमा किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १० खेलाडीमा सीमित किर्गिस्तानसँग बराबरी खेलेको हो ।
घरेलु मैदानमा नै नेपाल किर्गिस्तानको युवा टोलीसँग नीरिह बनेको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भने धेरै अवसरहरु गुमायो । नेपालका सुजल श्रेष्ठ र भरत खवासले दुई उत्कृष्ट प्रहारहरु मिस गरे ।
खेलको ३२ औं मिनेटमा रन्जित धिमालले हानेको बलमा रोहित चन्दले हेड गर्दा गोलमा भने परिणत हुन सकेन । ३४ औं मिनेटमा रवि पासवानले दिएको बल अन्जन विष्टले डि एरियाबाट हान्दा पोल बाहिर लागेर गएको थियो ।
४० औं मिनेटमा रवि शंकर पासवानले कर्नरबाट हानेको बल नेपालका डिफेन्डर अनन्त तामाङले हेड गर्दा बल आउट हुन पुगेको थियो । ६१ औं मिनेटमा रन्जित धिमालले हानेको प्रिकिक रोहितले हेड बल गोलमा परिणत हुन भने सकेन ।
खेलको ६७औं मिनेटमा कीर्गिस्तान १० खेलाडीमा सीमित भएको थियो । कीर्गिस्तानका तेसिफ कमोल्दिन दोरोहो पहेलो कार्ड सहित रातोकार्ड पाउँदै मैदान बाहिरिएका थिए । बिहीबारको खेलमा बराबरी खेलेसँगै नेपालले अब फाइनल प्रवेशका लागि बंगलादेशसँगको खेलको नतिजा कुर्नुपर्ने भएको छ । यता कीर्गिस्तान पनि उक्त खेलको नतिजा पर्खिरहेको छ ।
नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल चैत १६ गते हुनेछ ।