-गत वैशाख ३१ गते भएको मतदानमा २ हजार ८ सय ९७ मत खसेकोमा आजको मतदानमा २ हजार ८ सय ७५ मात्रै मत खसेको छ
भरतपुर, २० साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ का जनता स्थानीय तह निर्वाचनको पुनःमतदानमा उत्साहजनक सहभागी भएका छन् । तर, पहिलेभन्दा केही कम मत खसेको छ ।
पहिलोपटकको मतपत्र गरेपछि मतगणनाको क्रममा च्यातिएपछि आज भएको पुनःमतदानमा बिहानको उत्साह हेर्दा पहिलेको भन्दा बढी मत खस्ने आँकलन गरिएपनि २२ मत थोरै खसेको चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।
गत वैशाख ३१ गते भएको मतदानमा २ हजार ८ सय ९७ मत खसेकोमा आजको मतदानमा प्रारम्भिक जानकारीअनुसार २ हजार ८ सय ७५ मात्रै मत खसेको घिमिरेले जानकारी दिए । बिहान ७ बजेबाट सुरु भएको मतदान अहिले ५ बजेसम्म चलेको थियो । ३ मतदान स्थलका ६ वटै मतदान केन्द्रमा कूल ३ हजार ७ सय ९७ मतदाता थिए ।
५ बजे मतदान सकिएपछि अहिले ६ वटै केन्द्रको मतपेटिका मुचुल्का गरी सिल गर्ने तयारी भइरहेको चितवनको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । मतगणना आजै सुरु गर्ने तयारी छ । साँझ ७ बजेसम्म सबै मतपेटिका मतगणनास्थल भरतपुरको कभर्डहलमा ल्याइसक्ने तयारी छ ।
त्यसपछि प्राविधिक काम सकी सर्वदलीय बैठक बसेपछि मतगणना आजै सुरु गर्ने तयारी भएको घिमिरेले बताए ।