भरतपुर, १० चैत ।
बाग्लुङ घर भई भरतपुरमा बसी अध्ययन गरिरहेका असल गैरेले गएको लकडाउनमा “थिंक एण्ड ग्रो रिच” र “रिच ड्याड पुअर ड्याड“ नामक दुई अंग्रेजी पुस्तक पढे । पुस्तक पढिसकेपछि उनमा शेयर बजारप्रतिको मोह बढ्दै जानथाल्यो । आफूले थोरै थोरै गरी जम्मा गरेको पैसालाई सही ठाउँमा लगानी गरी राम्रो मुनाफा कमाउने इच्छा जागेपछि उनले डिम्याट खाता खोले । बैंकमा अरु प्रक्रिया पनि पुर्याएपछि उनले मेरो शेयरमार्फत् विभिन्न कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर अर्थात् आइपिओका लागि आवेदन पनि दिए । “आफूले बचत गरेर राखेको पैसालाई सही ढंगले कसरी उपयोग गर्ने होला भन्ने लागिरहन्थ्यो । शेयर त्यसको लागि राम्रो ठाउँ रहेछ”, उनले सुनाए । प्राथमिक शेयर अन्तर्गत केही कित्ता परेपछि उनले साथीको सल्लाह लिएर शेयरको दोस्रो बजारमा जोडिन ब्रोकरकँहा गएर ट्रेडिङ खाता पनि खोले ।
यस्तै, ११/१२ कक्षामा व्यवस्थापन विषय लिई अध्ययन गरेका भरतपुर महानगरपालिका वडा नं ७ का मनीष ढकालसँग पहिले शेयरसम्बन्धी सैद्धान्तिक ज्ञान मात्रै थियो । त्यति बेलासम्म उनलाई शेयर बजारमा कम्पनीको भाउ कसरी हेर्ने, लगानी कसरी गर्ने, भन्ने थाहा नै थिएन । लकडाउन सुरु भएलगत्तै उनले इन्टरनेटमा त्यस सम्बन्धी सामग्री खोजेर पढ्न थाले । त्यसपछि एक महिनाभित्रै उनले डिम्याट र नेप्सेको टे«डिङ खाता पनि खोले । अहिले उनले घरै बसीबसी आइपिओका लागि आवेदन भर्न तथा दोस्रो बजारमा शेयर किन्न र बेच्न थालिसकेका छन् ।
भरतपुर महानगरपालिका वडा नं १२ की सबिता सुवेदी पनि शेयर बजारमा नयाँ छिन् । साथीहरूबीच भएको कुराकानीमा शेयर बजारका बारेमा सुनेपछि उनी पनि त्यसतर्फ आकर्षित भएकी थिइन् । “शेयरमा लगानी गरेपछि राम्रो प्रतिफल पाइने सम्भावना हुन्छ भन्ने थाहा पाएपछि मलाई पनि शेयर बजारमा लगानी गर्न मन लाग्यो”, उनले भनिन् ।
गीतानगर निवासी उमाकान्त भट्टले पनि साथीहरूमार्फत् शेयर बजारको जानकारी पाएको बताए । “साथीहरूले मेरो शेयरबाट लगानी गरेर छोटो अवधिमा धेरै मुनाफा कमाएको सुनेपछि मलाई पनि कमाइ होला भन्ने लागेर डिम्याट र मेरो शेयर खाता खोल्न लागेको हुँ”, उनले भने ।
विगतमा प्राथमिक शेयरमा आवेदन भर्न एवम् शेयर किनबेचका लागि लामो र झण्झटिलो प्रक्रिया अपनाउनुपथ्र्यो । इन्टरनेटका सहायताले घरैमा बसेर ती सबै कामगर्न मिल्ने भएपछि नयाँ लगानीकर्ताहरू माझ शेयर बजार झन् लोकप्रिय हुँदै गएको छ । गत वर्ष कोरोना भाइरस महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउनले अनलाइन शेयर कारोबारलाई बढाउने मात्र काम गरेन । बरु लगानीकर्ता समेत थपिदियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार देशभर डिम्याट खाता खोल्नेको कूल संख्या ३२ लाख नाघिसकेको छ । पछिल्लो ७ महिनामा मात्रै ८ लाखभन्दा बढीले डिम्याट खाता खोलिसकेको तथ्यांक लिमिटेडसँग छ । यस्तै, आफैँ शेयर किन्न मिल्ने ‘मेरो शेयर’ सेवाका पनि १४ लाख बढी खाता खुलिसकेका छन् । यस्तै, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार दोस्रो बजारमा अनलाइनमार्फत कारोबार गर्ने अनुमति लिएका सक्रिय लगानीकर्ताको संख्या २ लाख ५० हजार नजिक पुगिसकेको छ । २०७६ सालको माघ महिनासम्म सो संख्या जम्मा २० हजारको आसपासमा थियो ।
चितवनमा सनी सेक्युरेटिज् कम्पनी लिमिटेड, अक्सफोर्ड सेक्युरिटज प्रा.लि. र त्रिशूल सेक्युरिटजले दोस्रो बजारका लागि लगानीकर्ता दर्ता गर्ने काम गर्छन् । पुराना लगानीकर्ता भने नयाँ लगानीकर्तालाई सोचविचार गरेर मात्रै दोस्रो बजारमा प्रवेश गर्न सुझाव दिन्छन् । “लहैलहैमा लागेर शेयर बजारमा प्रवेश गर्नुभयो भने दुःख पाउनुहुन्छ । लगानी गर्नुपूर्व कम्पनीको व्यापारिक रणनीतिदेखि पृष्ठभूमि सबै बुझेर मात्रै लगानी गर्नुपर्छ”, जगदीश लामिछानेले भने, “कम्पनीको भाउ घट्दा वा बढ्दा आत्तिने वा मात्तिने गर्नुहुँदैन । जति लामो समयसम्म शेयरलाई राख्नुहुन्छ, त्यति नै धेरै प्रतिफल पाउने सम्भावना पनि बढेर जान्छ ।” आफूले करिब २४ वर्षदेखि शेयर बजारमा लगानी गरिरहेको बताउने उनले अहिले शेयर बजारमा लगानी गर्ने उपयुक्त समय रहेको बताउँछन् । “देशको राजनीतिक अवस्थाले केही असर पुर्याउला कि भन्ने जोखिम चाँहि छ । तर सुझबुझ सहित लगानी गर्नेले राम्रो प्रतिफल पाउन सक्छ”, उनले अगाडि थपे, “लगानी गर्दा सकेसम्म १५ प्रतिशतभन्दा बढी बोनस दिने कम्पनी छानेर लगानी गर्नुभयो भने ढुक्क हुनुहोस्, तपाईं पछुताउनुपर्ने अवस्था आउँदैन ।” २०५३ सालमा करिब १० हजार रुपैयाँबाट लगानी सुरु गरेको बताउँदै लामिछानेले आफू शेयर बजारले दिने प्रतिफलबाट सन्तुष्ट रहेको सुनाए । “तपाईंले कुनै जागिरमा घोटिएर कमाउने पैसाभन्दा धेरै प्रतिफल शेयर बजारले दिन सक्छ । तर तपाईं होहल्लाको पछि भने लाग्न हुँदैन”, उनले दोहोर्याए ।