रत्ननगर,२९ बैशाख ।
स्थानीय तह निर्वाचनले अहिले जताजतै माहोल तातेको छ । सबै जसोलाई निर्वाचनले छोएको छ । नेताहरु घरदैलोमै जान व्यस्त छन् । कार्यकर्तामा पनि उत्साह छाएको छ । निर्वाचन आउन अब मात्रै ३ दिन बाँकी छ । खैरहनी १२ कपियाकी अन्जु दराईलाई पनि चुनावमा होमिन छ ।
प्रचारप्रसारमा हिड्न मन छ । मनमा चाहना हुँदाहुँदै घरको आर्थिक अवस्थाका कारण उनलाई चुनाव आएको झै लागेको छैन । उनलाई चुनाव आएको छ भन्ने थाहा छ । तर, आफ्नै बाध्यता छ । बिहान बेलुकाको छाक टार्न उनी घर बनाउने कामका लागि काम गर्दै गरेको अवस्थामा बुधबार भेटिइन् ।
उनले काम गरेकै बाटो हुँदै विभिन्न दलको ¥याली गएको देख्दा अञ्जुलार्ई पनि जाउँजाउँ लाग्थ्यो । “अरु झै चुनावमा हिड्न मन छ”, अञ्जु भन्छिन्, “काम नगरी खान पुग्दैन, गरीब गुरुवालाई न चुनाव न चाडबाड ।” उनका ४ छोरा, १ बुहारी र १ नातिनी छन् । अञ्जुमात्रै होइन, उनका छोराहरु र बुहारी पनि पेट पाल्नकै लागि मजदुरी गर्न विवश छन् । उनका तीन जना छोरा पनि मजदुरी नै गर्छन् । एक छोरा पढ्दै छन् । साथमा २ वर्षकी नातिनी छिन् ।
जेठा छोरा गाई फर्ममा काम गर्छन् भने अरु दुई छोरा आमा जस्तै लेवर काम गर्छन् । जग्गा १० धुर मात्रै छ । “पानीदेखि सबै चिज किनेर खानुपर्छ”, अञ्जुले अघि भनिन्, “अरु चुनावमा जाउँ भन्छन् तर पेट पाल्नै प¥यो काम छाडेर चुनावमा को जानु ।” बिहान पाँच बजेदेखि दिउँसो २ बजेसम्म उनी लेवर काममै व्यस्त हुन्छिन् ।
काम गरेवापत उनले दैनिक ४०० रुपैयाँ पाउँछिन् खाजा खानु पर्दा दिनमा ३०० रुपैयाँ बच्छ । श्रीमान् छँदा उनीहरुसँगै मजदुरी गरेर जीवन बिताउँदै आएका थिए । ७ वर्षअघि चितवन निकुञ्जमा भएको घटनामा उनका श्रीमान्को मृत्यु भयो । त्यसपछि उनी छोराहरुसँग छिन् । घरकै आर्थिक अवस्थाका कारण उनले पढ्न पनि पाइनन् । आफ्नो उमेरका बारे उनलाई हेक्का छैन ।
केही समय भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा पुछा लगाउने काम गर्ने उनी आवतजावतमा समस्या भएकाले त्यो काम छाड्न बाध्य भइन् । हलुका काम नपाएपछि उनी इँटा बोक्ने, मसला बनाउने काम गर्न बाध्य छिन् । “सजिलो र हलुका काम गर्न पाए हुन्थ्यो”, उनी दुखित हुँदै भन्छिन्, “म जस्तो गरिबको कतै पहुँच छैन, कसले काम दिनु ।” लेवर भएकै कारण भने उनले ठेकेदारबाट नराम्रो व्यवहार भने भोग्नु परेको छैन । एकल महिला छिन् भनेर नै अरु लेवरलार्ई भन्दा पैसा पनि केही राम्रो दिने र व्यवहार पनि राम्रै गर्ने गरेको उनी सुनाउँछिन् । उनीजस्तै बिहान बेलुका छाक टार्न धौ–धौ पर्नेहरुलाई चुनावको आएको मतलबै छैन ।