भरतपुर, ४ चैत्र ।
मंगलबार र बुधबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुरको चौबिसकोठीदेखि गोन्द्राङ्गसम्मको सडक खण्डमा रहेका बस बिसौनीमा यात्रुहरूको घुइँचो राम्रै देख्न सकिन्थ्यो । प्रत्येक पटक म्याजिक भ्यान र लामो दूरीमा चल्ने बस उनीहरूको अगाडि पुगेर रोकिन्थे । यात्रुहरूले आफ्नो गन्तव्य टाँडी, पर्सा, भण्डारा वा लोथरतिर रहेको सुनाउँथे ।
यात्रुहरूका अगाडि थुप्रै सार्वजनिक सवारी साधन आएर रोकिए । तर उनीहरू जान चाहेको रुटमा चल्ने एउटै पनि बस आएनन् । यात्रुका भीडमा विद्यार्थीदेखि उपचारका लागि जिल्ला सदरमुकामसम्म आइपुगेका मानिसहरू थिए । थाकेर लखतरान परेका उनीहरूले पछि मात्रै थाहा पाए, नारायणघाट–लोथर रुटमा चल्ने मिनि बसका चलाक तथा बस व्यवसायीहरूले यातायात बन्द पो गरेका रहेछन् । त्यति थाहा पाएपछि उनीहरू अरु नै सवारीसाधनमा घरतिर लागे ।
आफूहरूले वर्षौँवर्षदेखि बस चलाउँदै आएको रुटमा म्याजिक भ्यान चल्न थालेको भन्दै छहारी बस व्यवसायी, चितवन माइक्रो र ओम शान्ति मिनि बस लगायत यातायात व्यवसायीले मंगलबार र बुधबार सेवा बन्द गरेका थिए । बसहरू फाट्टफुट्ट मात्रै चलेका कारण दिनभर यात्रुहरूले सास्ती भोग्नु परेको थियो ।
“हामीले २०३९ सालदखि भरतपुर–लोथर रुटमा मिनि बस चलाउँदै आएका हौं । महानगरले सो रुटमा नयाँ यातायात व्यवसायलाई स्थान दिँदा हाम्रो पनि राय लिनु पथ्र्यो”, छहारी बस व्यवसायी संघमा आबद्ध रहेका चेतनाथ दवाडीले बताए । मुख्य राजमार्गमा म्याजिक भ्यान, अटोरिक्सा, लगायत हलुका सवारीसाधन चल्न दिँदा दुर्घटना बढ्न पुगेको उनीहरूको दाबी थियो । आफूहरूले भने विद्यार्थीहरूका लागि छुटको व्यवस्था गरिदिनुपर्ने तर म्याजिक भ्यानले कुनै पनि छुट नदिने गरेको भन्दै मिनि बस व्यवसायीले आक्रोश पोखेका थिए । म्याजिक भ्यानमा यात्रा गर्ने यात्रुहरूले म्याजिक चालकले मुढामा समेत यात्रु राखी जोखिमपूर्ण यात्रा गराउने गरेको गुनासो पोख्ने गरेका छन् ।
राप्ती, रत्ननगर एवं खैरहनी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयले हलुका सवारीसाधनलाई राजमार्गको उत्तर–दक्षिणमा मात्रै कुदाउनु भनी गरेको सिफारीसलाई कार्यान्वयन नहुँदासम्म यातायात ठप्प पारिने व्यवसायीले सुनाए ।
जिल्ला ट्राफिक कार्यालयले भने आफूहरूले सञ्चालनमा रहेका म्याजिक भ्यान तथा अटोरिक्सालाई रोक्न नसक्ने जनाएको छ । “मिनि बस व्यवसायीहरूले सडकमा यात्रु चढाउन र ओराल्न छुट्टै ठाउँ चाहियो भन्ने गरेका छन् । सडकलाई टुक्राटुक्रा पारेर सबै यातायात समितिलाई कसरी बाँड्न सकिन्छ ?”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले प्रतिप्रश्न गरे । सबै नागरिकलाई व्यवसाय चलाउने अधिकार भएकाले सञ्चालनमा रहेका सवारीसाधनलाई आफूले रोक्न नमिल्ने प्रहरी निरीक्षक भट्टले बताए । “मन्त्रालय वा यातायात व्यवस्था कार्यालयको नियम हुन्थ्यो भने हामीले केही सहयोग गर्न सक्थ्यौं । तर यहाँ यातायात व्यवसायीबीच नै अस्वस्थ प्रतिस्पर्धा छ”, भट्टले थप्दै भने, “सञ्चालनमा रहेको व्यवसायलाई रोक्ने भन्ने हाम्रो क्षेत्राधिकारको कुरा नै होइन ।”
जिल्लामा सञ्चालनमा रहेका मिनि बस, म्याजिक भ्यान तथा अटोरिक्सा व्यवसायबीच यात्रु चढाउने ममलामा अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ । यातायात व्यवसायीहरूले आफ्नो स्वार्थपूर्तिका लागि गर्ने बन्द तथा आन्दोलनका कारण हरेक पटक सर्वसाधारणको जनजीवन प्रभावित हुने गरेको छ ।