रत्ननगर, २ चैत ।
चितवनमा पहिलोपटक चार चक्के मेसिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका-६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी-१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेसिनबाट रोपाइँ गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले सहकारी संस्थामार्फत धान रोप्नका लागि चीनबाट दुई वटा चारचक्के मेसिन मगाएको थियो । २० लाख ९० हजार रुपैयाँका दरले खरिद गरिएका दुई वटा मेसिनमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ । मेसिन प्राप्त भएपछि शनिबारदेखि दुई दिन सोही मेसिनबाट धान रोपाइँ गरिएको थियो ।
परियोजनाको धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले यस मेसिनबाट धान रोप्दा उत्पादकत्व बढ्ने र खर्च घट्ने दाबी गरे । ‘यो प्रविधि सस्तो र सरल छ,’ उनले भने, ‘उत्पादकत्व बढ्ने भएकाले किसानको आकर्षण बढ्छ भन्नेमा विश्वस्त छौँ ।’ सहकारी संस्थामार्फत सञ्चालनमा आएको उक्त मेसिन देशमै पहिलो पटक हो । यसअघि झापाको महारानीझोडामा एक जना व्यवसायीले यस्तो मेसिन भित्र्याएका थिए । चितवनमा यसअघि तीन पाङ्ग्रे मेसिनबाट धान रोपाइँको थालनी भएको थियो तर त्यसमा किसानको रूचि खासै नदेखिएपछि परियोजनाले नयाँ विकल्पका रूपमा चार चक्के मेसिन ल्याउन तयारी थालेको थियो । यस मेसिनबाट भने किसान सन्तुष्ट देखिएका छन् ।
मेसिनको प्रयोग गरी धान रोप्नका लागि ब्याडको छुट्टै व्यवस्था गर्नुपर्छ । खेताला खोजेर खेतमै ब्याड राख्ने गरिएकोमा मेसिनले रोप्ने बीउ भने ‘ट्रे’ (बीउ जमाउन प्रयोग गरिने भाँडो) मा जमाउनुपर्छ । उस्तै आकारका ट्रेमा माटो र मल राखेर जमाइएको बीउ रोप्नयोग्य भएपछि मेसिनले खेतमा लगेर लाइन मिलाएर रोप्छ ।
बीउ लगाउने मेसिन पनि स्वचालित र ‘म्यानुअल’ पाइन्छन् । साना किसान कृषि सहकारी संस्था बछौलीसँग स्वचालित र कुमरोजसँग म्यानुअल सिडर मेसिन छ । स्वचालित मेसिनले एक घण्टामा ५०० ट्रेमा बीउ राख्न सक्छ । एक सय ६० ट्रेमा हुर्किएको बीउले एक बिघा क्षेत्रफलमा रोप्न पुग्छ । एक दिनमा राखेको बीउले २५ बिघासम्म रोप्न सकिन्छ ।