भरतपुर, २६ फागुन
कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत बुधबार चितवनमा थप ५ हजार ४ सय १० जनाले पहिलो मात्राको खोप लिएका छन् । उनीहरूमध्ये २ हजार ७ सय २८ जना महिला र बाँकी २ हजार ६ सय ८२ जना पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । फागुन २३ गतेदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानमा जिल्लाका २१ हजार ९ सय ९२ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।
बुधबार माडी नगरपालिकामा सबैभन्दा कम ९६ जना ले खोप लगाउँदा भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै ३ हजार ४६ जनाले खोप लिए । दोस्रो चरणको अभियानमा भरतपुरमा मात्रै ११ हजार ३ सय ५२ जनालाई खोप प्रदान गरिएको छ । बुधबार रत्ननगर नगरपालिकामा ८ सय ८४, राप्ती नगरपालिकामा ३ सय ८५, इच्छाकामना गाउँपालिकामा १ सय ८, कालिका नगरपालिकामा ३ सय ८९ र खैरहनी नगरपालिकामा ५ सय २ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।
चितवन जिल्लामा यसअघि सम्पन्न पहिलो चरणको खोप अभियानमा १३ हजार ५ सय जनालाई पहिलो मात्राको खोप दिइएको थियो । प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, लगायत अग्रपंक्तीमा रहेर काम गर्ने व्यक्ति एवं सरकारी निकायका कर्मचारी तथा जनप्रतिनिधिलाई पहिलो चरणको अभियानमा खोप प्रदान गरिएको थियो ।
दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिइँदै छ । यद्यपि पहिलो चरणको अभियानमा छुट्न पुगेका व्यक्तिले पनि परिचय खुल्ने कागतपत्र देखाएर खोप लगाउन सक्ने बताइएको छ । हाल नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युटले निर्माण गरेको कोभिसिल्ड नामक खोप निःशूल्क प्रदान गरिरहेको छ । चितवनमा माघ १४ गतेदेखि हालसम्म कूल ३५ हजार ४ सय ९२ जनाले भारतीय कम्पनी सिरम इन्स्टिच्युटद्वारा निर्मित कोभिसिल्ड नामक खोपको पहिलो डोज पाइसकेका छन् ।