भरतपुर, २५ फागुन ।
कोरोना महामारीका कारण गत वर्ष रोकिन पुगेको एकसिंगे गैँडा गणना चैत ९ देखि सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गर्ने निणर्य गरेको विभागका सूचना अधिकारी तथा पर्यावरणविद् हरिभद्र आचार्यले बताए ।
वन तथा भूसंरक्षण विभाग तथा प्राविधिक सहयोग गर्ने संस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), डब्लूडब्लूएफ नेपाल र जेडएसएल नेपाल, लगायतका प्रतिनिधि र विशेषज्ञसँग आइतबार छलफल गरी विभागले गणनाको मिति तय गरेको हो । हरेक ५ वर्षमा गैँडा गणना गरिन्छ । गत वर्ष विभागले चैत १० देखि गणना गर्ने गरी सबै प्राविधिकको तयारी गरेको थियो । तर कोरोना भाइरस महामारी नियन्त्रणका लागि बन्दाबन्दी जारी गरिएपछि भने गणना कार्य रद्द गरिएको थियो । गैँडा पाइने निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक-एक गरी गैँडा गन्छन् । यसका लागि हात्ती, दूरबिन र क्यामेरा, लगायतको प्रयोग गरिन्छ । गैँडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैँडा गणना गरिन्छ । गणनाको निष्कर्षअनुसार संरक्षणको रणनीति अपनाइन्छ ।
गैंडा गणनाका लागि सरकारले गत वर्षदेखि बजेट विनियोजन गर्न थालेको छ । यसअघि संरक्षणमा सघाउने दातृ निकायसँग सहयोग लिने गरिन्थ्यो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा गरी चारवटा निकुञ्जमा गैँडा पाइन्छन् । पछिल्लो पटक सन् २०१५ को गणनाअनुसार नेपालमा कुल ६ सय ४५ वटा गैंडा थिए । गैँडा र बाघकै कारण चितवन र बर्दिया निकुञ्ज वन्यजन्तु सफारीका लागि विश्वमै प्रख्यात छन् ।
विभागले गणना सुरु गरेको एक महिनाभित्रै प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । गैँडाको पाँचवर्षे कार्ययोजना (सन् २०१७-२०२१) मा हरेक ४-५ वर्षमा गैंडा गणना गर्ने, यसको जीवनचक्र र बासस्थानबारे नियमित अनुसन्धान गर्ने, जलवायु परिवर्तनले पार्ने र पार्न सक्ने खतराबारे अध्ययन गर्ने र मिचाहा प्रजातिका बिरुवाको नियन्त्रण र व्यवस्थापनमा अध्ययन गर्ने उल्लेख छ ।
सरकारले पहिलो पटक सन् १९९४ मा गैंडा गणना गरेको थियो । त्यसपछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना भएको थियो । पछिल्लो गणनाअनुसार चितवन निकुञ्जमा मात्रै ६ सय ५ गैँडा भेटिएका थिए । उक्त गणनापछिका चार वर्ष यहाँ गैंडाको शून्य शिकार भए पनि कालगति, प्राकृतिक र अन्य कारणले मर्ने संख्या उकालो लागिरहेको छ ।
चोरीशिकारबाहेक आहारा, बासस्थान, जलवायु परिवर्तन गैंडाका लागि मुख्य संकट रहेको विभिन्न अध्ययनले देखाएका छन् । चितवन निकुञ्जमा धेरै गैँडा अहिले पश्चिम क्षेत्र (कसराभन्दा पश्चिम) तिर सरेको बताइन्छ । गत साउनयता चितवनमा २६ वटा गैंडा मरेका छन् । तीमध्ये ४ वटा चोरीशिकारीका कारण मरेको पुष्टि भएको छ ।
source:ekantipur