भरतपुर, २४ फागुन ।
नेपालय पब्लिकेसन्सले हालै प्रकाशनमा ल्याएको क्षमादान उपन्यासमाथि अन्तरक्रिया गरिएको छ । चितवन साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा स्रस्टा एलबी क्षेत्रीले लेखक गणेशप्रसाद लाठसँग पुस्तकका सन्दर्भमा रहेर करिव ३० मिनेट संवाद गरे । पुस्तकले मधेशको व्यापारिक घरानाको जालझेल र त्रासदीलाई नाटकीय पारामा उधिनेको छ । क्षेत्रीले लेखक लाठसँग क्षमादानले उठान गरेको प्रसङ्ग र लेखन सौन्दर्यका बारेमा कुराकानी गरेका हुन् । ‘साहित्यमा व्यावसायिक वर्ग कि त पूरै अनुपस्थित थियो कि त निमित्त पात्रका रुपमा मात्र पन्छाइएका थिए ।´ लेखक लाठले भने- `म मेरो कथाको माध्यमबाट तिनै परिवारहरूको मानवीय पक्षलाई क्षमादान मार्फत खोतल्न चाहेको हुँ ।’
पुस्तक बारेमा बोल्दै समीक्षक उदय अधिकारीले तराईको पहिचानलाई नेपाली मूल साहित्यमा ल्याउन लेखक लाठ सफल भएको बताए ।
अधिकारीले पुस्तकको समग्र पक्षमाथि टिप्पणी राख्दै दान मध्ये क्षमादानलाई निकै महत्वपूर्ण ढंगले पुस्तकमा समेटेर पुस्तक पठनीय बनाइएको बताए ।
नेपालय पब्लिकेसन्सकी भूषिता वशिष्ठले मधेसको कथा समेटिएको पुस्तक प्रकाशन गरेर पाठक समक्ष ल्याउन पाउँदा आफूलाई खुसी लागेको बताइन् । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, उपाध्यक्ष जगन्नाथ पण्डित र सचिव बालकृष्ण थपलियाले पनि बोलेका थिए ।
नेपालय पब्लिकेसन्सबाट प्रकाशित पुस्तकको मूल्य ४९५ रहेको छ ।