विप्लव काफ्ले
भरतपुर, २० साउन ।
चितवनको मुख्य बजार क्षेत्रलाई ‘हर्न निषेधित’ कायम गर्ने अभियान सुरु भएको छ । सवारीसधानले अब मनलाग्दी हर्न निकालेर ध्वनी प्रदूषण गर्न नपाउने भएका छन् । आगामी भदौ १ गतेदेखि लागू हुने गरी भरतपुर–नारायणगढको रिङरोड क्षेत्रलाई हर्न निषेधित क्षेत्रका रुपमा कायम गरिदैछ ।
“संकटकालीन अवस्थाबाहेकको समयमा निषेधित क्षेत्रमा हर्न बजाएमा कारबाही गरिने छ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले भने, “साउन महिनाभर रिङरोड क्षेत्रमा जानकारीमूलक बोर्ड राख्ने काम पूरा हुनेछ ।” केन्द्रीय बस टर्मिनल भरतपुरदेखि चौबिसकोठी, नारायणगढ बजार, आँपटारी क्षेत्र र बाइपास रोडमा हर्न निषेध गर्नेबारे सरोकारवाला पक्षबीचको १७ गते बसेको बैठकले निर्णय गरेको छ । ११.४ किलोमिटर लामो सो दूरी पहिलो चरणमा हर्न निषेधित क्षेत्र कायम हुन लागेको हो ।
“सुरुमै हामी कारबाही गर्नभन्दा पनि जानकारी दिने अभियानमा लाग्नेछौँ”, उनले भने, “करिब एक महिनापछि अटेर गर्ने चालकलाई कारबाही अभियान सुरु हुनेछ ।”
सवारी तथा यातायात व्यवस्था ऐनको प्रावधान अनुसार पहिलो पटक हर्न बजाएमा ५ सय रुपैयाँ, दोहो¥याएमा १ हजार रुपैयाँ र लगातार अटेरी गरेमा १ हाजर ५ सय रुपैयाँ जरिवाना लिइने छ । “हर्न बजाउनैपर्ने अवस्थामा कारवाही हुनेछैन”, उनले भने, “ठाउँ ठाउँमा खटिने ट्राफिक प्रहरीले उच्च निगरानी गर्नेछन्, जथाभावी हर्न बजाउने कारवाहीमा पर्नेछन् ।”
१ सय देखि १ सय ५० मीटर दुरीको फरकमा हर्न निषेधित क्षेत्रबारे जानकारीमूलक बोर्ड राखिने उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको अगुवाईमा प्रसारप्रसारका कार्यक्रम गरी जानकारी गराइने छ । “दोस्रो चरणमा भित्रि बजारमा पनि हर्न निषेधित क्षेत्र विस्तार गरिने छ”, उनले भने, “सवारीको कोलाहल कम गर्न अभियाननै चलाउने छौँ ।” काठ्माण्डौ, पोखरापछि चितवनको मुख्य बजारलाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको हो ।
पार्किङ क्षेत्रको खोजी
भरतपुर महानगरपालिकाले भरतपुर, नारायणगढ क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न जग्गा खोजी सुरु गरेको छ । अस्तव्यस्त सवारी पार्कीङले दुर्घटनाको जोखिम बढाएपछि जग्गा खोजी कार्य सुरु भएको हो ।
भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले न्यूनतम १३ कट्टठा जग्गा खोजी गरिएको बताए । “हाल सवारी पार्किङ हुदै आएका क्षेत्रभन्दा करिव ५ सय मीटर भित्रसम्म पार्किङ व्यवस्था मिलाउने गरी जग्गा खोजी गरेका छौँ”, उनले भने, “१० वर्षसम्म भाडामा दिने गरी जग्गा खोजेका छौँ, योबारे सार्वजनिक सूचना निकालिसकेका छौँ ।” १८ गते निकालिएको सूचनामा नारायणगढ बजार क्षेत्रमा ३ कट्टठा, चौविसकोठीदेखि प्रहरी कार्यालय क्षेत्रमा ५ कठ्ठा, हुलाक कार्यालयदेखि राजश्व कार्यालयसम्म ५ कट्टठा न्यूनतम जग्गा र भाडादर सहित प्रस्ताव पेश गर्न अनुरोध गरिएको बताए ।
३० दिने सो सूचना मार्फत संकलित शिलवन्दी प्रस्तावलाई खोलेर सोही अनुसारका प्रक्रिया अनुसार पार्कीङ क्षेत्र महानगरपालिकाले भाडामा लिने बताए । “बजार, सरकारी कार्यालय, अस्पतला क्षेत्रमा बढ्दो भीडभाड नियन्त्रण गर्न पार्कीङ क्षेत्र खोजिएको हो”, उनले भने, “व्यवस्थित पार्कीङ सञ्चालन गर्ने काम छिटै सुरु हुनेछ ।”
तीन पाङग्रे रोक्न पहल
भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा तीन पाङग्रे सवारीको चाप बढेको भन्दै चिन्ता जनाएको छ । महानगरपालिकाले जेठ ७ गते यातायात व्यवस्था कार्यालयलाईनै इजाजत पत्र नदिन आग्रह गर्दै ध्यानाकर्षण गराएको छ ।
तीन रिक्सा बराबर एउटा ईरिक्सा वा अटोरिक्सा सञ्चालन गर्न अनुमति दिने निर्णय विपरित धमाधम ईरिक्सा तथा अटोरिक्सा थपिएपछि महानगरपालिकाले व्यवस्थापनमा कठिनाई परेको जनाएको हो । “आवश्यक भन्दा बढी तीन पाङग्रे साना सवारी भित्रिएका छन्”, कार्यकारी अधिकृत प्रेमराज जोशीले भने, “अब रुट इजाजतनै नदिने गरी कडाई गरिदैछ ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार कार्यालयमा सूचिकृत ५ सय ईरिक्सा, ६ सय अटोरिक्सा छन् । तर, भरतपुर–नारायणगढ क्षेत्रमा मात्रै तीन पाङग्रे सवारी झण्डै २ हजार रहेको अनुमान गरिएको छ । “हामी पनि इजाजत रोक्नुपर्छ भन्ने पक्षमा छौँ”, ट्राफिक प्रमुख सन्तोष पन्तले भने, “जेठ ७ यता दिइएका इजाजतबारे छलफल हुनेछ, जिल्ला यातायात व्यवस्थापन समितिले योबारे छिटै पहल गर्दैछ ।” उनी आँफु ट्राफिक प्रहरी कार्यालयमा आएपश्चात विभागमा लिखित अनुरोध नगरेपनि मौखिक जानकारी गराएको बताए । छिटै अनुरोध गरिने बताए ।