विप्लव काफ्ले
–४ सय ६१ जना नेपाल प्रहरी, २ सय ९७ जना सशस्त्र प्रहरी, १ सय बढी नेपाली सेना
–पहिले प्रत्येक मतदान केन्द्रमा १२ जना नेपाल प्रहरी खटिएकोमा यसपालि ३५ जना
–बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान, अनुमति लिएकाबाहेक सवारीसाधन प्रवेश निषेध
–३ मतदानस्थलमा ६ मतदान केन्द्र, ३ हजार ७ सय ९७ मतदाता
भरतपुर, २० साउन ।
भरतपुर–१९ मा उच्च सुरक्षाबीच पुनःमतदान सुरु भएको छ । गणनाका क्रममा मतपत्र च्यातिएपछि पुनःमतदान गर्ने निर्वाचन आयोगकै निर्णयलाई सदर गर्दै सर्वोच्च अदालतले फैसला गरेपछि आज(शुक्रबार) मतदान गरिएको हो ।
मतदानका लागि उच्च सुरक्षा घेरा बनाइएको छ । चितवन जिल्ला प्रशासनले स्वाभाविकभन्दा निकै धेरै सुरक्षाकर्मी त्यहाँ परिचालन गरेको छ । बिहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । यो वडामा ३ हजार ७ सय ९७ मतदाता छन् । ३ मतदानस्थलमा ६ मतदान केन्द्र छन् । प्रत्येक मतदानस्थलमा सुरक्षाकर्मी पहिलेको तुलनामा ज्यादै बढी परिचालन गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीनै मतदानस्थललाई ‘अति संवेदनशील’ मानेर उच्च सुरक्षा दिइएको बताए । “मतदाताले निर्धक्क भएर मताधिकार प्रयोग गर्न सक्नेछन्”, उनले भने, “जिल्लाभरिकै सुरक्षा त्यहीं केन्द्रित छ ।” उनले मतदान गर्न आउने मतदातालाई पानी परेमा पनि सहजरुपमा मतदान गर्न मिल्ने गरी टेण्टको व्यवस्था मिलाइएको बताए । “विशेष परिस्थितिमा पुनःमतदान हुँदैछ”, उनले भने, “सम्भावित सुरक्षा चुनौतीप्रति सजग छौँ, सुरक्षामा कुनै कमी हुने छैन ।” जिल्ला सुरक्षा समितिले सबै बुथलाई अति संवेदनशील मानेर सोहीअनुसार सुरक्षा रणनीति बनाएको छ ।
सो वडामा किरण मावि किरणगञ्जमा मतदान गर्ने १ हजार २ सय ४८ जना मतदाता छन् । यस्तै जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगरमा मतदान गर्ने १ हजार ३ सय ६ मतदाता छन् । यस्तै शारदा मावि शारदानगरमा १ हजार २ सय ४३ मतदाताले मतदान गर्नेछन् । “बिहीबार राति ७ बजेदेखि नै सवारी आवतजावत रोकिएको छ”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले भने, “छिमेकी वडामा समेत सवारी चल्ने छैनन्, विनापासका सवारी रोक्न ठाउँ–ठाउँमा कडा चेकजाँच गरिने छ ।”
विगतमा प्रत्येक मतदान केन्द्रमा १२ जना नेपाल प्रहरी खटिएकोमा यसपालि ३५ जना खटिएका छन् । नेपाल प्रहरीले मतदान स्थलको सुरक्षा दिदा बस्ने पहिलो घेरामै तीन तहको बनाएर सुरक्षा दिइदै छ । “३ वटै मतदान केन्द्रमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी खटिएको छ, बाहिरी एरियामा मोबाइल टोली हुनेछ ।” तत्काल सुरक्षा चुनौती देखिएमा बलप्रयोग गर्ने गरी ‘स्टाइपिङ’ टोली परिचालन भएको छ । सशस्त्र प्रहरीले दोस्रो घेरा तथा तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछ । ४ सय ६१ जना नेपाल प्रहरी, २ सय ९७ जना सशस्त्र प्रहरी, १ सय बढी नेपाली सेनाले प्रत्यक्षरुपमा सुरक्षा दिनेछन् । आवश्यकताअनुसार थप सुरक्षा शक्ति परिचालन गराउन तयारी अवस्था राखिएको छ ।
“६ जना मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएका छन्”, मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले भने, “बिहीबार नै आवश्यक मतपत्र र निर्वाचन सामग्री पु¥याइएको छ ।” वैशाख ३१ गते यस वडामा २ हजार ८ सय ८७ मत खसेको थियो । “मतदान सकिएपछि मतपत्र भरतपुरस्थित मतगणनास्थलमै ल्याइने छ”, उनले भने, “सर्वदलीय बैठक बसेलगत्तै मतगणना हुनेछ, २-३ दिनमा १९ र २० वडाको मतगणना कार्य सकिनेछ ।”
भरतपुर–१९ मा कांग्रेसका कर्णबहादुर गुरुङ, एमालेका प्रकाश तामाङ, माओवादी केन्द्रका खड्कबहादुर गुरुङ वडाध्यक्षका उम्मेद्वार छन् । भरतपुर वडा नम्बर २० को मतगणना गर्न बाँकी नै छ । भरतपुर महानगरको मेयरमा कांग्रेसको समर्थनमा माओवादीकी रेणु दाहाल, एमालेका देवी ज्ञवाली छन् । यस्तै उपमेयरमा माओवादी समर्थनमा कांग्रेसकी पार्वती शाह र एमालेकी दीव्य शर्मा आचार्य छन् । २७ वटा वडाको मतगणना सकिदा मेयरमा दाहाल र ज्ञवालीको कडा प्रतिस्पर्धा देखिएको थियो । उपमेयरमा शाह निकै अघि छिन् ।