भरतपुर–१९ का जनताहरु फेरि यस्तो नहोस् भन्दै स्थानीय तह निर्वाचनमा पुनःमतदानमा आज जुटेका छन् । गत वैशाख ३१ गते उनीहरुले गरेको मतदानले निष्कर्ष दिन नसकेपछि आज पुनः मतदान गर्न लागिएको हो । गणना गर्दागर्दैको मत च्यातिएपछि उत्पन्न विभिन्न परिस्थितिपछि निर्वाचन आयोगको निर्णय र निर्वाचन आयोगकै निर्णयलाई सर्वोच्चले सदर गरिदिएपछि यहाँका जनता पुनः मतदान गर्न बाध्य भएका हुन् । एकपटक दिएको मतलाई कसैको गलत नियतका कारण निर्णय नभई जलाएर फाल्नपर्दा यहाँका जनतालाई रिस नउठ्ने कुरै भएन । तर, यहाँका जनताले सबैलाई माफी दिएका छन् र फेरि यस्तो नहोस् भन्ने भावका साथ फेरि एकपटक सबै काम छोडेर मतदान गर्दै छन् ।
भरतपुर–१९ पछिल्लो साढे २ महिना निकै नै चर्चित रह्यो । जेठको १४ गते मत गन्दागन्दै भरतपुरको कभर्डहलमा मतगणना प्रतिनिधिबाट च्यातिएपछि अन्यौलता थपिएको थियो । निर्वाचन आयोगले विभिन्न चरणको छानविनपछि त्यस वडामा पुनःमतदान गर्नू भन्ने आदेश दिएको थियो । तर, त्यसलगत्तै सर्वोच्चमा रिट प¥यो कि मतपत्र च्यात्नू सरासर अपराध गर्नु हो र यसले मतदाताको अमूल्य मतको अवमूल्यन गरेको छ । सर्वोच्चले एकैपटक यसको निर्णय दिन सकेन । पटक–पटक सुनुवाइ सरेपछि यही सातामात्र सर्वोच्चले फैसला ग¥यो र निर्वाचन आयोगले गरेको निर्णय नै सदर गरिदियो । यसको अर्थ जनताले गरेको मत च्यातिएको कारण यसले निर्णय दिन सक्दैन र एकपटक फेरि मतदान गर्न लगाउनू । त्यहाँका जनताका लागि यो एकदमै नमिठो र निराशाजनक निर्णय नै थियो । तर, सम्मानित सर्वोच्च अदालतले कानूनको निकै नै सुझबुझपूर्ण विश्लेषणबाटै गरेको निर्णयलाई मान्नुको विकल्प जनतासँग छैन र यसैलाई शिरोपर ठानी सबै जनताहरु एकपटक फेरि आफूले रोजेको प्रतिनिधि छान्न मतदानका लागि तयार भएका छन् । रोपाईंको माहोल छ । मनसुन सक्रिय भएको छ । रोपाईंमा व्यस्त हुनुपर्ने बेला हो अहिले । तर, रोपाईंलाई पछि सारेर पनि अमूल्य मतदान गर्न जनताहरुले देखाएको उत्साह पक्कैपनि सह्रानीय छ ।
स्थानीय प्रशासनले भरतपुर–१९ का लागि सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ । मतदानका लागि उच्च सुरक्षा घेरा बनाइएको छ । चितवन जिल्ला प्रशासनले स्वाभाविकभन्दा निकै धेरै सुरक्षाकर्मी त्यहाँ परिचालन गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । यो वडामा ३ हजार ७ सय ९७ मतदाता छन् । ३ मतदानस्थलमा ६ मतदान केन्द्र छन् । प्रत्येक मतदानस्थलमा सुरक्षाकर्मी पहिलेको तुलनामा ज्यादै बढी परिचालन गरिएको छ । त्यसैले पनि जनताले निर्धक्क भएर मत व्यक्त गर्न सक्छन् । जे नहुनु पर्ने थियो । त्यो भइदियो । जनताले व्यक्त गरेको मत नै जलाएर फाल्नुपर्ने अवस्था आउनु भनेको निकै दुर्भाग्यपूर्ण अवस्था हो । तर, विगत जे भयो, भयो । त्यो एउटा सिकाइ बनेर बस्यो । यसैलाई आधार बनाएर, नजिर मानेर आगामी दिनमा फेरि यस्तै दुस्साहस नगरियोस् । जनताको मत अवमूल्यन गर्ने प्रयास नगरियोस् । फेरि यस्तो नहोस् ।