विनोद श्रेष्ठ
श्रावण १९, मुग्लिन
ना–मु सडक खण्ड खण्डमा हिजो बेलुकी पहिरोले २ वटा सवारी साधन पुरिएपछि अबरुद्ध बनेको राजमार्ग अझै खुल्न सकेको छ्रैन । हिजो देखि निरन्तर बर्षा भएको कारण मुग्लिन देखि ५ किलो मिटर नारायणगढ तर्फको दुरीमा दर्जन भन्दा बढी ठाउहरुमा सानो ठुलो पहिरो खसेको कारण आज यो राजमार्ग खुलाउन सम्भावना कम रहको साइड इन्चार्ज राजन दाहलले जनाउनुभएको छ । पहिरो हटाउन समय लाग्ने भएपछि हजारौ यात्रुहरु अलपत्रमा परेका छन् भने केही सवारी साधनहरु बैकल्पिक राजमार्ग प्रयोग गरेर गन्तब्य स्थल तर्फ लागेका छन् । पहिरोले काठमाण्डौ बाट इलाम तर्फ जादै गरेको ना ६ ख ७१२१ नम्बरको बस र बा १५ च ९३८१ नम्बरको जिप पहिरोमा परेको हो । पहिरोले बसलाई त्रिशुली नदीमा पुर्याएको छ भने जिप पहिराले चेपिएको अवस्थामा रहेको छ । पहिरोमा परेको उक्त सवारी साधनहरुमा भने कुनै मानवीय क्षति भने हुन पाएन । पहिरो खस्दै गर्दा चालकले सबै यात्रुहरुलाई बसबाट छिटो ओर्लन लगाएको केही त्यस्तै बसकै पछाडी रहेको जिपमा ४ जना सवार रहेको र उनीहरु पनि भागेर ज्यान बचाउन सफल भएका छन् ।
मुग्लिन नारायणगढ सडक विस्तारको लागि भन्दै केही दिन अघि देखि राति ७ बजे देखि विहान ५ बजे सम्म यो राजमार्ग बन्द गर्दै आएको छ । राति ७ बजे सम्ममा मुग्लिनमा छिरेका सवारीसाधन प्रहरीले हरेक दिन स्कर्टिङ गर्दै जुगेडी सम्म पुर्याउने गरेको र सोही क्रममा हिजो पनि ती अन्तिम सवारी साधनहरुलाई स्कर्टिङ गरेर लैजादै गर्दा कालीखोलामा पुग्दा पहिरोले आफुहरुले देख्दा देख्दै बस त्रिशुली नदिमा पुर्याएको ट्राफिक प्रहरी जवान सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो ।