विनोदबाबु रिजाल
भरतपुर, १८ साउन ।
तीन सालअघि आएको ‘तिमी लाइटर म भा’को चुरोट, धुवाँसरि फैलेछ कुरो त’ बोलको लोकदोहोरी गीतले बेस्सरी चर्चा पायो । रामजी खाँण र मञ्जु पौडेललाई स्रोता दर्शकले चिनेकै थिए, यसले झनै उचाइमा पु¥यायो । उनीहरुको स्टेजमा माग अझै बढ्यो । समारोहहरुमा यो गीत व्यापक बज्यो । रोमान्टिक म्युजिक भिडियोको युट्युब भ्युअर्स पनि ह्वात्तै उकालो लाग्यो ।
तर, यो गीतमा स्वर दिने खाँण र पौडेलको जति चर्चा यो गीतका शब्द संकलकले पाएनन् । अझैपनि कतिपयलाई थाहा छैन कि यसका शब्द संकलक चितवनकै युवा हुन्, जसले वर्षौंदेखि गीत लेखेर, कयौं गीत हिट भएर पनि चर्चा पाएका छैनन् ।
रत्ननगर–१५, पिठुवाका ३६ वर्षीय यादव लम्साल सानैदेखि गीत लेख्थे । तर, संग्रह नै गरेको भने २०५८ सालदेखि हो । उनले सयौं गीत लेखे । रेकर्ड पनि गराए । तर, २०७१ सालमा रेकर्ड गरिएको धुवाँसरिले भने बढी नै चर्चा पायो । “सबैले सुन्नेखाले गीत लेखुँ भन्ने थियो, यो लेखें”, उनले भने, “त्यसपछि अर्जुन सर (अहिलेका चल्तीका संगीतकार अर्जुन पोखरेल) लाई दिएँ, उहाँले रेकर्ड गराउनुभयो ।”
अर्जुन यादवका पुराना हितैषी हुन् । उनका कयौं गीत अर्जुनले नै संगीत गरेर रेकर्ड गराएका छन् । यो गीत पनि उनले अर्जुनलाई पहिल्यै दिएका थिए । “उपयुक्त मौकामा रेकर्ड गरुँला भन्नुभएको थियो”, उनले भने, “एकदिन धुन तयार भएको छ, रेकर्ड गरें है भन्नुभएको थियो, राम्रो बनाउनुभएको रहेछ, चल्यो ।”
उनलाई विद्यालय पढ्दैमा गीत लेखेको याद छ । अझै गाउँभरिका केटाकेटी जम्मा गरेर घरमै रमाइलो गर्ने गर्थे उनी । “पिंढी सांस्कृतिक साँझ’ भनेर घरमै कार्यक्रम गर्थें”, उनले सम्झिए, “त्यसमा गीत, नाच र नाटक समेट्थें ।” उनी आफैले नाटक पनि बनाउथे ।
विस्तारै उनलाई गीत रेकर्ड गर्न मन लाग्यो ।
२०५८ सालमा आमासँग ७ हजार रुपैयाँ लिएर काठमाडौं छिरे । तर, काठमाडौं उनले कल्पना गरेभन्दा धेरै नै गाह्रो थियो । गीत रेकर्ड गर्न गएको मान्छे काठमाडौंको कोलाहलमै हराए । पैसा सके । गीत रेकर्ड भएन ।
फर्किएर भरतपुरमा जागिर खान लागे । एउटा मेडिकलमा । अहिलेसम्म पनि उनी त्यसैमा काम गर्छन्, भरतपुरको हस्पिटल रोडको कौशल्या क्लिनिकमा । पैसा जम्मा गरेर २०६५ मा फेरि साहस गरेर गीत रेकर्ड गराए ।
त्यसबेलाका चल्तीका गायकगायिका राजु परियार र बीमाकुमारी दुराले उनको गीत गाए । मुग्लिङका कृष्ण गुरुङसँग मिलेर निकालेको ‘दैलो खोलेर’ एल्बममा १ लाख खर्च गरे । भीसीडी निकाले । चलेन । डिजिटल साउण्ड काठमाडौंबाट निकालेको एल्बमको प्रचार पनि त्यति गरेन वितरकले ।
सावाँ पनि नउठेपछि उनी निराश भए । फेरि चितवन फर्किए । लगानी गर्ने साथी कृष्ण गीतबाट उभों नलाग्ने रहेछ भनेर आफ्नो बाटो लागे ।
त्यसपछि उनी निराश बने । त्यसपछि गीत रेकर्ड गराउन पनि मन लागेन । तर, गीत भने लेखिरहे ।
अर्जुन पोखेरल पनि उस्तै संघर्षमा थिए । उनले यादवका कयौं गीत लगेका थिए । र, बेला–बेला संगीत भर्थे । २०६९ सालमा त्यसबेलाका एक रियालिटी शो विजेता वेदु सारु मगरलाई उनको गीत गाउन दिने सुनाए पोखरेलले नै । यादवलाई आशा लाग्यो । ‘आँधी चलेर हो, हुरी चलेर हो’ बोलको गीत रेकर्ड भयो । चल्यो पनि । त्यसपछि फेरि उनलाई गीत रेकर्ड गर्ने चाह बढेर आयो । गीत त लेखि नै रहेका थिए ।
यही सिलसिलामा उनको धुवाँसरि गीत चलेको हो । उनको अर्को गीत ‘यता तिर्खा लागेको धेरै भो’ २०७२ सालमा रेकर्ड भयो । नेपाली ब्लकबस्टर चलचित्र ‘प्रेमगीत’ मा पनि राखियो । यसमा पनि अर्जुनले नै संगीत गरेका छन् भने पशुपति शर्माले स्वर दिएका छन् । त्यसपछि फेरि उनी एकपटक हौसिए ।
यसपालि उनको नयाँ गीत ‘सीपालु जमुना’ तीज भाका बजारमा आएको छ । युट्युबमा पनि उपलब्ध छ । जसमा नरेश बीबीसी र निमिशा त्रिपाठीले स्वर दिएका छन् । आगामी दशैंमा पनि एउटा गीत आउनेवाला छ ।
उनका १० वटा गीत अडियो रेकर्ड भएर बसेका छन् । म्युजिक भिडियो नबनेका कारण सार्वजनिक गरिएका छैनन् । “अहिले म्युजिक भिडियो अनिवार्य बनेको छ”, उनले भने, “त्यो गर्दा कम्तीमा १ लाख रुपैयाँ एउटै गीतमा लाग्छ ।” आफूले लगानी गर्न सकेका छैनन्, अरुले गरिदिएका छैनन् ।
उनीसँग डेढ–दुई सय गीत संग्रह गरिएका छन् । रेकर्ड नगरिएका । कतिपय गीत अन्य कलाकारले लगेका छन् ।
उनलाई गीत लेख्न छुट्टै समय चाहिदैन । “कहिल्यै काम गर्दागर्दै लेखिन्छ”, भन्छन्, “कहिल्यै जति बल गर्दा पनि पूरा गर्न सकिन्न ।”
चितवनका पुराना स्रस्टाहरुले संघर्ष गर्दै गरेकालाई प्रोत्साहन नगरेकोमा उनी दुःखी छन् । “गीत तथा साहित्यमा देशै चलाउनेहरु यहाँ छन्”, उनले भने, “तर, नयाँलाई प्रोत्साहन गर्नुपर्छ भन्नेहरु कमै छन् ।”