भरतपुर–४ का जयनारायण आचार्यले ३८ वर्ष लगातार अदालतमा काम गरे । एसएलसी परीक्षा सकेलगत्तै वैदार पदबाट सेवा सुरु गरेका आचार्य गत चैतमा सेवा निवृत्त हुँदा शाखा अधिकृत भइसकेका थिए । २० वर्ष लगातार मुद्धा फाँटमा काम गरेका उनले १५ महिना बारा जिल्ला अदालतमा काम गरे भने बाँकी सबै समय जिल्ला अदालत चितवनमै बसेर काम गरे ।साक्षी वकपत्र गराउने, बयान गराउने, आदेशअनुसारका प्रमाण संकलन गर्ने, मुद्धा फैसलाका लागि न्यायाधीश समक्ष पेशी चढाउने जस्ता काम गरेको अनुभव उनीसँग छ । त्योसँगै उनको अर्को लामो अनुभव रहेको विषय निर्वाचनको हो । २०३६ सालदेखि दोस्रो संविधानसभाका चुनावसम्म लगातार खटिए उनी । उनी मतपेटिका मिलाउन र गणना व्यवस्थापमा खप्पिस मानिन्छन् । २०३६ देखिका नेपालमा भएका हरेक निर्वाचनका साक्षी हुन् उनी । उनले भोगेका केही रोचक घटनालाई यहाँ समावेश गरिएको छ उनकै शब्दमा ।
जागिरको चिन्ताले निर्दलीयलाई भोट
तत्कालीन राजा वीरेन्द्रले सुधारिएको पञ्चायती व्यवस्था वा बहुदलीय व्यवस्था रोज्न सक्ने गरी २०३६ सालमा जनमत संग्रहको घोषणा गरे । तीन महिना मतदाता नामावली संकलनमा खटिएँ । तत्कालीन ९ पहाडी गाविस पुगँे । माडीको तत्कालीन गर्दी गाविसको ९ वडामा रहेको निकुञ्जपारिको वाल्मीकि आश्रममा मतदान गराउने जिम्मा प¥यो । भारतीय भूमि भैसालोटन हुँदै वाल्मीकि आश्रम पुगेँ । त्यहाँ ९६ जना मतदाता थिए । ३ जना कर्मचारी खटिएका थियौँ । ऊबेला कर्मचारी, सुरक्षाकर्मी सबैले भोट हाल्न पाउँथे । हामी तीनै कर्मचारी बहुदलको पक्षमा भोट हाल्ने सोचमा थियौँ । बहुदलको एजेण्ट नै पाइएन । सबैले निर्दलीय व्यवस्था रोज्ने अवस्था पाएपछि हामीलाई पिर प¥यो । बहुदलको पक्षमा हाम्रो तीन मत मात्रै हुने बुझेपछि के गर्ने भनेर सल्लाह भयो । बहुदलका पक्षमा भोट नहाल्न हामीलाई ‘थ्रेट’ थियो । मत बदर हुने गरी भोट हाल्यौँ । चाहेर पनि आफ्नो मताधिकारको प्रयोग गर्न सकेनौँ । राति मतपेटिका भरतपुर ल्याउँदा १० बज्यो । ज्यादै थकाई लागेकाले भोलिपल्ट मतपेटिका बुझाउने सोच थियो । तर, राति नै बुझायौं । त्यो बलो चुनावको दिन काम गर्दा १८ रुपैयाँ भत्ता पाएको याद छ । त्योबेला चितवनको समग्र मतपरिणाममा बहुदलले जित्यो । देशभरि सुधारिएको पञ्चायती व्यवस्थाकै जित भयो ।
मतपेटिका साटियो !
राष्ट्रिय पञ्चायतको पहिलो चुनावमा चितवनमा पूर्वी र पश्चिम गरी दुई निर्वाचन क्षेत्र थिए । म पश्चिम क्षेत्रको चुनाव हेर्ने काममा खटिएँ । पश्चिममा त्यो बेला बखानसिंह गुरुङले जितेका थिए । पूर्वमा गुणराज पाठकले जितेका थिए । माडी क्षेत्रबाट मतपेटिका आउन अबेर भयो । ऊबेला सोझै मतपेटिका जिल्ला प्रशासन कार्यालय लगिन्थे । निर्वाचन अधिकृतको कार्यालयमा पछि पुग्थे । गुरुङलाई सरकारी एजेण्ट भनेर खुबै विरोध भयो । प्रशासन कार्यालयमा लगेर मतपेटिका साटियो भन्ने हल्ला चल्यो । तर, सत्यता कहिल्यै आएन । जनताले उजुरी दिने आँट पनि गरेनन् ।
एक्लै निर्वाचन गराउने जिम्मा
स्थानीय निकायको चुनाव गराउन २०५४ सालमा म माडीमा सहायक कर्मचारी भएर खटिएँ । त्यो बेला चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामप्रित यादव मतदान अधिकृत तोकिएका थिए । गर्दी र बघौडाको जिम्मा हामीलाई थियो । अचानक जापानी युवराज निकुञ्ज घुम्न आए । तत्कालै यादव सरले मलाई सबै काम गर भनेर आदेश दिनुभयो । उहाँ निर्वाचनको अघिल्लो दिनमात्रै आउनुभयो । तर, कुनै काम रोकिएनन् । दुई दिन लगाएर निर्वाचन गरेर हामी फर्कियौँ ।
चुनावमा बन्दुक पड्कियो
२०५१ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदा बन्दुक पड्केको कथा साह्रै रोचक लाग्छ । आएका मतपेटिका सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी खटिन्थे । रातभरि जिल्लाभरबाट मतपेटिका ल्याउने काम हुन्थ्यो । बन्दुक लिएर उभिएका प्रहरी निदाएछन् । उनी भुइँमा ढले । उनले हातमा लिएको बन्दुक पड्कियो । सबै कर्मचारीको भागाभाग भयो । पछि बुझ्दा सारै हाँसो लाग्यो । ती प्रहरी भाग्यले बाँचे । गोलीले सिधै मास्तिर गएछ ।
विश्वासै नगर्ने नेताको फन्दामा
मलाई हरेक निर्वाचनमा मतपेटिकाको जिम्मा दिइन्थो । तर, कहिल्यै मतपेटिका साट्ने जस्ता घटना भएनन् । तर, केही उम्मेद्वार हामी कर्मचारीलाई विश्वासै गर्दैनथे । पूर्व सांसद् जागृतप्रसाद भेटवाल कर्मचारीलाई विश्वास नगर्ने नेतामध्येका एक हुन् । उनी मतपेटिकामा शिल गरेर चावी लगाउने गरिन्थ्यो । तर, भेटवाल एउटा चावी आफै लिन्थे । हामीले पनि लिन्थ्यौं । उनी रातभर जाग्राम बसेर मतपेटिका राखेको बाहिरी कोठामै बस्थे । कर्मचारीलाई विश्वास नगर्ने काम ऊबेला पनि हुन्थ्यो ।
बाहना बनाउन खप्पिस कर्मचारी
देशमा द्वन्द्व चलेको थियो । निर्वाचन गराउनुपर्ने अवस्था थियो । एकजना कर्मचारी छट्टु निस्किए । हात भाँच्चियो भनेर उनले जान नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतलाई भनेछन् । त्यो बेलाका जिल्ला न्यायाधीश यज्ञमूर्ति कोइरालाले हातको अवस्थाबारे एक्सरे रिपोर्ट ल्याउन लगाए । उनी जानै मानेनन् । उनले पछि डरले बहाना बनाएको सुनाए ।
पत्रकारलाई माया गर्ने विनोदमोहन
मैले भोगेका निर्वाचन अधिकृतमध्ये जिल्ला न्यायाधीश विनोदमोहन आचार्य पत्रकारलाई खुबै माया गर्थे । संविधानसभाको दोस्रो निर्वाचनमा पत्रकारलाई सूचना संकलनमा कुनै कठिनाइ परेन । उहाँ आफै पत्रकार, नेता, सुरक्षाकर्मीसँग पटक–पटक छलफल आयोजना गर्नुहुन्थ्यो । निर्वाचनलाई स्वच्छ, मर्यादित बनाउन सबैको सल्लाह लिने गर्नुहुन्थ्यो । निर्वाचनसम्बन्धी हरेक ताजा विवरण पत्रकारलाई दिन कुनै समस्या नपरोस् भनेर चिन्तित हुनुहुन्थ्यो । कर्मचारीलाई पनि काम गर्ने राम्रो वातावरण थियो ।
मतपत्रमा एकपक्षीय छाप
फिल्डमा जाने कर्मचारीलाई दलले गज्जबले प्रभाव नपारेका होइनन् । स्थानीय निकायको चुनावमा लंकूमा भएको एउटा घटना सधै सम्झन्छु । ऊबेला निर्वाचन गराउन दुई जना ईञ्जिनियर खटिएका थिए । म कर्मचारीका रुपमा नखटिएपनि काममा सघाएको थिएँ । हार्ने डरले विपक्षी दलले मतपेटिका फालिदिए । विवाद भयो । कर्मचारीले त्यहाँको दलसँग तालमेल गरे । भित्री कोठामा गएर दलीय प्रतिनिधिले एक पक्षीय छाप हाने । त्यो काम साह्रै गलत थियो । तर, कसैले विरोध गरेनन् । कर्मचारीले मुचुल्का बनाएर चुनाव स्थगित गर्नुपर्ने थियो । केशरवागमा पनि कर्मचारीको लापरबाही हुँदा यस्तै घटना भएका थिए ।
मतगणना रोक्न चर्को दबाब
दोस्रो संविधानसभाको चुनावमा मतगणना रोक्न चर्को दबाब प¥यो । राति ८ बजेदेखि १२ बजेसम्म मत गन्दा एउटा दलको मत १० प्रतिशत पनि मत आएन । उनीहरु धाँधली भयो भन्दै विरोध गर्न थाले । म मतपेटिका व्यवस्थापनमा खटिएको थिएँ । मुख्य निर्वाचन अधिकृत नजिकैको कोठामा सुतेका थिए । मैले मतगणना रोक्न दबाब आयो भनेर सुनाएँ । “निर्वाचन आयोगले नभनेसम्म मतगणना रोकिन्न, हामीलाई हजुरको पार्टीले चुनवा गर्न पठाएको हो र ?” विरोधमा उत्रिएका दलसँग प्रश्न गर्नुभयो । सुरक्षामा खटिएका सुरक्षाकर्मी बोलाउन लगाउनुभयो । अनि मतगणा निरन्तर अघि बढ्यो ।
पहिले र अहिले
संविधानसभा निर्वाचन अघिका चुनावमा प्रमुख जिल्ला अधिकारीको कर्मचारी छनौटमा प्रभाव पर्दथ्यो । तर, आजभोलि त्यस्तो छैन । आजभोलि निर्वाचन सुरक्षामा ध्यान दिने राम्रो अभ्यास सुरु भएको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको छ । कर्मचारी पठाउँदा प्रशासनिक, प्राविधिक क्षेत्रका कर्मचारीलाई समावेश गरी मतदान स्थलमा खटाउनुपर्छ । त्यो अभ्यास सुरु हुन थालेको छ । पत्रकारले पनि बढी निगरानी गर्न थालेका छन् । विगतका निर्वाचन भन्दा आजभोलिका निर्वाचनमा जनचासो बढेको पाइन्छ ।
(विप्लव काफ्लेसँगको कुराकानीमा आधारित)