भरतपुर, २२ माघ ।
गत शुक्रबार दिउँसो माडीको वसन्तपुर बजारमा छुट्टै रौनक देख्न सकिन्थ्यो । माडी नगरपालिका कार्यालय अगाडि पर्ने सडकको दुवैतिर स्थानीयहरू लस्करै उभिएका थिए । उक्त भीडमा स्कुले विद्यार्थीदेखि विभिन्न सामाजिक व्यक्तिहरू थिए । सबैले हातमा रंगीबिरंगी फूल समाएका थिए । उनीहरूको भाव हेरेर यति बुझ्न सकिन्थ्यो कि उनीहरू पक्कै पनि कसैको प्रतीक्षामा थिए । सबै काम र घरधन्दा छाडेर विशेष व्यक्तिको स्वागतमा खटिन आएका उनीहरूका आँखामा व्यग्रता र उत्सुकता प्रष्टै देख्न सकिन्थ्यो ।
केही बेरपछि बरुवातर्फबाट एक एक गर्दै साइकलयात्रीहरूको प्रवेश हुन्छ । साइकलयात्रीहरूलाई स्वागत गर्न घण्टौंदेखि लाममा उभिएका मानिसहरू हौसिन थाल्छन् । तिनको मुहारमा एक्कासी उल्लास छाउन थाल्छ । लहरमा बसेका सबैले हुटिङ गर्दै एकै पटक ताली पिट्न थाल्छन् । साइकलयात्री पनि एक एक गर्दै नगरपालिका कार्यालय अगाडि आएर रोकिन्छन् । उभिएका मानिसहरूले सबैभन्दा पहिले आइपुगेका साइकलयात्रीको हातमा फूल थमाइदिन्छन् । निधारमा अबिर लगाइदिन्छन् ।
वाह बाइक र “एक सपना साइकल र सफ नेपालको” नामक संस्थाले माघ १६ र १७ गतेका लागि संयुक्त रूपमा राइड टु सोमेश्वरगढी नामक दुई दिने साइकलयात्रा आयोजना गरेका थिए । माथि वर्णित दृश्य भरतपुरदेखि साइकल चलाएरै माडी पुगेका १२० जना साइकल यात्रीलाई स्थानीयले गरेको आतिथ्यताको थियो । साइकल यात्राको रुटमा माडीको सोमेश्वरगढी र वैकुण्ठे ताललाई पनि राखिएको थियो । दुई दिनमा साइकलयात्रीहरूले करिब १४० किलोमिटर पार गरेका थिए । यात्रामा विश्व साइकल यात्री पुष्कर शाह पनि थिए । जसलाई भेट्न स्थानीय एकदमै आतुर देखिएका थिए । शाहका बारेमा पढेका र सुनेका स्थानीयले केही बेरमै उनलाई घेरिहाले । कसैले फोन झिकेर शाहसँग सेल्फी खिचे त कसैले उनको अटोग्राफ मागे । स्थानीयले पाहुनाप्रति देखाएको अपनत्वले आफू प्रभावित भएको उनले सुनाए ।
“विश्वका विभिन्न ठाउँमा साइकल कुदाइसकेको भएपनि चितवन राष्ट्रिय निकुञ्जभित्र साइकल चलाएको अनुभव बटुल्न पाएको थिइनँ”, विश्व साइकल यात्री शाहले अगाडि भने, “साइकलमा भरतपुरदेखि माडीसम्म पुग्दा एकदमै रमाइलो लाग्यो । स्थानीयको दिनुभएको सत्कार साँच्चै नै लोभलाग्दो थियो ।” माडीमा सोमेश्वरगढी तथा वैकुण्ठे ताल जस्ता उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल रहेको बताउँदै उनले तिनलाई विश्वसामु चिनाउन प्रचारप्रसारको विशेष खाँचो रहेकोमा जोड दिए । वि.सं. २०५५ देखि २०६६ सम्म विभिन्न १५५ देशको भ्रमण गरेका उनले सो क्रममा २ लाख २१ हजार किमी दूरी साइकलमै पूरा गरेका थिए । नेपालमा पनि ८० हजार किमीभन्दा बढी दूरी साइकलमै छिचोलिसकेका उनले सर्वाेच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरिसकेका छन् । अन्य देशको तुलनामा नेपालमा माउन्टेन बाइकिङका लागि प्रचुर सम्भावना रहेको उनको भनाइ थियो । “अबको पर्यटन भनेको साइकल पर्यटन हो”, उनले थपे, “सरकारकै तहबाट लामो दूरीका साइकल यात्रा तथा प्रतियोगिता आयोजना सकिए नेपाली मात्र नभएर विदेश पर्यटकलाई पनि यहाँ आकर्षित गर्न सकिने थियो ।“ पहिले हाजिरीजवाफमा नेपालमा सबैभन्दा बढी साइकल प्रयोगकर्ता रहेको जिल्ला कुन हो भन्ने प्रश्नको उत्तरमा चितवनको नाम आउने गरेको जनाउँदै उनले चितवनलाई फेरि साइकलको शहर बनाउनुपर्ने उल्लेख गरे ।
भारतको चण्डिगढबाट आएका राजीव कुमार जोनीले पनि साइकल यात्रामा सहभागिता जनाएका थिए । उनले सन् २०१३ मा ८.६ फिट अग्लो साइकल निर्माण गरेका थिए जसलाई लिम्का बुक रेकर्डले भारतको अग्लो साइकलको रूपमा प्रमाणीकरण गरेको थियो । उक्त साइकललाई १०.२ फिटसम्म बढाउन मिल्छ । दुई साथीसँगै साइकल समेत लिएर माडी पुगेका जोनीलाई हेर्न उल्लेख्यनीय रूपमा स्थानीय जम्मा भएका थिए । राजीवले मान्छेको औसत उचाइ भन्दा करिब दुई गुणा अग्लो साइकल चलाएको देख्दा स्थानीय तीन छक्क परेका थिए । बाटोमा हिँड्ने जो कोही पनि एकछिन रोकिएर अचम्मित हुँदै राजीवलाई नियाल्थे । चण्डिगढमा एसी बिक्रीको व्यवसाय सञ्चालन गर्दै आएका राजीवलाई किशोरावस्थादेखि नै साइकलप्रति रुचि जाग्न थालेको थियो । सन् १९७८ मा जन्मिएका उनले १९९५ मा पनि ४ फिट अग्लो साइकल तयार पारेका थिए । साइकल यात्राका क्रममा माडीको सुन्दरताले आफू लोभिएको बताउँदै उनले पर्यटकीय सम्भावनालाई बढाउन शहरको पूर्वाधार पनि साइकलमैत्री हुनुपर्नेमा जोड दिए । “चण्डिगढमा साइकल चलाउनेका लागि छुट्टै साइकल लेनको व्यवस्था गरिएको छ”, उनले भने, “साइकल प्रयोग गर्न प्रोत्साहन गर्ने हो भने वातावरण र स्वास्थ्य दुवैलाई फाइदा पुग्छ ।” साइकल चलाउँदा गरीब भइन्छ भन्ने भ्रम भने चिर्न जरुरी रहेको उनले औँल्याए । “म बस्ने शहरमा विद्युतीय साइकल भाडामा पनि चलाउन पाइन्छ । तपाईंसँग भएको स्मार्टफोनमा एउटा एप डाउनलोड गर्नुपर्छ”, उनले सुनाए, “इ-साइकल राखिएको ठाउँमा गएर त्यही एपमार्फत साइकल अनलक गरेपछि निश्चित समयका लागि साइकल चलाउन सक्नुहुन्छ । गन्तव्यमा पुगेपछि साइकललाई पार्क गरेर लक गर्नुपर्छ ।” सो सेवा प्रयोग गरे वापत निश्चित रकम तिर्नुपर्ने पनि उनले बताए ।
साइकल यात्रामा बुटवलदेखि १२ वर्षीय मिसन श्रेष्ठ पनि आएका थिए । उनका जुम्ल्याहा दाजु, बुबा एवं नाताले छोरा पर्ने ८ वर्षीय समिक श्रेष्ठ पनि साइकल यात्रामा सहभागी थिए । ४/५ वर्षमै साइकल सिकेको बताउने मिसनले लामो राइडमा भाग लिन थालेको भने करिब दुई वर्ष भएको जानकारी दिए । साइकल चलाउन किन मन पर्छ भन्ने प्रश्नमा उनले भने, “शरीरलाई कसरत पनि हुन्छ । नयाँ ठाउँ पनि घुम्न पाइन्छ ।”
ललितपुरकी ५५ वर्षीया उर्मिला शाक्य र सिमराका ६९ वर्षीय नवीन लम्सालले साइकल चलाएको देख्दा अन्य साइकल यात्रीलाई पनि हौसला मिलेको थियो । कुुराकानी गर्ने क्रममा दुई छोरी र एक छोराकी आमा उर्मिला शाक्यले आफूलाई सुरुवाती दिनमा साइकल चलाउन लाज लाग्ने गरेको सम्झिइन् । “साइकल त सानो छँदै सिकेकी थिएँ । नियमित भने चलाउने गरेको थिइनँ”, उनले हाँस्दै भनिन्, “माइत जाँदा साइकल चलाएको देख्नेले के भन्ने हुन् जस्तो लाग्थ्यो । माइत नपुग्दै साइकल वरै रोक्थेँ । त्यहाँदेखि माइतसम्म हिँडेर जान्थेँ ।” पछि नियमित जसो बन्द र हड्तालका कार्यक्रम हुन लागेपछि घरदेखि कामसम्म जान र कामदेखि घर फर्कन साइकल चलाउन थालेको उनले बताइन् । “काठमाडौंमा गुड्ने टेम्पो तथा बसभित्र यात्रुको चाप एकदमै धेरै हुन्छ । सामन बोकेर यात्रा गर्नु परेको अवस्थामा भीडले चेपेर आफू एकतिर सामन अर्काेतिर बनाइदिन्छ”, उनले थपिन्, “आफ्नै साइकल भएपछि एक्लै हिँड्न पनि सजिलो हुने भयो ।” प्रौढ अवस्थामा पनि साइकलमै यात्रा गर्ने गरेकाले उनलाई आयोजकहरूले विभिन्न साइकल यात्रामा समेत बोलाउन थाले । चितवनमै पहिलो पटक आयोजना गरिएको करिब १४० किमी लामो साइकल यात्राका बारेमा सुनेपछि शाक्य सोमेश्वरगढी पुग्न आतुर भएकी थिइन् । “गैंडाकोटको मौलाकालिका मन्दिर पुगेको थिएँ । त्यो हिसाबले चितवनभित्र ससाना पहाड मात्रै होलान् भन्ने सोचेकी थिएँ”, उनले फेरि भनिन्, “सोमेश्वरगढी नै पुगेपछि ओहो चितवनमा पनि यति अग्ला डाँडा रहेछन् भन्ने देख्ने मौका पाएँ ।”
काठमाडौंका अस्मिता राजवंशी र डाडिकु शेर्पा राइड टु सोमेश्वरगढीमा सहभागी हुन काठमाडौंदेखि नै साइकल चलाएर नारायणघाट आइपुगेका थिए । दुवैले साइकल व्यायम तथा रमाइलोका लागि चलाउने गरेको बताए । “साइकलको नकारात्मक पक्षभन्दा सकारात्मक पक्ष बढी छन् । साइकलले शरीरलाई फुर्तिलो राख्नदेखि खर्च जोगाउन पनि सहयोग गर्छ”, राजवंशीले सुनाइन् । आधुनिक शहरहरूले साइकलमैत्री पूर्वाधारको विकासमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो । राजवंशी र शेर्पा दुवैले पहिलो पटक यति लामो दूरीमा साइकलयात्रा गरेको बताए । “पहिले रमाइलोका लागि साइकल चलाउँथेँ । अहिले साइकल वातावरणीय दृष्टिले पनि फाइदाजनक छ भन्ने बुझेपछि अरुलाई पनि साइकल कुदाउनु पर्छ भनी सल्लाह दिने गरेकी छु”, शेर्पाले भनिन् । काठमाडौंबाट २१ जना साइकल कुदाएरै माडीको साइकल यात्रामा सहभागी हुन आएका थिए ।
हेटौँडाका राजु थापा मगर पनि राइड टु सोमेश्वरगढीमा सहभागी हुन आएका थिए । उनको समूहमा सिमरा र निजगढका समेत गरी १२ जना साइकल यात्री थिए । मगरलाई पहिले मांसपेशीको समस्या थियो । उनले औषधि सेवन गर्दै आएका थिए । “पहिले कोठादेखि बाहिर बिरलै निस्कन्थेँ । एक दिन एक जना साथीले साइकल चलाउन जाऔं भनेर बोलाए”, उनले थप्दै भने, “त्यो दिनदेखि साइकल बानी बन्दै गयो । बिस्तारै समस्या आफैँ निको भयो र औषधि पनि खान परेन ।” उनी अचेल दैनिक एक घण्टा साइकल चलाउँछन् । हप्तामा एक दिन शनिबार अलि लामो दूरीमा साइकल चलाउने गरेको उनले सुनाए ।
यस्तै, वाह बाइकका सञ्चालक तथा नारायणी सामुदायिक अस्पतालका प्याथोलोजिष्ट जीवन क्षेत्रीसँग यातायातको साधनको नाममा साइकल मात्रै छ । काममा जाँदा होस् या अन्यत्र कतै, उनी सधैं साइकल मात्रै प्रयोग गर्ने गरेको बताउँछन् । “भरतपुरभित्र हिँडडुल गर्न म साइकल नै बढी रुचाउने गर्छु । दुई जना एकै पटक हिँड्नु परेको अवस्थामा भने कहिलेकाहीँ स्कुटर चढ्छु”, उनले भने । स्वास्थ्यकर्मी हुँदैमा आफ्नै गाडी हुनुपर्छ भन्ने सोचाइ गलत भएको उनको भनाइ थियो । “सबै स्वास्थ्यकर्मीसँग गाडी किन्न सक्ने क्षमता पनि हुँदैन । तपाईंले एक पटक साइकल किन्नुभयो भने थुप्रै झण्झटबाट जोगिनुहुन्छ”, उनले अगाडि थपे, “तपाईंलाई लाइसेन्स बनाउने चिन्ता हुँदैन । किस्ता र कर तिर्नुपर्ने अनि तेल भर्नुपर्ने झण्झटबाट पनि मुक्त भइन्छ । साइकल चढ्दा वातावरण पनि प्रदूषित हुँदैन, स्वास्थ्यलाई पनि फाइदा हुन्छ ।”