१७ साउन । अस्थायी शिक्षकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग गर्दै आज पदयात्रा र कोणसभा आयोजना गरेका छन् ।
अस्थायी शिक्षक संघर्ष समितिले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट पदयात्रा शुरु गरी पुतली सडक, कमलादी, रत्नपार्क हुँदै भद्रकालीमा कोणसभा गरेको थियो ।
संयुक्त दबाब समितिका संयोजक प्रवीण न्यौपानेले अर्थ मन्त्रालयले बजेट नदिएको भनी आफूहरुको सहमति पालना गराउन नखोजिएको तर अर्थमन्त्रीसँग आफूहरुले कुरा गर्दा उहाँ सकारात्मक रहेको जिकिर गर्नुभयो ।
शिक्षा मन्त्रालयसँग गत असार ९ मा भएको चारबुँदे सहमतिबमोजिम शिक्षा ऐनको आठौँ संशोधन भई शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन हुनुपर्ने उनीहरुको माग छ । सहमतिअनुसार परीक्षामा अनुत्तीर्ण शिक्षकले पनि उचित सुविधा पाउनेछन् । त्यसका लागि कानुन संशोधन आवश्यक छ । आयोगले भने यसअघि निर्धारण गरेको आगामी भदौ ३ गतेको परीक्षा सञ्चालनको तयारी गरेको छ ।
समितिका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले बुधबार साँझसम्म माग पूरा नभएमा पुनः आमरण अनशन सुरु गरिने चेतावनी दिनुभयो । उहाँले आफूहरुको माग पूरा गराउन नेपाल शिक्षक महासंघको नेतृत्व असहयोगी भएको गुनासो पनि गर्नुभयो ।
अस्थायी शिक्षक लक्ष्मी सत्यालले आयोगले हाल २०६१ साउन २२ देखि २०७२ असोज २ भित्र अस्थायीमा नियुक्त शिक्षकलाई परीक्षामा सामेल गराउन लागेकामा ऐन संशोधन गरी २०६१ वैशाख १० देखिका अस्थायी शिक्षक र तल्लो पद लियनमा राखी माथिल्लो तहमा अस्थायी कार्यरतलाई पनि परीक्षा दिन पाउने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
‘पूर्व राजालाई गुहारेको छैन’
अस्थायी शिक्षककै एक समूहले लियन पदमा कार्यरत तथा अध्यापन अनुमति प्रमाणपत्र भएका अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी गराउन विभिन्न निकायमा माग गर्ने क्रममा पूर्वराजा र प्रधानसेनापतिसमक्ष पनि ज्ञापनपत्र दिने सन्दर्भमा आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको चामुण्डा मावि जोरपाटीका प्रअ यादवले पौडेलले बताउनुभयो ।
“म लोकतान्त्रिक गणतन्त्र र शासकीय व्यवस्थालाई मान्छु, अर्कै सन्दर्भमा गरिएको मेरो हस्ताक्षर अनावश्यक निकायमा दिइने ज्ञापनपत्रमा समावेश गरिएकामा मेरो आपत्ति छ ।” पौडेल नेपाल राष्ट्रिय शिक्षक संगठनका काठमाडौँ अध्यक्ष पनि हुनुहुन्छ । रासस