ध्रुवराज खनाल
रत्ननगर, १७ साउन ।
चितवनको राप्ती नगरपालिकामा उद्योग वाणिज्य संघ गठनको विवाद सतहमा आएको छ । पार्टी निकटका व्यवसायीले तदर्थ समिति गठन गर्न थालेपछि विवाद उत्कर्षमा पुगेको हो ।
आइतबार नेकपा माओवादी केन्द्र निकटका व्यवसायीको भेलाले मार्कण्र्डेप्रसाद गौतमको अध्यक्षतामा समिति गठन गरेको छ भने यसअघि असार २२ गते नेकपा एमाले निकटका व्यवसायीको भेलाले राजकुमार कँडेलको अध्यक्षतामा उद्योग वाणिज्य संघ राप्तीको तदर्थ समिति गठन गरेका थिए । एमाले निकटका व्यवसायीसंग पटक–पटक वार्ता भएपनि सफल हुन नसकेपछि आफूहरुले पनि उद्योग वाणिज्य संघको तदर्थ समिति गठन गरेको नेकपा माओवादी केन्द्र निकटबाट तदर्थ समिति गठनपछि अध्यक्षमा चुनिएका मार्कण्डे गौतमले बताए ।
“हामीले पटक–पटक वार्ता ग¥यौं, तर सफल भएन”, गौतमले भने, “परिस्थितिले उब्जाएको कुरा हो । तर, हामी मिल्नुको विकल्प छैन ।”
एउटै नगरमा दुई वटा संघ असम्भव छ । तदर्थ समिति गठन गरेपनि सहमतिको प्रयास जारी राख्ने भन्दै गौतमले सहमति नभए आफूहरु पनि संघ दर्ताको प्रक्रियामा लाग्ने बताए । नेकपा माओवादी निकटका व्यवसायीले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण सुमार्गीको प्रमुख आतिथ्यतामै संघ गठन गरेको थियो । जसमा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष विष्णु कँडेल र उद्योग वाणिज्य संघ–खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठलगायतको उपस्थिति थियो । माओवादी केन्द्र निकटका व्यवसायीको तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा शेषमणि बर्तौला, प्रथम उपाध्यक्षमा राजकुमार सेढाईं, द्वितीय उपाध्यक्षमा परशुराम पाठक, तृतीय उपाध्यक्षमा सुदर्शन जोशी, महासचिवमा ईश्वरी तिमल्सिना, सचिवमा सुदीप ओली र कोषाध्यक्षमा नवराज पाठक छन् । सो समिति ४१ सदस्यीय छ ।
उता असार २२ गते गठित राप्ती उद्योग वाणिज्य संघमा एमाले निकटका राजकुमार कँडेलको अध्यक्षतमामा २५ सदस्यीय समिति गठन गरिएको छ । सो समितिमा प्रायः एमाले निकटका व्यवसायी छन् । “कुनै दलमा आस्था राख्नु स्वाभाविक हो”, एमाले निकटको तदर्थ समितिका अध्यक्ष कँडेलले भने, “सबै व्यवसायीलाई समेट्ने गरी हामीले समिति गठन गरेका छौं । गठित तदर्थ समितिमा कुनै राजनीतिक रंग नदिइएको उनको दावी छ । तदर्थ समिति गठनपछि सो समितिले दर्ता प्रक्रिया अघि बढाइसकेको जनाएको छ । एमाले निकटका व्यवसायीले गठन गरेको तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा पूर्ण थापा, प्रथम उपाध्यक्षमा रामबहादुर सारु मगर, द्वितीय उपाध्यक्षमा डिल्लीराम अधिकारी, महासचिवमा प्रदीप उप्रेती, कोषाध्यक्षमा प्रतिमा पाण्डे तथा अन्य सदस्य छन् ।
यता उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर तीनका कोषाध्यक्ष ज्ञानबहादुर बिसुराल एउटै नगरमा दुई वटा उद्योग वाणिज्य संघ रहन नसक्ने बताउँछन् । “व्यावसायिक हकहितका लागि संघ गठन गर्ने हो”, प्रदेश नम्बर तीनका कोषाध्यक्ष बिसुरालले भने, “दल निकट रहेर गठन गरिएको संघलाई मान्यता दिदैनौं ।” अहिले दुई वटा तदर्थ समिति गठन गरिएपनि पछि एक हुनुको विकल्प नरहेको बिसुराल बताउँछन् । “सबै व्यवसायी अटेका छन् या छैनन्, त्यो अनुगमन गरेर मात्रै संघ दर्ता गर्छौं” बिसुरालले भने, “दुई तदर्थ समिति एक हुनुको विकल्प छैन ।” जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि छिमेकी संघको सिफरिसपछि मात्रै प्रदेशमा दर्ता प्रक्रिया अघि बढ्छ । तर, महासंघमा दर्ता हुन कम्तीमा २ हजार सदस्य हुनुपर्ने प्रावधान छ । राप्तीमा करिब १ हजारको हाराहारीमा उद्योगी व्यवसायी छन् ।
खैरहनीको अधिवेशन मंसिरमा
उद्योग वाणिज्य संघ–खैरहनीको अधिवेशन आउँदो मंसिरमा हुने भएको छ । संघको पछिल्लो बैठकले आगामी मंसिर ४ र ५ गते छैटौं अधिवेशन तथा तेस्रो अधिवेशन गर्ने निर्णय गरेको हो । करिब १० वर्ष चितवन उद्योग वाणिज्य संघको क्षेत्रीय संघको रुपमा रहेको खैरहनी उद्योग वाणिज्य संघले डेढ वर्षअघि मात्रै महासंघको सदस्यता पाएको थियो ।
स्थानीय तहको निर्वाचनका कारण रोकिएको अधिवेशन मंसिरमा गर्न लागिएको संघका अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिए । आउँदो अधिवेशनमा विधान संसोधन गरेर वरिष्ठ उपाध्यक्षलाई आगामी अधिवेशनबाट स्वतः अध्यक्ष बनाउने गरी विधान संसोधन गर्ने तयारी गरेको छ । त्यसका लागि संघका निवर्तमान अध्यक्ष केशव पाठकको अध्यक्षतामा विधान संशोधन समित गठन गरिएको वर्तमान अध्यक्ष श्रेष्ठले बताए ।