नवलपरासी, २८ वैशाख ।
नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली कांग्रेसले आयोजना गरेको कोणसभालाई लक्षित गरी बम बिस्फोट भएको छ । महेन्द्रराजमार्गको नजिकमा भएको बिष्फोटबाट मानविय क्षति भने भएको छैन ।
कावासोती नगरपालिका वडा नंम्बर ३ मा कांग्रेसवाट वडा अध्यक्षको उम्मेदवार अमृत श्रेष्ठले कोणसभा गरिरहेको अवस्थामा ४० मिटरको दुरीमा बम बिस्फोट भएको हो । ठुलो आवाजमा बम बिस्फोट भएपछि कोणसभामा भेला भएका स्थानीयहरु भागदौड मच्चिएको थियो । आगाको मुस्लोसहित निकै ठुलो आवाजमा बम बिस्फोट भएपछि कोणसभा वरवर धुलाम्मे भएको थियो ।
‘कोणसभामा बोल्दाबोल्दै ठुलो आवाजमा बिस्फोट भयो । सबै भागाभाग भैयो,’ उम्मेदवार अमृत श्रेष्ठले भने, ‘हेर्दाहेर्दै सडक धुलाम्मे भयो र ज्यान जोगाउन भाग्यौं ।’
महेन्द्रराजमार्गमा रहेको त्रिनेत्रबाबा पेटेल पम्पदेखि एकसय मिटर पूर्वमा रहेको पिपलको चौतारीमुनी साँझ पौने ७ बजे बम बिस्फोट भएको हो ।
नवलपरासीमा तीनजना मेयरका उम्मेदवारको घरबाहिर सकेट बम राखिएको २४ घण्टा नबित्दै व्यस्त राजमार्गमा बम बिस्फोट भएको हो ।
बम बिस्फोट भएको क्षेत्र वरपर टिनको पाताका टुक्राहरु छरिएको भेटिएको घटनास्थलमा पुगेका डिएसपी राजेश थापाले बताए । बिस्फोट गराउनेहरुकाे खोजतलाशकालागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
घटना विप्लव माओवादीका कार्यकर्ताले गराएको आशंका सुरक्षा निकायले गरेको कावासोतीबाट पत्रकार नारायण शर्माले आफ्नो समाचारमा जनाएका छन् ।