धु्रवराज खनाल
रत्ननगर, १५ साउन ।
सौराहाका पर्यटन व्यवसायी तथा सरोकारवालाले सामुहिक सहकार्यमा मात्रै यहाँको विकास सम्भव भएको बताएका छन् । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनमा बोल्दै उनीहरुले सामुहिक सहकार्यबाट सौराहाको विकास हुने बताए ।
यहाँका पर्यटनसँग सम्बन्धित संघसंस्थाबीच सहकार्य नहुँदा यहाँको विकास सोचेजस्तो हुन सकेको थिएन । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले सौराहाको विकास गर्न यहाँकै व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड दिए । “हामी सौराहालाई नेपालकै दोस्रो पर्यटन गन्तव्य बनाउन पहल गरिहेका छौं”, नगर प्रमुख वनले भने, “त्यसका लागि यहाँका पर्यटन व्यवसायी एक हुन जरुरी छ ।” सौराहाको विकासका लागि यहाँका व्यवसायीसँग सहकार्य गर्न नगरपालिका तयार रहेको उनले बताए ।
काठमाडौं पहिलो, पोखरा दोस्रो र सौराहा नेपालको तेस्रो पर्यटहीय गन्तव्य हो । करको विषयमा यहाँका व्यवसायीले गरेको आलोचनात्मक टिपपणीप्रति नगर प्रमुख वनले सौराहा र समग्र रत्ननगरको विकासका लागि सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताए । “समग्र रत्ननगर समृद्धिको कुरा गरिरहेका छौं”, उनले भने, “आफ्नो ठाँउ बनाउन केही त्याग गर्नुपर्छ, कर तिर्नुपर्छ, सबै करको दायरामा आउनुपर्छ ।”
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगानाले यहाँको विकासका लागि पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाले सामुहिकरुपमा काम गर्नुपर्ने औंल्याए । “हामी सौराहा–सौराहा भनिरहेका छौं”, समितिका अध्यक्ष ढुंगानाले भने, “अब सौराहालाई पूर्वी चितवनका अन्य पर्यटकीय क्षेत्रसँग जोडेर विकास गर्नु आवश्यक छ, त्यसका लागि सामुहिक सहकार्य चाहिन्छ ।” सौराहाका वार्षिक करिब २ लाख पर्यटन आउने गर्दछन् ।
“सौराहा आउने पर्यटकको संख्या वृद्धि गर्न अन्य क्षेत्रलाई जोड्नुपर्छ”, समितिका अध्यक्ष ढुंगानाले थपे, “पर्यटकीय पूर्वाधार बनाए पर्यटक आवागमन बढी ४ लाखसम्म पर्यटक भित्राउन सक्छौं ।” रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले पर्यटन क्षेत्र विस्तार गरेर यहाँको विकास गर्न संघ हातेमालो गर्न तप्पर रहेको बताए । पछिल्लो समय नारायणगढ–मुग्लिङ सडक खण्डका कारण सौराहामा पर्यटक आउने क्रम घटेको भन्दै उनले बाटो निर्माणका लागि केन्द्रित तहसम्म डेलिगेसन जान संघ तयार रहेको बताए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले सौराहामा पर्यटन प्रवद्र्धन गर्न वैकल्पिक मागको खोजी सुरु भएको भन्दै छिट्टै जिल्लास्तरीय कार्यक्रम गर्न लागेको जानकारी दिए ।
रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्ट ‘राजन’ले सहकार्यबाट मात्रै राष्ट्रिय कार्यक्रम आउने र त्यसपछि मात्रै विकासले फड्को मार्ने वताए । सो अवसरमा रेवानलाई गरेको सहयोगको मूल्यांकन गर्दै सदस्यहरु कपिल घिमिरे, नरेश गिरी, राजेश तामाङ र शम्भु मालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रेवानका संस्थापक अध्यक्ष एवं रत्ननगर–६ का वडाध्यक्ष बलराम दाहाल, ग्रीन सोसाइटी सौराहाका अध्यक्ष गिरीधारी चौधरी, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी, नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष वविता चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । रेवान सौराहाका अध्यक्ष राजन भट्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासचिव दीपेन्द्र खतिवडाले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष अर्जुन चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्षमा गिरी निर्वाचित
क्षेत्रीय रेष्टुरेष्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाको अध्यक्षमा गोकर्ण गिरी निर्वाचित भएका छन् । शनिबार सम्पन्न ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले गिरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा दीपक खतिवडा, द्वितीय उपाध्यक्षमा अर्जुन चौधरी, महासचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा शम्भुप्रसाद माली, सचिवमा विनोदकुमार लोप्चन र सहकोषाध्यक्षमा गायत्री पाठक चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राजेशकुमार तामाङ, सूर्यबहादुर रिमाल, इन्द्रराज चौधरी, ध्रुव गिरी, गोपीकृष्ण विडारी, ईश्वरी परियार र वीरबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनले दुर्गाप्रसाद घिमिरे संयोजक र देवकला भट्टराई, पुरुषोत्तम लामिछाने सदस्य रहेको लेखा समितिसमेत गठन गरेको छ । त्यसैगरी आगामी फागुनमा हुने फुड फेष्टिबलको संयोजकमा कपिल रेग्मीलाई चयन गरेको छ ।