विनोदबाबु रिजाल
भरतपुर, १५ साउन ।
काठमाडौं बाहिरको ख्यातिप्राप्त सरकारी स्वास्थ्य संस्था भरतपुर अस्पतालले सर्वासाधारणलाई सुलभ सेवा दिने उद्देश्यले अत्याधुनिक सीटीस्क्यान सेवा सुरु गरेको छ । आज आइतबारबाट १२८ स्लाइसेस सीटीस्क्यान सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । आजैबाट अस्पतालले न्युरोसर्जरी बहिरंग (ओपीडी) पनि सञ्चालन गरेको छ ।
अस्पतालले सुरु गरेको यो सीटीस्क्यान सेवा काठमाडौं बाहिरकै अत्याधुनिक प्रविधियुक्त सेवा हो । “काठमाडौंका अस्पतालमा प्रयोग गरिएका छन्”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। रुद्र मरासिनीले भने, “काठमाडौं बाहिर हाम्रो अस्पतालमा पहिलो हो ।” आजैबाट बिरामीले यो मेसिनबाट सेवा लिन सक्नेछन् ।
अत्याधुनिक प्रविधिमात्रै होइन । भरतपुर अस्पतालमा गरिएको सीटीस्क्यानको शुल्क पनि कम लाग्नेछ । कम्तीमा ३ हजारदेखि बढीमा ९ हजारसम्म शुल्क लिइने छ । “टाउकोमा गरिने हेडसीटीको बाहिर ४ हजारसम्म लिन्छन्, हामीकहाँ ३ हजारमै गर्न पाइन्छ”, अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने, “सबैभन्दा बढी एञ्जियोग्राम सीटीको बाहिर १४ हजारसम्म लिनेमा यहाँ ९ हजार मात्रै तिरे हुन्छ ।” सबै सेवा चौबीसै घण्टा पाइने डा। मरासिनीले जानकारी दिए ।
अस्पतालले आजैबाट न्यूरोसर्जरी सेवा पनि सुरु गरेको छ । साताको आइतबार, मंगलबार र विहीबार न्यूरो सर्जरीको बहिरंग सेवा सञ्चालन हुने सूचना अधिकारी पौडेलले जानकारी दिए । अस्पतालले न्यूरो सर्जरीका लागि १० बेडको वार्ड तयार पारिसकेको छ ।
न्यूरो सर्जरी सेवा सञ्चालनका लागि भरतपुर अस्पताल विकास समितिले डा।गुणराज पौडेललाई करारमा नियुक्त गरेको छ । यस विभागमा डा।पौडेलको मातहतमा अर्का एक जना सर्जनसमेत रहने छन् । न्यूरो सर्जन डा।पौडेल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चितवन आएका हुन् ।
छिट्टै न्यूरो विभागबाट सोमबार, बुधबार र शुक्रबार शल्यक्रिया सेवा पनि सुरु गरिने अस्पतालले जनाएको छ । साथै हाल अस्पतालमा रहेको २० शैयाको सघन उपचार कक्ष ९आईसीयू० मा न्युरो बिरामीका लागि छुट्याइने पौडेलले जानकारी दिए ।