भरतपुर, २४ पौष ।
भरतपुर महानगरपालिका वडा नं १ तर्फ पर्ने देवघाटको नारायणी नदीे तटमा श्मशानघाट छ । घाटमा दाहसंस्कारका लागि नियमित जसो लाशहरू आइरहन्छन् । लाशसँगै मृतकका आफन्त पनि अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उपस्थित हुन्छन् । चितामा रहेको लाशलाई जब आगोले डढाउन थाल्छ, तब मलामी मनमनै सोच्न बाध्य हुन्छन्, “हे भगवान् ! मृत्यु किन यति पीडादायी हुन्छ ?” अनि ती मलामी आफ्नो प्रिय मान्छेलाई भौतिक रूपमा फेरि भेट्न नपाइने भयो भन्दै मन भारी बनाएर आआफ्नो बाटो लाग्छन् । चिताको केही हिस्सा धुँवा बनेर आकाशमा बिलाउँदा भुइँमा भने खरानी मात्रै बाँकी हुन्छ । केही बेरअघि मलामीको भीडले ढाकिएको घाट फेरि अनकण्टार ठाउँमा बदलिन्छ । ४६ वर्षीय श्याम बहादुर चेपाङले भने त्यही अनकण्टार ठाउँलाई आफ्नो कर्मस्थल बनाएका छन् । त्यहाँ उनले आफ्नो जीवनको करिब एक दशक समय सोही मसानघाटको सरसफाइमा बिताइसकेका छन् ।
धादिङमा जन्मिएका श्याम बहादुर करिब दश वर्षदेखि देवघाटमै बस्दै आएका छन् । छ भाइ छोरा र दुई छोरीका बाबु उनले मसानघाट सरसफाइ गरेर नै आफ्ना सन्तानहरूलाई हुर्काएको सुनाए । श्याम बहादुरले दुईटै छोरीको विवाह गराइसकेका छन् । काठमाडौंमा कक्षा ११ मा अध्ययन गरिरहेका काहिँला छोराको खर्च पनि श्याम बहादुरले आफैँ धानिरहेका छन् । अर्का एक छोरा वैदेशिक रोजगारमा गएको भएपनि कोरोना महामारीका कारण छोराको काम ठप्प भएको श्याम बहादुरले सुनाए ।
उनले देवघाट सर्नु अगाडि पनि मसानघाटमै काम गर्ने गरेको बताए । उनले भने, “देवघाट आउनुअघि गाउँमै पनि पाँच वर्ष मसानघाटमै काम गरेको अनुभव थियो ।” जम्मा ६ कक्षासम्मको औपचारिक शिक्षा पाएका उनले जसोतसो पेट पाल्दै आएको सुनाए । “पहिले एसएलसीसम्म पढेको भएपनि गाउँमा सानोतिनो मास्टरी जागिर पाइन्थ्यो होला । तर के गर्नु ? पढाइ बीचैमा छाडेँ”, उनले अगाडि थपे, “आफूले जानेको काम यही छ । यसैलाई निरन्तरता दिइरहेको छु ।” उनीसँगै अन्य दुई जना घाटको सरसफाइमा खटिएका छन् ।
पछिल्लो समय महामारीका कारण धेरै लाश घाटमा नल्याइएपनि सामान्य दिनमा १४/१५ ओटासम्म शव जलाएको अनुभव उनले पोखे । “फोहोर ठाउँमा काम गर्नुपर्ने भएकाले सजिलो चाहिँ छैन । लाश आइरहने हुनाले भनेको समयमा विदामा बस्न पाइँदैन”, उनले भने, “दिनभर काम गर्दा पनि सोचेजस्तो पारिश्रमिक मिल्दैन ।” घाटमा लाश जलाउँदा उघ्रिने गरेका दाउरा बेचेर आएको रकम पनि जीविकोपार्जनका लागि सहयोगी हुने उनले सुनाए । “दाउराको डढेको भागलाई ताछेर फाल्छौं । अनि बाँकी भएको दाउरालाई बिक्री गर्ने गरेका छौं”, उनले भने ।
मलाममा आएका कतिपय मलामीले उनलाई प्रोत्साहन स्वरूप थोरै बहुत आर्थिक सहयोग गर्ने गरेको पनि उनले सुनाए । “सुरुदेखि नै काम इमान्दार भएर गर्नुपर्छ भन्ने ठानेको छु । राम्रो काम गर्दा रहेछौ भनेर कतिपयले थोरैथोरै पैसा पनि दिनुहुन्छ”, उनले बिस्तारै भने, “यतिउति दिनुहोस् भनेर माग्ने भने गरेको छैन ।” कुराकानीका क्रममा श्यामले जिन्दगीमा अरुलाई पीडा हुने काम गर्न नहुने विचार राखे । “जिन्दगी केही पनि होइन जस्तो लाग्छ । यही दुई मुठ्ठी प्राण रहुञ्जेल न हो सबैले तेरोमेरो भन्ने”, उनले थप्दै भने, “मरेपछि त के नै रहेछ र जिन्दगी ? त्यति धेरै घमण्ड के काम ?”
पछिल्ला दिन मानिस हिंस्रक बन्दै गएकोमा भने उनले निराशा व्यक्त गरे । “मान्छेहरू लाशसँग व्यर्थै डराउँछन् । लाशले त कसैलाई केही पनि गर्दैन”, थोरै हाँस्दै उनले सुनाए, “जति गर्नु त ज्युँदाले गर्छन् । अचेल त ज्युँदासँग बढी डराउनुपर्छ ।” मरणलाई राम्रो बनाउन सोही अनुसारको कर्म गर्नुपर्ने उनको तर्क थियो ।