राजनीतिक वातावरण केही सुध्रिदैँ गएपछि मुलुकभर होटल क्षेत्रमा उत्साहजनक लगानी बढेको देखिएको छ । पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार मानिने होटल व्यवसायमा पछिल्लो समय ठूला लगानीकर्ताहरु आकर्षित भएको देखिएको छ । यसले पर्यटन क्षेत्र विस्तारमा सहयोग गर्छ । पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह पनि होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् । नेपाली पर्यटन विकासमा यसले सकारात्मक प्रभाव परेको छ भने यहाँको अर्थतन्त्रमा पनि यसले सहयोग गर्ने पक्का छ ।
पछिल्लो आकाँडा अनुसार पर्यटन विभागमा दर्ता भएका होटलको संख्या ५ सय ८५ छ । विभागमा पाँचतारे १०, चारतारे तीन, तीनतारे ३१, दुईतारे ४३, एकतारे ३३ र पर्यटकस्तरका ४ सय ६५ वटा होटल दर्ता छन् ।
होटल एशोसिएशन नेपाल (हान)का अनुसार होटल क्षेत्रमा तीन खर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । काठमाडौँलगायत पोखरा, चितवन, लुम्बिनी जस्ता प्रमुख पर्यटकीय गन्तव्य र हिमाली क्षेत्रमा साना ठूला सयौँको संख्यामा नयाँ होटल र रिसोर्ट खुल्ने क्रम जारी छ । करिब दुई खर्ब ५० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रमा पछिल्लो समय ५७ अर्ब रुपैयाँ थपिएको हो । अहिले देशभर सञ्चालित होटलका कूल बेड ३८ हजार हो । सन् २०२० सम्म तारे होटलमा अरू चार हजार बेड थपिने अनुमान गरिएको छ । सरकारले सन् २०२० भित्र नेपाल आउने पर्यटकको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ । अझैपनि सरकारको योजनाअनुसार पर्यटकीय पूर्वाधार निर्माणले भने गति लिन नसकेको विश्लेषण गरिन्छ ।
पर्यटन क्षेत्रमा अनुकूल वातावरण बनेको ठान्दै व्यवसायीले नेपालमा लगानी बढाउनु सकारात्मक कुरा हो । तर, पर्यटन आगमनको सुनिश्चितता र पर्यटकीय पूर्वाधार पर्याप्त नहँुदा लगानी डुब्ने खतरा पनि व्यवसायीलाई उत्तिकै छ । सरकारले होटल, विमानस्थल, सडकजस्ता पूर्वाधार थपेर सेवा नदिने हो भने पर्यटक आउन मुस्किल छ । पर्यटक भएनन् भने होटलका कोठा कसरी भर्न गाह्रो हुन्छ । अहिलेकै अवस्था रहे ऋणसमेत डुब्ने खतरा पनि व्यवसायीहरुसँग छ । अहिले होटलको सरदर ७० प्रतिशत बेड भरिएका छन् । ठूला होटल थपिएपछि प्रतिस्पर्धा अझै बढेर जाने निश्चित छ । यस्तो अवस्थामा पर्यटक बढीभन्दा बढी भित्राउन आवश्यक हुन्छ । सरकारले त्यसका लागि राम्रो भूमिका निर्वाह गरिदिनुपर्छ । त्यो भनेको पूर्वाधार निर्माण र विदेशमा नेपालको सुन्दरताको बखान नै हो । यसमा सरकारले लगानी बढाइदिए निजीस्तरबाट भएको अर्बौं लगानी डुब्ने खतरा टरेर जानेछ ।