भरतपुर, १५ साउन ।
लामो समय विदेश बसेर अनुभव बटुलेका युवाहरुले नारायणगढमा होटल व्यवसाय सुरु गरेका छन् । लामो समय अष्ट्रेलिया बसेका विमल रिजाल र वीरेन्द्र अधिकारीले नारायणगढ क्षेत्रमा करिब २० वर्षदेखि होटल व्यवसाय गरी बसेका महेन्द्र अधिकारीसँग मिलेर होटल डिस्कोभरी सञ्चालनमा ल्याएका हुन् ।
नारायणगढको पुलचोकस्थित भगवती मार्गमा खुलेको होटलको आज आइतबार उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजन गौतमले उद्घाटन गरे । १५ वटा रुम रहेको होटलमा थकाली तथा तन्दुरी स्पेशल खाना खान पाइने सञ्चालक रिजालले जानकारी दिए । होटलमा करिब १ सय जना अट्ने हलको पनि व्यवस्था छ ।
सञ्चालक रिजालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले विदेशको सीप र कमाइ नेपालमा लगानी गरी युवाले व्यवसाय गर्नु निकै सकारात्मक भएको भन्दै गुणस्तरमा ख्याल गर्न अनुरोध गरे । उनले मर्यादा र नैतिकता ख्याल गरेर होटल सञ्चालन गर्न पनि सुझाव दिए ।
कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष कमल शर्माले होटलमा अमर्यादित क्रियाकलाप हुन नदिन एकदमै सचेत हुनुपर्ने बताए । सामुदायिक सेवा केन्द्र नारायणगढका अध्यक्ष मीना खरेलले व्यवसायमा युवा आएकोमा खुसी व्यक्त गर्दै व्यवसायिक निरन्तरताको कामना गरिन् । साथै उनले पनि राम्रोसँग पहिचान गरी पाहुना राख्नुपर्ने उनले सुझाइन् ।
साथै युवा व्यवसायी सोमराज सुवेदीले चितवनमा होटल व्यवसाय र युवा लगानीकर्ता बढ्नु खुसीको कुरा भएको बताए ।
कार्यक्रम सञ्चालक रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।