हेम रोकाहा
भरतपुर, २८ वैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि एमाललेलाई भोट हाल्न आग्रह गरेका छन् । एमाले चितवनको आयोजनामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य पार्टीको ध्यान अन्तै भएपनि एमालेको ध्यान देश विकासमा रहेको दावी गरे ।
“एमालेको विकास योजना सुन्दै अन्य पार्टी तिरिमिरी हुन्छन्” अध्यक्ष ओलीले भने, “जसको ध्यान कि त कुर्चीमा छ कि त छोरीमा त्यसले के विकास गर्छ ?” एमाले आफ्ना सन्तानका लागि नभई तमाम नेपाली जनताका सन्तानका लागि लड्ने उनले दावी गरे ।
एमालेलाई यसकारण भोट दिन्न भन्ने कोही छ भने वहसमा आउन ओलीले चुनौती दिए । “एमालेलाई भोट दिन्नौँ भन्ने एउटा कारण कसैले बताओस्” ओलीले भने, “एमालले आफ्ना छोराछोरी मात्रै बोक्छ भन्ने आरोप लाउने ? आफू प्रधानमन्त्री हुन पार्टी स्वाहा पार्छ भन्ने आरोप लाउने ? अरुका जस्ता घुँडा हेर्दा लम्पसार परेर भएको घाउ नै घाउ छ भन्ने आरोप लाउने ?”
यतिबेला काँग्रेसका कार्यकर्ताहरुको मन रोइरहेको ओलीले बताए । “काँग्रेसका कार्यकर्ताहरु यतिबेला बाँदरमुढे घटना सम्झीरहेका छन्” ओलीले भने, “तर अझै न्याय दिन्छु भन्न सकेको छैन माओवादीले । अझै त्यस्तो पार्टीलाई काँग्रेसले नाम्लो लाएर बोकिरहेको छ ।”
क्रान्ति र जनयुद्धको नाममा माओवादी हजारौँ युवाहरुको दुरुपयोग गरेको उनले आरोप लगाए । “तपाईहरुले लड्नभो जनयुद्ध भनेर तर त्यो जनयुद्ध रहेछ कि सन्तानको निम्ती युद्ध रहेछ देख्नुभयो नि ? अर्काका छोराछोरी मारेपनि माया नलाग्ने आफ्ना छोराछोरीलाई मेयरमा लड्नुपर्ने ।”
सबै नागरिक पार्टीका लागि नभई देशका लागि केही गनुपर्ने बताउँदै उनले सबैले पार्टी भन्दा पहिले देशलाई माया गर्न सिक्नुपर्ने बताए । “जब पार्टीले यो देशको लागि केही गर्दैन र यो भुगोलप्रति बैमानी गर्छ भने त्यस्तो पार्टीको पछि लागीरहनुको अर्थ छैन ।”
प्रधानमन्त्री बन्ने लालसामा देउवाले प्रचण्डपुत्रीलाई टाउकामा बोकेको ओलीको आरोप छ । ओलीले काग्रेस सभापति देउवालाई व्यङ्ग्य गर्दै भने, “कहिले टाउकाको मोल तोक्छन्, कहिले उनैकी छोरीलाई टाउकामा बोक्छन् ।”
एमालेको चुनावी सभामा एमाले महासचिव ईश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरकी उम्मेदवार दिव्या शर्मा, जिल्ला सचिव पार्वती रावल लगायतले बोलेका थिए । सो आमसभा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलको अध्यक्षतामा भएको थियो ।