विप्लव काफ्ले
भरतपुर, साउन १५ ।
तीजको परिवेश समेटेर नयाँ तीज गीत सार्वजनिक भएको छ । झ्याउरे भाकामा छमछमी नाच्न मिल्ने ‘फुरुरु फुरुरु नाच बरिलै’ बोलको गीतको भरतपुरमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो ।
दोहोरी साँझमा लामो समयदेखि गीत गाउँदै आएकी गायिका जूना डिसी, जीबी सुनार र गायक धनकुमार खड्काले संयुक्तरुपमा तीज गीत बजारमा ल्याएका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, चितवन जिल्ला संस्थापक अध्यक्ष शान्त पियाले गीतको विमोचन गरेका हुन् ।
‘साथी संगी हातमा हात गाँसेर
मनमा पिर भएनि हाँसेर
नाच बरिलै,
हेरेर जुरेली र मैनाचरीलाई
फुरुरु फुरुरु नाच बरिलै’
जीबी सुनारले यो गीतको लय संकलन गरेका हुन् । सम्मान म्युजिक डिजिटल प्रालिले सो गीत बजारमा ल्याएको हो । सो तीजगीत यूट्युबमा पनि हेर्न सकिन्छ । तीजमा सजिएकी नारीको वर्णन र तीजको वर्णन गर्दै सो गीत लेखिएको छ । यसमा गायकगायिकाको दोहोरो संवाद छैन । काठमाडौंमा छायाँकन भएको सो गीतको म्युजिक भिडियोमा करिश्मा र विशालको मुख्य अभिनय छ ।
जूना धादिङ जोगीमारा, सुनार चितवन फूलबारी र खड्का भरतपुर मिलनचोकमा बस्दै आएका छन् । खड्का सरकारी जागिरे हुन् । डिसी र सुनार भरतपुरको चारतले दोहोरी साँझमा गीत गाउँछन् । यी कलाकार मिलेर २०७२ सालमा ‘झल्को आउँछ माछीलाई खोलीको’, गतवर्ष ‘अहिलेको तीजैमा’ गीत म्युजिक भिडियोसहित बजारमा ल्याएका थिए । “तीज संस्कृति जगेर्ना गर्न फेरि अर्को कोशेली ल्याएका हौं”, गायिका जूना डिसीले भनिन्, “दोहोरी जस्तो जवाफ फर्काउने गीतभन्दा तीज महिमा केन्द्रित छ ।”
उनी सानैदेखि लोकगीत गाउने गर्थिन् । २०६८ सालमा उनी दोहोरी साँझमा गीत गाउन थालिन् । मिठो स्वरकी धनी जूना विस्तारै आफ्नै गीत ल्याउन लागिपरिन् । उनले गायक गोविन्द अधिकारीको लगनगाँठो एल्बममा रहेको पञ्चैबाजा, हाँसो रंग, नसालु नजर बोलको गीतमा स्वर दिइसकेकी छन् । उनले चमेलीको तेल, कुन्नी किन किन बोलका गीतको लय संकलन गरेकी थिइन् । “धेरै गीत होइन, थोरै गीत बजारमा ल्याउँछु”, उनले भनिन्, “राम्रा गीत ल्याउनुपर्छ भन्ने सोच छ, त्यहीअनुसार हाम्रो टीम लागेको छ ।”
गायक जीबी सुनार संगीत पनि सिकाउँछन् । उनी कञ्चनपुरबाट चितवन बस्न थालेको झण्डै ११ वर्ष भयो । सिनर्जी एफएमको लाइभ दोहोरीको कार्यक्रममा लोकभाकामा संगित दिने काम गर्थे भने कालिका एफएमको खेलौँ दोहोरीमा झण्डै तीन वर्ष अघिसम्म स्रोतासँग दोहोरी खेल्थे । उनले हालसम्म एक दर्जन गीतको लय संकलन गरेका छन् । “लोकगीतकै क्षेत्रमा परिचित हुने चाहना छ”, उनले भने, “गाउँघरका भाका टिपेर गीत बनाउन लागिपर्छु, लोक भाका संस्कृति संरक्षण गर्न लाग्नेछौँ ।” भर्खरै बजारमा आएको फुरुरु फुरुरु नाच बरिलै गीत अन्य तीज गीत भन्दा फरक भएको बताउँछन् । “पुरै तीजको परिवेश समेटेका छौँ”, उनले भने, “संवाद भन्दा पनि तीज संस्कृतिलाई बढी जोड दिएका छौँ ।” गीत विमोचन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष शान्तकुमार पीया, प्रतिष्ठानका चितवन अध्यक्ष आनन्दकुमार रञ्जित, सचिव कृष्ण भट्टराईलगायतको सहभागिता रहेको थियो ।