विप्लव काफ्ले
‘पीरतको भीख माग्न आ’को
कति राम्रो निरमाया भेट भा’को
सुन्तला र स्याउ
पीरती लाउने भए अल्लि वर आऊ’
निकै चर्चित यो लोकदोहोरी गीतमा स्वर दिएका हुन् रेशम गुरुङले । त्यसबेला सुन्तला र स्याउलाई पुकारेका उनको पिरती स्याउसँग भएन । तर, सुन्तलासँग भने लाएका छन् ।
५ वर्षअघि दाजुभाइ मिलेर झण्डै ५ सय सुन्तलाका बिरुवा रोपेका छन् । फलको आसमा सुन्तलाबारीको खुबै रेखदेख गर्छन् । नजिकै ३ ठूला पोखरीमा माछापालन पनि गरेका छन् । त्यतिमात्र होइन आजभोलि अभिनय क्षेत्रमा पनि लागेका छन् ।
यो गीतमा रेशमसहित नीर गुरुङ, शीला आले, शकुन्तला थापाले स्वर दिएका थिए । पुरानो भएपनि यो गीत अझै लोकप्रिय छ । २८ भन्दा बढी एल्बम निकालिसकेका गायक गुरुङले १ सय बढी गीतमा स्वर दिइसकेका छन् । ‘रसैको माया हे माया’, ‘ए कान्छी ढल्क्यो जोवन’, ‘अँधेरी खोला गुहेली पाक्यो’ जस्ता कौडा तथा सालैजो गीतमा लय संकलन र स्वर दिदा उनी बढी खुसी भएका थिए ।
‘बेसी बेलघारी’ उनको अर्को चर्चित गीत हो । २०२४ सालमा जन्मेका गुरुङ गाउँघरमा गाउँदै आएका भाका उतार्न सीपालु मानिन्छन् । २०४६ सालदेखि उनी लोकगीतको यात्रामा लागेका थिए । रेडियो नेपालको स्वर परीक्षामा भाग लिन कयौँ महिना कुर्नुपरेको अनुभव उनीसँग छ । “पहिला गीतमा सुन्तला र स्याउ सम्झियो”, उनले भने, “आजभोलि कहिले सुन्तला फल्छ, लगानी उठ्छ भनेर सोच्छु, पिरती लगाएजस्तै भएको छ ।”
“स्वर दिएर मात्रै भाका बन्दैन”, उनी भन्छन्, “लोकगीत गाउँघरबाट भाका खोजेर ल्याउनुपर्छ, बल्ल दीर्घकालसम्म लोकप्रिय बन्छन् ।” उनी ठेट गीत छाडेर कोठे गीतले गर्दा लोकसंगीतमा विकृती भित्रिएको उनको बुझाई छ । “हामी पहिला गाउँघर रोधी जान्थ्यौँ, भीरपाखा पुग्थ्यौँ”, उनले अनुभव सुनाए, “नयाँ भाका पाएपछि शव्द जोडजाड गरेर गीत बनाउँथ्यौँ, क्यासकेट निकाल्थ्यौँ ।”
अहिले कोठामै बसेर तयार हुने गीत वर्षे भेलजस्तै भएको बताउँछन् । “गीत आउँछन्, हिट हुन्छन्, ३÷४ महिनामै हराउँछन्”, उनले भने, “अब भाका खोज्न दुख गर्नुप¥यो, लोकगीतको मर्म भुल्न भएन ।” लोकदोहोरी राष्ट्रिय प्रतिष्ठानलगायत संघसंस्था, राज्यले लोकगीतमा छानविन गरेर ‘सेन्सर’ गर्नुपर्ने अवस्था आएको बताउँछन् । “गीतका नाच हेर्दा भारतीय फिल्मका गीतजस्ता लाग्छन्”, उनले भने, “जातीय विविधता छ, त्यहीअनुसार ड्रेस मात्रै लगाउने अभियान चलाए संस्कृति पनि जगेर्ना हुने थियो ।” छाडापन भएका लोकगीत रोक्न सञ्चारमाध्यमले पनि खबरदारी गर्नुपर्ने उनी बताउँछन् ।
आजभोलि उनी पर्दामा देखापर्न थालेका छन् । हालसम्म १९ वटा चलचित्रमा चरित्र अभिनेता भएर पर्दामा देखिएका छन् । उनले २०५९ सालदेखि अभिनय गर्न थालेका हुन् । “बुढेसकालको स्वरले साथ दिएन”, उनले भने, “अभिनयमा लागेको छु, लोकगीतमा पुराना भाका राख्नुपर्छ भनेर लय संकलनको काम पनि रोकेको छैन ।” शनिबार उनी चरित्र अभिनेताका रुपमा अभिनय गरेको भिडियो चलचित्र ‘जिउँदो लास’को नारायणी कलामन्दिरमा विशेष प्रदर्शनी गरिएको छ । कासी (कान्छी), पाते (माइली), खैओ मिथेमा (आयो है ठुलो मान्छे) जस्ता गुरुङ चलचित्रमा खेलिसकेका छन् । “स्वरले साथ नदिएकैले पहिलेदेखिको रहर पुरा गर्न अभिनय क्षेत्रमा लागेको हुँ”, उनले भने, “म लोकगीत सर्जक भनेरै चिनी चाहन्छु ।”
जिउँदो लासमा उनको जीवन्त अभिनय छ । यो चलचित्र एडीबीएन इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा बनाइएको सो चलचित्रमा हितमान गुरुङ, दुर्गा गुरुङ, प्रर्सन गुरुङ, अनुता गुरुङ, लक्ष्मी गुरुङ, आकृति लिम्बुलगायतको अभिनय रहेको छ । प्रर्सन गुरुङले तयार गरेको कथामा जनक गुरुङले निर्देशन गरेका छन् ।
दुर्गा गुरुङको गीत संगित रहेको छ । दुर्गा गुरुङ, कृष्ण गुरुङ (प्यारसिंह गुरुङ), हितमान गुरुङ, प्रकृत गुरुङ निर्माता हुन् । जीवनदेखि हरेश खाएको व्यक्तिले अरुलाई बचाएर आफू मरेको कथा समेटिएको छ ।