सिर्जन अविरल
सोचेकी थिएँ मेरो जीवनको पनि एउटा लय हुनेछ । हुनेछ एउटा राजकुमार कसैको प्रेममा नबिथोलिएको ! नहोस् उसँग कुनै सेतो घोडा र कुनै दरबार ! सुनेकी थिएँ मन साँघुरो हुन्छ दरबारमा बस्नेको…!! कल्पन्थें एकान्तमा मेरो राजकुमार कुनै बहादुर नहोस् । बरू होओस् हात समाएर आँगनकै डिलबाट जीवनको रंगिन इन्द्रेणी देखाउने…
त्यही उमेरले देखायो अनेकन सपना । हिँड्दैहिँड्दै रमाएँ बुट्टेदार सपनाको बाटो । आकाशमाथि बादलका टुक्राहरु हेरेर कल्पिएँ मनको एउटा आकृति । कहिल्यै सम्झना आएन दुःखको । सोचाइमा आएन दुःखको पनि गीत हुन्छ जीवनमा । म लेख्दै हिँड्थेँ समयका भित्ताहरूमा जीवनको अलौकिक खुसी । बोल्दै हिँड्थेँ, भेटिएका सारा आफन्तहरूसँग मनको संवाद । मेरै साथमा हुन्थे खेल्नका लागि खुसीका गोट्टाहरू । अहिले सोचिरहेकी छु खुसी पाहुना भएर आएको थियो कि भ्रम ! ऊ मेरो जीवनमा सपनाको राजकुमार भएर किन आएन ? किन आयो कारागारको जेलरजस्तो भएर ? किन थिएन उसको आँखामा प्रेम ? किन भुलेर गयो प्रेमको बाटो ? मेरो अनुहारमा खुसीका धर्सा देखिँदा किन पोलिरह्यो उसलाई भित्र कतै ? बग्रेल्ती सपनाहरू आएर बस्ने यही हो आँखाको डिल जहाँ आँसुको कोसी बगिरहेछ । आजकल सपना अडिन मान्दैन यी आँखाका चेपहरूमा ।
जति दौडदा पनि नलडिने बाटाहरू थिए मसँग । कति बिचित्रको थियो, हाँसेर नसकिने कुरा र खेलेर नथाक्ने शरीर ! सबै अतित भए अब । मस्तिष्कमा रहिरहने स्मृतिको एउटा कोलाज । समयको कइनेटोबाट निस्किएका घुमाउरा बाटाहरूमा यात्रारत छु । म जहाँ हिँड्न चाहन्नथेँ समयले त्यहीँ लगेर उभ्याएको छ । मलाई गुनासो छ यो समयसँग र गुनासो छ आफैसँग । म इरेजरले मेट्न चाहन्छु हिँडिसकेको बाटो । सुरू गर्ने रहर छ, पुरानै ठाउँबाट नवीन यात्रा ।
मलाई याद छ, मेरो पहिलो विद्यालय । मेरा नराम्रा अक्षर र औंलाले खेलाइरहने इरेजर । त्यही विद्यालयमा इरेजरले मेटेर अक्षर राम्रो लेख्न सिकाइयो । जीवनको चुनौती सिकाइएन । लेखिसकेको अक्षर कतिपटक मेटेकी छु ! मलाई विद्यालयमा उत्तर घोक्न सिकाइयो । जीवन लेख्न सिकाइएन । जीवनकै घुमाउरा प्रश्नहरूको जवाफ आफैमा खोज्न सिकाइएन । जीवन उत्सव हो भन्ने बुझाइयो । तर, नचाहेको ठाउँमा अल्झिएर सकिने जीवनको वास्तविकता बुझाइएन ।
कहिलेकाहीँ छुनै नपर्ने सानो कुराले छोइदिन्छ । हल्लिन्छु आफैंमा । गुडिरहेका साधन, हिँडिरहेका मान्छे देख्दै आएको दृश्य सबै–सबै तमासा झैं लाग्छ । हृदयको एउटा कुनामा अनियन्त्रित भूकम्प गइरहन्छ एकनास । अलमलमा पर्छु, लेख्नुपर्ने कुरामा र धकेलिन्छु लेख्नै नपर्ने कुरातिर ।
खासमा हरेक मान्छे आफू के हो भन्ने नबुझेरै अल्झिदोरहेछ । कुरेर बस्दोरहेछ अरूको धारणा ! आफ्नै बारेमा आफैले बनाउन नसकेको धारणा र आफैले हिड्नुपर्ने बाटोमा डो¥याउन नसकेको पाइँताला छ, हामीसँग । हामी वर्षौंदेखि हिंडिरहेका छौं, अर्कैको बाटो । बाँचिरहेका छौँ, अनन्त भ्रमको श्रृंखलामा । देखिरहेका छौं अर्कैको सपना । रमाइरहेका छौँ अर्कैको लागि ।
आधुनिकतासँगै मान्छे फैलिँदै छ कि खुम्चिँदै ! एउटा गम्भीर प्रश्न हठात् आक्रमण गर्छ एकान्तमा । त्यसो त एकान्त बिथोल्ने यावत् प्रश्नहरू छन् । वर्षौंअघि मसँग एउटा लय थियो जीवनको । सपना थिए अफ्नै । खुसी र हाँसो मेरो आफ्नै थियो । म हाँसिरहेकी छु अर्काको हाँसो । मेरो अनुहारमा ऊ खुसी खोज्छ आफ्नो । खोजी बस्छ मेरा हरेक कमजोरीहरू र त्यही कमजोरीमा प्रहार गरेर रमाउन चाहन्छ ऊ । ऊ ठान्छ स्वतन्त्र हुन खोज्नु मेरो कमजोरी ।आफ्नै पाइतालाले हिड्न खोज्छु र नाप्न खोज्छु जीवनको आयतन । आफ्नै अस्तित्वबोध गर्न मन छ मलाई । हिँड्दै पर कतै पुग्न मन छ, चाहेको बाटो । जिन्दगीको नयाँ गीत गाउने रहर छ । ऊ सोधिरहन्छ किन हाँस्न खोजिरहेकी हुँ म ? ऊ जान्न चाहन्छ किन देखिरहेकी हुँ जीवन रमाउने सपना ? म समयसँग लड्न चाहन्छु । म हार्न चाहन्न उसँग । म आफ्नै आँखाले हेर्छु आफ्नो सपना। नाप्नने रहर छ, आफ्नै पाइतालाले बाँकी जिन्दगीको बाटो ।
सोचिरहेकी छु, रछ्यानमा हुर्कनेहरूलाई सायद जीवनको सुगन्ध थाहा नहुनेरहेछ । र त जालिम दुनियाँको रखवार भएर उभिएको छ, ऊ । न त शान्त बस्न दिन्छ न त कतै चल्मलाउन दिन्छ । म आँखामा पुराना दिन खोजिरहेकी छु । ती स्कूले साथीहरू, आफ्नै सुरमा घुम्दै हिँडेको रमाइलो बजार, आमाको आँचल समातेर हिँडेको लामो बाटो । पिताको आँखामा देखिने आत्मसम्मान अनि आफ्नै जीवनको स्वादिलो स्वतन्त्रता…!
जीवनको एक–एक खुसी हराएर र सम्झौता गरेर रहरहरूसँग म आइपुगेकी छु यहाँ । यो ठाउँ मेरा रहरहरूको हत्या भएको ठाउँ । यो ठाउँ मैले हाँस्न बिर्सिएकी ठाउँ । यो ठाउँ मेरा सारा स्वतन्त्रताको अन्त्य भएको ठाउँ ।
सम्झनामा छन्, पुराना दिनहरू । स्मृतिमा आउँछ उही राजकुमारको पुरानो कथा । सच्याउन नमिल्ने बाटो । उठाउनै नमिल्ने गरी पोखिएको खुसी । कुनै राजकुमार आएन मेरो जीवनमा । बरू आयो एउटा आँधी र खलबल्यायो सिंगो जीवन ।
उमेरको उकालीसँगै धेरै कुरा गुमाउँदो रहेछ मान्छे । बालापनका रहरहरू सेलाएर उक्लिएको जीवनको उकालोमा सायद एक्लिँदै गएको छ, हरेक मान्छे । नौरंगी सपनाको पछ्यौरा कतै छुटिसक्छ यो मोडमा । सम्झनाको छातीमा त्रिशूल रोपेर फेरि कहिल्यै सपना देख्न नसक्ने गरी निसास्सिन्छ मान्छे । थकाइ लागेर पनि कतै नभेटिएको चौतारी र प्यास लागेर पनि कहीँ नदेखिएको झरना र खोलीजस्तो…! आफैलाई विश्वास गर्न गाह्रो खुसीको पुलिन्दा बोकेर आउँछ कोही सपनाको बाटो । भक्कानिने मन र दुखिरहने अदृश्य घाउ झन्–झन् चस्किन्छ अभावमा ।
संवादहीन जीवनको यात्रामा मनकै कुरा बोलिदिन्छ कोही । विश्रामका चौतारीहरू फेरिन्छन् । पीडाको घाऊ उस्तै हुन्छ ।
सोचाइ आउँदो रहेछ अनेक एकान्तमा । थाहा छैन छुटिसकेको जीवनरूपी रेलबाट सुखभन्दा बढी दुःख सम्झन किन अभ्यस्त छ मान्छे ? कयौं अनुत्तरित प्रश्नहरू छन् जो एकनास मनको अतल गहिराइबाट झस्काइरहन्छन् । भोग्नै नपाएको जीवन छ, मसँग । देख्दादेख्दै मरेको सपना छ आँखामा । हरदम एउटै सोचाइ दौडिरहन्छ हृदयमा । स्वतन्त्रता खोसिएको जीवन बोकेर उभिनु कति भयानक। हिँडिरहेकी छु । तर, गन्तव्य थाहा छैन । गन्तव्य नै थाहा नभएको यात्रा कति जोखिमपूर्ण ! जे देखिरहेकी छु यो कुनै सत्य लागिरहेको छैन । भोगिरहेको कुरामा कुनै अनुराग छैन । मैले खोजिरहेको के हो त्यो आफैंलाई थाहा छैन…।
कहिले त लाग्छ, म बाँचिरहेको वर्तमान झुट ! हृदयको गहिराइ छाम्न नसक्ने लोग्ने नामको पुरूष झुट…। मेरा यावत सपनाहरू सल्काएर किन तापिरहेछ ऊ रहरको आगो ? मेरो गुनासो छ भने यो युग हाँकिरहेको ठान्ने तमाम पुरूषसँग छ । अनि सभ्यताको नाममा मेरा सपनाहरु कुल्चिएर मलाई नै दासी बनाइरहेको वर्तमानसँग ।
मैले उहिले उहिले सपनामा देख्ने राजकुमार यो होइन । जसलाई मैले हृदयले स्वीकार्न सकूँ र राख्न सकूँ हृदयकै कुनामा । मैले चढ्न चाहेकी होइन सेतो घोडा । देख्न चाहेकी होइन परी कथामा भेटिने राजकुमारकै जस्तो असम्भव सपना । हात समाउँदै समाउँदै पार गर्नु थिएन सात समुद्र पनि ।
हो, म जीवनको बोध गर्न चाहन्छु । दिनहुँ जल्ने रहररूलाई रोकेर जिन्दगीको मधुर यात्रा चाहन्छु । म यस युगकी योगमाया हुँ, स्वतन्त्रताको यात्रामा म आफ्नो सम्मानपूर्ण अस्तित्व चाहन्छु । पुरूष पाइतालाले कुल्चिएको मेरो वर्तमान स्वीकार्य छैन मलाई । मैले खोजेको आफ्नै अनुहार हो । मैले चाहेको सम्मान र स्वतन्त्रताको अनुभूति हो । आफ्नै संघर्षमा निर्माण भएको सग्लो परिचय हो । तिम्रो पुरानो धर्मशास्त्रको आँखाले संसार नियाल्नु छैन मलाई । मालिक र दासी बनाउने तिम्रो धर्मशास्त्रको बाटो हिँडेर कहीँ पुग्नु छैन मलाई । आफै असुरक्षित तिम्रो ढुंगाको देउतासँग केही माग्नु छैन मलाई ।
अझै छिपछिपे सम्झना छ पुराना सपनाहरूको । सम्झना उस्तै गाढा छ, बाबाको उज्यालो अनुहार र आमाका स्नेहीला हातहरूको । त्यही सम्झनाले पर कतै उँडाएर लैजान्छ मलाई । आँखामा नाच्छन् र खेल्छन् पुरानो गाउँ र बालसखाहरू । मैले चाहेर पनि गाउँन नपाएको स्वतन्त्रताको गीत त छ ओठमा । तर, सदा त्यही गीत बन्देज छ, तिम्रो आँगनमा । मैले कहिल्यै तिम्रो आँगनलाई आफ्नो ठान्न सकिनँ । सदा दासीकै रूपमा हेर्ने तिम्रो मानसिकतासँग मैले सम्झौता गर्नै सक्छु कसरी ! यतिका वर्ष मैले सोधिन तिमीलाई शंका र इष्र्याको बादलले ढाकिएको तिम्रो आँखामा किन उम्रिएन प्रेम ?
सुन पुरूष ! म हार्न चाहन्न तिमीसँग । तिम्रो सन्तानको कमजोरीले छोपिएर अनन्तः सम्भावनाको अन्त्य होस् भन्ने चाहन्छौ तिमी । मेरो आँट र साहासलाई मार्न चाहन्छौ तिमी ! मलाई थाहा छ, म आफैसँग हारेको हेर्न चाहन्छौं तिमी । अब तिमीले हराएर पनि नहार्ने भएकी छु । यो युगसँग लड्ने आँट छ मसँग । तिम्रा पर्खालहरू नाघेर उहिले उहिलेको सपना चियाउने रहर छ । आँखामा नाचिरहेको त्यही राजकुमारलाई एकदिन भेट्ने रहर छ…।
समाप्त