विप्लव काफ्ले,
कायाकैरन,भरतपुर, साउन १४ गते ।
माडीमा विद्युत् लैजान प्रयोग भएको चितवन राष्ट्रिय निकुञ्जभित्रको भूमिगत तार प्रणालीमा समस्या दोहोरिन थालेपछि वैकल्पिक उपायको खोजी गरिने भएको छ । निकुञ्जभित्र अब हाइटेन्सन (टावरमार्फत जमिनमाथिबाट लगिने तार) मार्फतै विद्युत् सेवा लैजान अध्ययन सुरु गर्ने सोचमा प्राधिकरण छ ।
कभर गरिएको तारलाई जनावरले सहजै छुन नमिल्ने गरी राखिने पोलमार्फत विद्युत् लैजाने योजनामा प्राधिकरण लागेको छ । प्राधिकरणको वातावरण शाखाले छिट्टै ईआईए (वातावरण प्रभाव मूल्यांकन)गर्ने प्रक्रिया सुरु गर्ने स्रोतले जनाएको छ । माडीमा जग्गा खोजेर १ मेगावट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्नेबारे बहस चलेको छ ।
माडीमा विद्युत् लैजान निकुञ्जभित्र ८ किलोमिटर तार भूमिगत प्रणालीमा लगिएको छ । उच्चस्तरीय भूमिगत तार प्रयोग गर्ने गरी सम्झौता भएको थियो । चनौली–जगतपुर–माडी ३३ केभी प्रसारण लाइन ग्रामीण विद्युत् आयोजना अन्तर्गत २०६६ सालदेखि विद्युतीकरणको सुरु भएको थियो । आयोजनाको कूल बजेटमध्ये झण्डै आधा खर्च भूमिगत तार प्रणालीमै भएको थियो ।
करिब २४ लाखको अनुमानित लागतमा आयोजना सुरु भएको थियो । गत मंसिरमा ऊर्जामन्त्रीले बसन्तपुरमा रहेको सबस्टेसन उद्घाटन गरी नियमति विद्युत् सेवा सुरु गरेका थिए । विद्युत् सेवा उपभोग गर्न सुरु गरेको झण्डै ८ महिनामै फेरि अन्धकारमा नगरबासी बस्नुपरेको छ । साउन ४ गते भूमिगत तारमा समस्या बल्झिएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।
यसअघि पनि असार पहिलो हप्तामा समस्या देखिदा झण्डै दुई हप्ता सेवा अवरुद्ध भएको थियो । यसअघि निर्माणक्रममा सो खण्डमा विद्युत् प्रवाह नहुने समस्या देखिदै आएको थियो । माडीमा सञ्चालनमा रहेका लघु उद्योग, व्यवसाय, सरकारी तथा निजी कार्यालय, बैंक तथा वित्तीय संस्था, अस्पताललगायतका क्षेत्रमा प्रत्यक्ष असर परेको छ ।
माडीमा हालसम्म ४ हजार ५ सय विद्युत् ग्राहक छन् । वनकट्टादेखि बगईसम्मको हुलाकी सडकखण्डको छेउछाउका बस्तीमा विद्युत् सेवा विस्तार भएको थियो । “नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित आयोजनाका पधाधिकारीसँग गुनासो राखेका छौँ”, माडी एफएमका प्रबन्ध निर्देशक देवअञ्जान साहले भने, “तत्काल मर्मत काम थाल्ने आश्वासन पाएका थियौँ, एक हप्ता भो, समस्या हल भएन ।” पूर्वशिक्षामन्त्री धनिराम पौडेलसहित माडीका केही अगुवाले साउन ६ गते प्राधिकरणै पुगेर गुनासो पोखेका थिए । “दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता पाएका छौँ”, उनले भने, “निरन्तर दबाब दिन स्थानीयस्तरमा समिति बनाएर लाग्दैछौँ ।”
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले निरन्तर समस्या खेप्नुभन्दा विकल्प सोच्नु नै उत्तम हुने बताउँछन् । “नगरपालिका अब चुप बस्दैन”, उनले भने, “सुरक्षितरुपमा हाइटेन्सनमार्फत विद्युत् लैजाने विकल्प नै राम्रो छ, हामी अब दबाब दिन लागिपर्छौँ ।” उनले उच्चस्तरीय तार भनेर बिछ्याइएका तार वास्तविकरुपमा गुणस्तरीय भए÷नभएको निरीक्षण गर्नसमेत प्राधिकरणले गर्नुपर्ने बताउँछन् । “कमसल तार भएमा पूरै हटाएर उच्चस्तरीय तार राख्नुपर्छ”, उनले भने, “सम्भव नभए अन्तर्राष्ट्रियस्तरको हाइटेन्सन प्रणालीबाटै भएपनि विद्युत् सेवा लग्नुपर्छ, सधैं अध्याँरोमा राख्न हुँदैन ।” पटक–पटक समस्या आउँदासमेत प्रविधि अभाव देखाउँदै मर्मतमा ढिलाइ गर्ने काम रोक्नुपर्ने बताए । निर्वाचित जनप्रतिनिधिको बैठक बसेर नियमित विद्युत् सेवा गराउन मागसहित प्राधिकरण पुगेरै दबाब दिने योजना रहेको बताए ।
माडी नगरपालिकाका उपमेयर ताराकुमारी काजी महतोले भूमिगत तार प्रणालीको विकल्प सोच्ने बेला आएको बताइन् । “यो सफल नहुने संकेत देखिएको छ”, उनले भनिन्, “एक महिनामै समस्या दोहोरिएका छन्, अब हाइटेन्सननै उचित विकल्प हो ।” विद्युत् सेवा नहुदा सोलार बत्ती प्रयोग गर्नेको संख्या बढी थियो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका ईन्जिनियर राजेन्द्र पौडेल आयोजना हस्तान्तरण भैनसकेकाले वितरण केन्द्रले आफै मर्मत गर्न नसकेको बताउँछन् ।
“ठेकेदार पक्षको वारेन्टी समय सकिएको छैन”, उनले भने, “कमजोरी आउँदा हामीले खबर गरेका छौँ, तत्काल मर्मत हुनुपर्छ ।” आयोजनाको हस्तान्तरण प्रक्रिया चलिरहेको छ । माडी विद्युत् सबस्टेशन ईञ्चार्ज तथा भरतपुर वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर आनन्द कुँवरले भूमिगत तार प्रणालीमै पटक–पटक समस्या दोहोरिरहेको बताए । “निरन्तर विद्युत् प्रवाह नै हुन सकेको छैन”, उनले भने, “१० गते प्राविधिकसहितको टोलीले जडान भएका ठाउँमा हे¥यो, समस्यै फेला परेन ।” भारतीय कम्पनीले निकुञ्जखण्डमा भूमिगत तार विछ्याउने कामको जिम्मा पाएको थियो । “मर्मत पछि बत्ती बल्छ । तर, कहिले बिग्रन्छ ठेगानै छैन”, उनले भने, “नियमित मर्मत गराउन लागिपरेका छौँ ।”
सो आयोजनाको निर्माणको काम सकिएको दुई वर्ष पूरा भएको छ । “ठेकेदार पक्षले भूमिगत तारमा ठूलै समस्या भेट्न सक्ने डरले अब मर्मत गर्न सक्दैनौँ भनेर प्रतिवेदन बुझाएको छ”, आयोजनाका प्रमुख जगदीशचन्द्र जोशीले भने, “वारेन्टी समय पनि सकिने अन्तिम महिना यही हो, अब प्राधिकरणले नै खर्च बेहोर्ने गरी मर्मत काम हुन्छ ।” तारको परीक्षण गरेरै विछ्याइएकाले कमसल तारै हो भनेर भन्न नसकिने उनको जिकिर छ । “फल्ट लोकेटर मेसिन भारतबाट ल्याउन झण्डै दुइ लाख खर्च गर्दैछौँ”, उनले भने, “आयोजनाको वास्तविक खर्च विवरण पनि तयार हुदैछ, छिटै आयोजना हस्तान्तरण हुन्छ ।”
भूमिगत तार प्रणाली विदेशमा सफल भएकाले यहाँ असफल हुनुको कारण खोजीमा लागिने उनको भनाइ छ । “निकुञ्जभित्रको बाटो चौडा हुने चर्चा छ, हामी पनि एकैसाथ वातावरणीय प्रभाव मूल्यांकन गर्ने सोचमा छौँ”, उनले भने, “३÷४ महिनामा प्रतिवेदन बन्छ, अन्तर्राष्ट्रियस्तरबाट अनुमति लिएपछि हाइटेन्सनबाटै विद्युत् लान सकिएला ।”
जंगली जनावरलाई असर पर्ने भन्दै तत्कालिन अवस्थामा निकुञ्जभित्र हाइटेन्सन लाइन लैजान रोकिएको थियो । फल्ट लोकेटर मेसीन नेपालमा छैन । अब हरेक जिल्लामा सो मेसीन राखेर तत्काल मर्मत गर्न सघाउने गरी टेण्डर निकालिने योजना रहेको उनले बताए । माडीमा पहिलोपटक विद्युतीकरणको काम २०५५÷२०५६ सुरु हुन लाग्दा निकुञ्जभित्र हाइटेन्सन लाइन लानेबारेमा लामो विवाद पछि भूमिगत तार प्रणाली सुरु भएको थियो । माडीमा हाल २४ वटा ट्रान्सफर्मर छन् । जसमध्ये ६ वटा २ सय केभिए, १४ वटा १ सय केभिए, ४ वटा केभीए क्षमताका छन् । सबस्टेसन ३ एमभीए क्षमताका छन् ।