विप्लव काफ्ले
भरतपुर, १३ साउन ।
क्षेत्रपुरकी नीशा गुरुङ एसिड प्रहारले दुःखी बनिन् । प्रेम प्रस्ताव अस्विकार गर्दा उनीमाथि एसिड प्रहार भयो । तर, उनी निराश भइनन् । उपचारसँगै उनी समाजिक अभियानमा जुट्न थालिन् ।
भरतपुर शिवघाटका विकल्पराज श्रेष्ठ पढाइमा अब्बल विद्यार्थी हुन् । उनी रोजगारीका लागि कयौं ठाउँ धाए । जागिर खोज्न जाँदा उल्टै तीन लाख रुपैयाँ घूस मागेपछि निराश बने । बिरामी आमा उपचार गराउन रोजगारीका लागि भौंतारिएका थिए । जागिर नपाएको चिन्ताले उनी कूलतमा फसे । उनका साथीले उनलाई लागूपदार्थको लतमा पारे । सुईमार्फत लागूपदार्थ लिन उनले घरबाट दिनहुँजसो सामान चोरी गर्न थाले । एक दिन उनले आफ्नै आमालाई सुनको सिक्रीका लागि मारिदिए ।
यी घटनाका मुख्य पात्र पछिल्लो केही महिना धेरै युवायुवतीसँगै हिड्न थालेका छन् । यी दुई जस्तै प्रतिभाशाली विद्यार्थी मिस्टर एण्ड मिस कलेज चितवनमा सहभागी छन् । उनीहरुले आफूभित्र भएका प्रतिभा उजागर गर्ने राम्रो अवसर पाएका छन् । गुरुङ प्रेसिडेन्सी कलेजमा १२ कक्षामा पढ्छिन् । श्रेष्ठ बालकुमारी कलेजमा स्नातक परीक्षा दिएर बसेका छन् । यी दुवैले गरेको माथिको कथानक समेटिएको जीवन्त अभिनयले धेरै प्रतिस्पर्धीलाई सचेत बनायो ।
“युवाले समाजमा लुकेका समस्या उजागर गर्नुपर्छ, विकृतिविरुद्ध लड्न सक्ने समाज बनाउनुपर्छ”, नीशाले भनिन्, “पढाइको अलावा यस्ता प्रतिस्पर्धाले प्रतिभा उजागर गर्न सघाउँछ ।” अन्तरनिहित प्रतिभा उजागर गराउन कर्मा इभेन्टस्को आयोजनमा भएको यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि ९ युवा र १४ जना युवती छन् । “धेरैको अगाडि उभिएर बोल्ने क्षमता विकास भएको छ, सामाजिक काम गर्ने प्रेरणा दिएको छ”, विकल्पराज श्रेष्ठले भने, “राम्रो कलाकार बन्ने ठूलो रहर छ, पूरा गर्नेछु ।”
उनी यसअघि पनि फेसन सोमा देखिएका थिए । आँपटारीकी पुष्पा पौडेलले गरिबीले उपचार गराउन नसक्दा आमा गुमाएको अभिनय गरिन् । “ठूलो पर्दामा अभिनय गर्ने रहर छ”, नारायणी पब्लिक कलेजमा १२ कक्षामा अध्ययनरत पौडेलले भनिन्, “झण्डै एक महिनाको तालिमले आत्मबल बढाएको छ, समाजमा चिनिन सक्छु भन्ने लागेको छ ।”
मिस्टर एण्ड मिस कलेज चितवनमा सहभागी भरतपुर–११ की रुवी सापकोटा सूचना तथा प्रविधिमा स्नातक अध्ययनरत छिन् । “मोडलिङ क्षेत्र मन पर्छ”, उनले भनिन्, “यो प्रतिस्पर्धाले धेरै कुरा सिकाएको छ, भविष्यमा सामाजिक काम गर्नुपर्छ भन्ने पाठ पनि सिकाएको छ ।”
असार १६ गते अडिसन लिएर छनौट भएका ६३ जनामध्येबाट फाइनल राउण्डमा २३ जना पुगेका छन् । “व्यक्तित्व विकासका लागि तालिम दिएका छौँ, विज्ञबाट परामर्श दिएका छौँ”, कर्मा इभेन्ट्सका मनिस तामाङले भने, “सामाजिक अभियानमा लाग्न प्रेरणा दिन यो कार्यक्रम गरिन लागेको हो ।” यो प्रतिस्पर्धाको फाइनल यही साउन १४ गते गैडाकोटको नारायणी रिसोर्टमा हुँदैछ । आइएफसी फेसन कलेजबाट डिजाइनर ड्रेस, अनुष्का व्यूर्टि पार्लरबाट प्रतिस्पर्धि सजिएर मञ्चमा देखा पर्नेछन् । विजेताले ३५–३५ हजार नगद पाउने छन् । एक वर्षका लागि कर्मा इभेन्ट्सको ब्राण्ड एम्वेसेडर, म्यूजिक भिडीयोमा अभिनयको अवसर दिइने उनले बताए । मिस्टर तथा मिस रनरअप दुवैलाई २०÷२० हजार, सेकेन्ड रनरअपलाई १०÷१० हजार नगदसहित पुरस्कृत गरिने बताए । प्रतिस्पर्धीलाई विभिन्न १३ विधामा उत्कृष्ट छनौट गरिने छ । एविसि एजुकेसन एण्ड माइग्रेसन कन्सल्टेन्सी र लेक ट्वान्टी थाउजेण्ड एण्ड रिट्रिट एलटिके मुख्य प्रायोजक हुन् ।