स्थानीय तह निर्वाचन आउन अब ३ दिनमात्रै बाँकी छ । दलहरु आजै अन्तिम चुनावी सभा र घरदैलोमा जुट्दैछन् । भोलिबाट मौन अवधि सुरु भइसक्ने भएकाले दलहरु आजमात्र जनताको अगाडि मत याचना गरेर जान पाउँछन् । भोलिबाट पाउँदैनन् । निर्वाचन आयोगले पनि मतदाता शिक्षाका लागि गाउँगाउँ मान्छे पठाउने आज अन्तिम दिन हो । तर, अझैपनि कतिपय अवस्थामा कतिपय ठाउँमा मतपत्रमा केही द्विविधा र नबुझिने कुरा रहेको जनताबाट गुनासो आइरहेको छ । निर्वाचन आयोगले पनि बुझाउन नसकेका कारण कतिपय अवस्थामा जनता द्विविधामा छन् । त्यसैले जनताले आफ्नो अमूल्य मत बदर गर्ने सम्भावना पनि छन् । त्यसलाई कम गर्नका लागि एकदमै ध्यान दिएर मत हाल्त आवश्यक छ ।
आगामी स्थानीय तहको निर्वाचनको लागि तयार भएको मतपत्र यसअघिका निर्वाचनमा प्रयोग हुने मतपत्र भन्दा भिन्न र केही जटिल छन् । त्यसकारण पनि मतदाता झुक्किने र मत बदर हुन सक्ने सम्भावना धेरै छ । निर्वाचन आयोगले धेरै उम्मेद्वार हुने जिल्लामा ६८ र थोरै उम्मेद््वार हुने जिल्लामा ८ पंक्ति (तर्सो लहर÷रो) भएको मतपत्र सार्वजनिक गरेको छ । तर, हरेक मतपत्रमा ठाडो लहर अर्थात कोलम भने सात वटा हुन्छन् । यसको अर्थ मतदाताले सात जना प्रतिनिधिलाई मत हाल्न सक्छन् । धेरै उम्मेद््वार हुने जिल्लामा एकै पानाको मतपत्रमा दुई भाग छुट्याएर चुनाव चिह्न वितरण गरिएको छ । चितवनको मतपत्रमा ४४ वटा पंक्तिलाई २ भागमा छुट्याइएको छ । मतपत्रको पहिलो ठाडो लहर मेयर वा अध्यक्ष (प्रमुख) लाई मत दिनको लागि हो । यो पहिलो ठाडो लहरमा एकभन्दा बढी कोठामा स्वस्तिक छाप लगाए मत बदर हुन्छ । मतपत्र दुई भागमा बाँडिएको हुनाले दुवै भागको पहिलो ठाडो लहरमा एकभन्दा बढी कोठामा छाप लगाउनु हुँदैन । यो नियम पहिलो पाँचवटै ठाडो लहरमा लागू हुन्छ । अर्थात मतदाताले पहिलो पाँचवटै ठाडो लहरमा एउटा÷एउटा कोठामा मात्र छाप लगाउन पाउँछन् । तर, गाढा ठाडो धर्सोले छुट्याइएको अन्तिम दुईवटा लहरमा भने जुनसुकै २ वटा कोठामा छाप लगाउन पाइन्छ । अन्तिम ठाडो लहरमा दुईवटा चुनाव चिह्न राखिएका छन् । यसमा दुईवटा छाप लगाउन भने पाइदैन । छाप लगाउँदा कोठाको घेरामा छुने गरी लगाउनु हुँदैन । यसो गरेमा मत बदर हुन्छ । मतपत्रमा छाप लगाउँदा स्वस्तिक चिह्न भएको छाप मात्र लगाउनुपर्छ, औंठा छाप लगाएमा मत बदर हुन्छ ।
निर्वाचन आयोगले पठाएको कार्यकर्ताबाट पर्याप्त जानकारी नपाएपनि, दलका कार्यकर्ताले यथेष्ट जानकारी नदिएपनि अनेक माध्यमबाट पनि सही तरिकाले मत हाल्ने तरिका सिक्न सकिन्छ । मतदाता आफैपनि सक्रिय भएर, सचेत भएर मत हाल्न आवश्यक छ । बल्ल–बल्ल आएको अमूल्य मत हाल्ने अवसरलाई त्यसै खेर नफालौं । हालेको मत पनि बदर हुनबाट जोगाऔं ।
मत हाल्न सिकौं
मत हाल्न सिकौं
तपाईको प्रतिक्रिया