विप्लव काफ्ले
भरतपुर,
चोकर दाना मूल्यवृद्धिको चपेटामा परेका किसानले नयाँ प्रविधिको प्रयोग गरी उत्पादन लागत घटाउँदै आम्दानी बढाउने जुक्ति खोजेका छन् । भरतपुर महानगरपालिका फूलबारीका बिउ बेर्ना उत्पादक किसान शंकर केसी घाँसलाई साईलोपिट प्रविधिमार्फत घाँस आपूर्ति गर्ने काममा जुटेका छन् ।
घाँसको बेमौसममा पनि सहजै घाँस व्यवस्थापन गर्ने प्रविधि उनले सुरु गरेका हुन् । “घाँसलाई गुन्द्रुक जस्तै बनाएर राख्ने प्रविधि नै साईलोपिट हो”, उनले भने, “४÷५ महिनापछि घाँसमा हुने तत्व सुरक्षितरुपमा रहने गरी राख्न मिल्छ, घाँस अभावको समस्या रहदैन ।” उनले ३ विघामा बहुवर्षीय घाँस र ९ विघामा मौसमी घाँस खेती गरेका छन् ।
२०६८ सालदेखि घाँसखेती सुरु गरेका उनले वर्षको झण्डै ५ लाख आम्दानी गर्छन् । दुई वर्ष यता उनले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । “५ कठ्ठाको घाँस अहिले जम्मा गरेको छु”, उनले भने, “५० बाख्रालाई घाँस अभाव हुँदा २५ दिनसम्म पुग्छ ।” जिल्ला पशु सेवा कार्यालय चितवनले यो वर्ष ७० प्रतिशत अनुदानमा साईलोपिट निर्माणमा सघाएको थियो । जिल्लामा ९ किसानले आर्थिक वर्ष २०७३÷७४ मा यो अनुदान लिएका थिए । ९ किसानले १ लाखका दरले अनुदान पाएका थिए ।
बेमौसमी घाँस पशुलाई खुवाउन यो प्रविधि ज्यादै महत्वपूर्ण मानिन्छ । करिब १० मिटर लम्बाइ, ५ मिटर चौडाइ र झण्डै दुई मिटर गहिराइ हुने गरी खाल्डो तयार गरिन्छ । जुन टहराभित्र रहन्छ । काटेर सुकाएका घाँस त्यसैमा खादिन्छ । भित्र हावा नरहने गरी माथिबाट प्लाष्टिकले छोपेर राखेपछि सुरक्षित गर्ने घाँसको टुक्रामा केही मात्रा पराल पनि मिसाइन्छ ।
यसरी सुरक्षित गरिएको घाँसमा प्रोटिनको मात्रा बढी हुने उनले बताए । आहाराको अभाव हुन नदिन साईलोपिट प्रविधि किसानले अपनाउन थालेका छन् । घाँस कम उत्पादन हुने सुख्खा मौसममा हाल बढी उत्पादन भएको घाँस सुरक्षित राख्ने प्रविधि हो ।
झण्डै तीन करोड लगानी गरी व्यावसायिकरुपमा उन्नत जातका बोयर जातका बाख्रा पाल्दै आएका जगतपुरका योगेन्द्रबहादुर खड्काले पनि साईलोपिट प्रविधि र हाइड्रोपोनिक प्रविधि सुरु गरेका छन् । वर्षभरि नै हरियो घाँस उपलब्ध गराउन हाइड्रोपोनिक प्रविधि महत्वपूर्ण मानिन्छ । यो माटोविना नै घाँस उत्पादन गर्न सक्ने प्रविधि हो । भिजाएर राखेका मकै, गहुँजस्तै दानामा टुसा आएपछि स्ट्रेमा राखेर पानीको छिर्रा मार्फत हुर्काउने गरिन्छ । “१२ घण्टा भिजाएका दानालाई एक दिनभरी जुटको बोरामा राखेर अंकुरण गराइन्छ”, उनले भने, “टुसा पलाएका दानालाई टहराभित्रको स्ट्रेमा राखिन्छ, तालिका अनुसार पानी दिइन्छ, ७ दिनमा घाँस तयार हुन्छ ।”
उनका अनुसार १ केजी मकैबाट ८ केजी बराबरको घाँस तयार हुन्छ । “प्रोटिन, मिनरल, भिटामिन जस्ता अन्य पोषक तत्व हुन्छ”, उनले भने, “उत्पादन लागत पनि कम पर्छ, वर्षभरि हरियो घाँस खुवाउन पनि सकिन्छ ।” यसरी उत्पादन गरिने घाँसले दाना खपत कम गरी लागत कम गराउने उनको अनुभव छ । जिल्ला पशु सेवा कार्यालय मार्फत यो प्रविधि सुरु गर्न ५ लाख रुपैयाँ अनुदान उनले पाएका थिए । २ सय केजी दानाबाट घाँस उत्पादन गर्न सकिने प्रविधि उनले जडान गरेका छन् ।
जिल्ला पशु सेवा कार्यालय चितवनले एक जिल्ला एक घाँसेवाली स्रोत केन्द्र बनाएर घाँस तथा बीउ उत्पादन कार्य सुरु गरेको छ । शारदानगरको बखानपुर बहुउद्येश्यिय सहकारीले यो कार्यक्रम सञ्चालन गर्न अनुदान पाएको थियो ।
“कार्यक्रम ढिलो पाएपनि हामीले झण्डै ४५ क्विन्टल जैघाँसको बीउ उत्पादन गरेका छौँ”, बखानपुर व्यवसायीक घाँस स्रोत केन्द्रका सचिव अर्जुन ढकालले भने, “१० विघामा घाँस बीउ उत्पादन ग¥यौँ, चैतमा परेको पानीले धेरै असर ग¥यो ।” उनका अनुसार १० कट्टठामा बहुवर्षीय घाँसको नर्सरी सुरु भएको छ । भटमास घाँस, इन्दु घाँसको १÷१ क्विन्टल बीउ उत्पादन गर्ने लक्ष्य लिइएको छ । पशु सेवा कार्यालयले ३ लाख ५ हजार अनुदान दिएको थियो । जसबाट घाँस बीउ खरिद, टहरा निर्माण, टंयाङकी निर्माण, मोटर जडान, पाइप जडानलगायत काम भएका छन् । सहकारीले पनि १ लाख बढी खर्च गरेको छ ।
“पशुपालनमा घाँस खेतीको महत्व धेरै छ”, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डिल्लिराम सेढाईंले भने, “व्यावसायिक घाँस खेतीमा किसानलाई अब्बल बनाउन प्रोत्साहन गर्नेे काम भएको छ ।” हिउंदे घाँस विकास कार्यक्रममा ८ लाख रुपैयाँ, बहुवर्षिय घाँस विकास कार्यक्रममा ११ लाख रुपैयाँ बराबरको अनुदान दिइएको छ । “घाँस अभाव हुन नदिन नयाँ प्रविधि भित्र्याउने काम पनि भएको छ”, उनले भने, “चितवनलाई घाँस स्रोत केन्द्रलाई उपयुक्त जिल्ला बनाइने छ ।”
चितवनमा झण्डै दुई दर्जन व्यवसायीक घाँस स्रोत केन्द्र सञ्चालनमा छन् । व्यावसायिक रुपमा गाईभैंसी पाल्ने, बाख्रा पाल्ने किसानले व्यवस्थित घाँस खेती सुरु गर्न थालेका छन् । यसैबीच जिल्ला पशु सेवा कार्यालय चितवनले शनिबार राजनीतिक दलका प्रतिनिधि, किसान अगुवा, पत्रकारसहित पश्चिम चितवनमा अनुदान पाएका किसानहरुका व्यावसायिक पशुपालन फर्मको अनुगमन गरेको छ ।
तीन किसान पुरस्कृत
चितवनमा पशुपालनमा सक्रिय भई व्यावसायिक घाँस खेती गर्ने तीन किसान पुरस्कृत भएका छन् । पशु आहारा (फ्रिशन) अन्तरगत घाँस खेती तथा बीउ उत्पादनमा सक्रिय तीन किसानलाई सम्मान गरिएको हो ।
रत्ननगर–१५ का चेतप्रसाद ढकाल, भरतपुर–२३ का योगेन्द्रबहादुर खड्का र भरतपुर–२१ का हरिप्रसाद अधिकारीलाई कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख शिवप्रसाद पन्थी र जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. डिल्लीराम सेढाईंले क्रमश ः १० हजार, ८ हजार र ६ हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन् ।