विनोदबाबु रिजाल
चितवन, १२ साउन ।
चितवनका एक नाम चलेका व्यवसायीलाई धम्काउँदै २० लाख असुल्ने प्रयास गरेका धादिङका ४ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय गुप्तचर निकाय ‘रअ’ को ‘नेपाल एजेन्ट’ भएको दावी गर्दै गोलीले उडाउनेसम्मको धम्की दिने उनीहरुलाई चितवन प्रहरीले आइतबार काठमाडौंको बसपार्कस्थित सिस्नेरी गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो ।
“रअ’को नेपाल प्रतिनिधि भन्दै उद्योगी व्यवसायीसँग ठूलो रकम माग गर्ने गिरोहका मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरिएको छ”, चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने, “उनीहरुले गोली ठोक्न २० लाखको ‘सुपारी’ लिएको दावी गरेका छन् ।”
पक्राउ पर्नेमा मुख्य अभियुक्त धादिङ ज्वालामुखी गाउँपालिका–२ बस्ने ३० वर्षका ईश्वर बस्नेत, सोही ठाउँका २२ वर्षका रोशन बस्नेत, २० वर्षका मनोज श्रेष्ठ र ज्वालामुखी गाउँपालिका–१ का रामकृष्ण श्रेष्ठ रहेका छन् । उनीहरुलाई एसपी थापाको कमाण्डमा खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुले चितवनको एक उद्योगका मालिकलाई ज्यान लिनेसम्मको धम्की दिई ५० लाख रुपैयाँ रकम माग गरेका थिए । मागअनुसारको रकम नदिए अपहरण गर्ने, मार्ने जस्ता धम्की दिँदै आएका उनीहरुलाई प्रहरीले काठमाडौंबाटै सफल भएको हो ।
“१५ दिनदेखि फोन गरेर थर्काएका थिए”, एसपी थापाले भने, “शुक्रबारबाट एसएमएसमार्फत धम्की दिन थाले, आइतबार त प्रहरीको नियन्त्रणमा आइहाले ।” उनीहरुले धम्काउने क्रममा तीन वटा फरक सिम प्रयोग गरी फोन तथा एसएमएस गरेका थिए । पक्राउ पर्नेलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मुख्य अभियुक्त पूर्व सशस्त्र प्रहरी
प्रहरीले मुख्य अभियुक्त भनेर चिनाएका ईश्वर बस्नेत पूर्व सशस्त्र प्रहरी जवान भएको खुलेको छ । धादिङको मैदीस्थित समीभञ्ज्याङ मा.वि.मा ९ कक्षासम्म पढी २०६४ साल बैशाखमा सशस्त्र प्रहरी बलमा जवान पदमा भर्ना भएका उनले २०६८ साल असोज महिनामा भगौडा भई जागिर छाडेका थिए । हाल उनी स्थानीयस्तरमा सडक निर्माण गर्ने ठेक्कापट्टाको काम गर्दै आएका छन् । “साथै उसको दाजु तत्कालीन माओवादीको लडाकु भएको बुझिएको छ”, प्रहरी प्रमुख थापाले भने, “दाजुलाई शक्तिखोरमा भेट्न आउँदा त्यस क्षेत्रको वस्तुस्थितिबारे जानकारी राखेको पाइएको छ ।”
रामकृष्ण स्थानीय समीभन्ज्याङ मा.वि.मा १२ कक्षासम्म पढी हाल ग्लोबल कलेज बानेश्वर काठमाडौंमा बीबीए तेस्रो वर्ष पढ्दैछन् । रोशन २०७३ साल बैशाखमा रोजगारको लागि साउदीको दमम गई २०७४ साल असारको अन्तिम हप्ता मात्रै नेपाल आएका थिए भने मनोज पब्लिक युथ कलेज क्षेत्रपाटी काठमाडौंमा बीबीए प्रथम वर्षसम्म पढेका छन् ।
यसरी भो घटना
ईश्वरले घटना हुनुभन्दा १५ दिन अगाडि रामकृष्ण श्रेष्ठको साथमा दिउँसो आई पीडित व्यवसायीको फ्याक्ट्री स्थानीयसँग फ्याक्ट्री र फ्याक्ट्री मालिकको बारेमा जानकारी लिएको बुझिएको छ । “फ्याक्ट्री मालिकको जानकारी लिन काम खोज्ने बहान गेको र छेउछाउमा बुझेर व्यक्तिगत विवरणसमेत लिएको पाइएको छ”, थापाले भने, “फ्याक्ट्री धनीको गाडी नम्बरसमेत त्यहींबाट लिएका छन् ।” त्यसपछि धादिङ पुगी मनोज श्रेष्ठ र रोशन बस्नेतसँग धनी मान्छे खोजेर धम्की दिई फिरौती माग्ने योजना सुनाएर उनीहरुलाई पनि संगठित अपराधमा सहभागी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
साउन ६ गतेबाट पीडितलाई फोन गरेर पैसा माग गरेका उनीहरुले तीन दिनभित्र ३ वटा सिमबाट ५ वटा एसएमएस गरेका छन् । पटक–पटक फोन गर्ने तथा एसएमएस पठाएर धम्काउने र ज्यान मार्ने धम्की र छोराछोरी पढ्ने स्कूलसमेतको जानकारी लिई अपहरण गर्ने धम्कीसमेत उनीहरुले दिएका थिए । सुरुमा व्यवसायी प्रहरीकोमा आएनन् । तर, धेरै धम्काउन थालेपछि जिल्ला प्रहरी प्रमुख थापाको सम्पर्कमा आए । थापाले ती व्यवसायीलाई प्रहरी कार्यालयमै राखे ।
“मैले भित्रभित्रै तिनीहरुलाई पक्रिने योजना बनाइसकेको थिएँ”, थापाले भने, “हरेक गतिविधि नियाल्न पीडितलाई यहीं (प्रहरी कार्यालयमै) राखें, अतिगोप्य तरिकाले सीमित जनशक्ति र प्रविधिको मात्रै प्रयोग गरेर अपराधीको नजिक पुग्ने कोशिस गरें ।” उनले आवश्यक परे ‘इन्काउन्टर’ नै गर्ने योजना गरेपनि आवश्यक नपरेको बताए ।
खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान टोली, महानगरीय अपराध महाशाखा काठमाडौं, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय काठमाडौं र केन्द्रीय अनुसन्धान व्युरोको सहयोग लिएको उनले जनाए ।