मंसिर १७ ।
जवानीको विस्मृतिमा लिप्त बैसालु उमेर सबैलाई प्यारो नै हुन्छ । ठिटिलो र लोभलाग्दो शारीरिक बनोटसँगै हुँदै गरेका शारीरिक परिवर्तनले जीवनको पाठ पढाउँदै लग्नेछ । संसारको विचित्रता र आफ्नो पनको अलौकिक संसारमा भुल्दै चञ्चलेपन खोलाको तटमा वेदना मिश्रित तरलका झोकाहरू जस्तै ओल्लो तीर र पल्लो तीरमा बेवारिसे बन्दै गइरहेछन् । मनका भावहरू कति उर्लिन थालिसके त कति बाँकी नै छन् । असार र साउनमा परेको झरिले कुलो सुसाएर, खोलो गड्गडाएर, नदी नीलो भएर वारी र पारीको गतिमा ठोकिन थालेपछि आउने आवाज जस्तो प्रतिध्वनि मिश्रित आवाज, पक्कै परिवर्तनको संकेत हो ।
प्रकृतिले भरिपूर्ण बनाइदिँदा पनि आफू आफू भएर रहन नसकेको नदी जसरी बर्षामा उर्लिएर बस्ती डुबाउन अग्रसर रहन्छ । यसरी नै लोभित र भ्रमित नजरले कुन दिन र कुन पल आफूलाई बदलेर आफ्नो परिचय गुमाउने हो, थाहा हुँदैन।जवानीको नजर अन्धो हुन्छ । जसरी हिउँदमा एउटै लयमा बगिरहेको नदीले बर्षायाममा आफ्नै तट मिचेर बहन थाल्दछ । ठीक यसरी नै अन्धो बैँसको भुमरीले सिमा कटाइदिन्छ र अलग पहिचान बनाइदिन्छ ।
हिउँदमा एकनासले बगेको नदी बर्षामा उर्लेला भनेर बार र तट नलगाइएको पनि नहुन सक्छ तर विडम्बना, शक्ति र सामथ्र्यले पूरै निकम्मा बनाइदिन्छ बन्देजलाई, र त उm नदीदेखि आफूलाई बाढी नामक परिचय लिएर बस्ती छिर्दछ । बैँस पनि यसरी नै सीमा र परिधिलाई एउटा कुनामा थन्काएर नवरंगका नवनिर्मित कलिला टुसे जवानीको बस्तीतिर मौलाउँदछ। नदीको गुमेको परिचय र भर्खर पाएको बाढी नामले कालान्तरमा देखिने क्षतिलाई आँकलन गरिएझैँ कति बस्तीहरूलाई तहसनहस बनासकेको हुन्छ । र कतिलाई विस्थापित गराइसकेको हुन्छ भ्रमित जवानीको रसले । रोक्न र छेक्न कोसिस गर्दागर्दै पनि सखाप पारिदिने उर्लिएको खोला र बैँसको उन्मात सायद उस्ता उस्तै हुन् : घटना भैसकेपछि बल्ल नतिजा निकालिन्छ । यो वर्ष यतिको क्षति भएछ । बर्सेनि आउने यस्ता बाढीले कयौँ बस्ती जोखिममा परेझैँ कयौँ बैँसका भोकाहरूलाई शारीरिक रूपमा जोखिम पुर्याइरहेको छ, अनि पुर्याइरहने छ ।
http://www.twitter.com/sumanadhikari53