काठमाडौं, ९ मंसिर ।
बीबीसीले सार्वजनिक गरेको ‘बीबीसी १०० महिला’ को सूचीमा यसवर्ष नेपालकी सपना रोका मगर परेकी छिन् । बेलायती समाचार संस्था बीबीसीले प्रत्येक वर्ष विश्वभरिका १०० जना प्रेरणादायी एवम् प्रभावशाली महिलाहरूको नाम र कामको सूची सार्वजनिक गर्छ ।
म्याग्दीकी सपना बेवारिसे शवलाई दागबत्ती दिने काम गर्छिन् । १८ वर्षकै कलिलो उमेरमा उनले तीन सयभन्दा बढी बेवारिसे शवलाई दागबत्ती दिइसकेकी छिन् । प्रहरीले बेवारिसे शवलाई कम्तिमा ३० देखि ३५ दिनसम्म राख्छ, आफन्त खोज्छ र नभेटे सपना र उनको समूहलाई दागबत्ति दिन बोलाउँछ ।
हिन्दू धर्ममा दाहसंस्कार गरेपछि मुक्ति मिल्छ भन्ने भनाइ छ । तिनै बेवारिसे शवहरुको मुक्ति कसले दिलाउला ? भन्ने प्रश्नले घोचेपछि सानै उमेरमा सपना त्यतातिर लागेकी हुन् । कोभिडको समयमा आफ्नै परिवारको सदस्यका शवदेखि मानिसहरू डराएर तर्किए । तर, सपनाले संक्रमणको जोखिम मोलेरै पनि विभिन्न अस्पतालका शवगृहहरूमा रहेका बेवारिसे दुर्गन्धित लासहरुलाई उठाएर दागबत्ति दिइरहिन् ।
कुनै समय सपना सडकमै भौँतारिन्थिन्, सडकमै रात कटाउँथिन् । सपनालाई सडकमा मर्ने व्यक्ति पनि अन्तिम संस्कारका हकदार छन् भन्ने लाग्छ । उनले यो काम सामाजिक सेवाको रूपमा भन्दा पनि आफ्नै मनको शान्तिको लागि गर्ने गरेको बताएकी छिन् । सपनाले र उनको समूहले २० भन्दा बढी जिल्लामा शव व्यवस्थापन गर्ने शाखा खोलिसकेको छ । यसलाई बिस्तार गरेर देशैभरि खोल्ने विचार उनीहरुको छ ।
BBC 100 Women 2020: Who is on the list this year?
The BBC has revealed its list of 100 inspiring and influential women from around the world for 2020. This year 100 Women is highlighting those who are leading change and making a difference during these turbulent times.