धु्रवराज खनाल
रत्ननगर, ११ साउन ।
प्राकृतिक विपद् आउनुअघि नै क्षति न्यूनीकरणका लागि सजगता अपनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विपद् व्यवस्थापन समिति रत्ननगरको आयोजनामा मंगलबार भएको मनसुन पूर्वतयारी गोष्ठीमा उनीहरुले विपद् विनाजानकारी आउने भएकाले स्वयं सजग हुनुपर्ने बताए ।
रत्ननगर नगर कार्यपालिकाका प्रमुख नारायण वनले विपद् एक्कासी आउने भएकाले प्रकृतिसँग खेल्न जान्नुपर्ने बताए । “विपद् जानकारी दिएर आउँदैन”, नगर प्रमुख वनले भने, “तर प्राकृतिक विपद्बाट क्षति कम गर्न प्रकृतिसँग खेल्न जान्नुपर्छ ।” वाढीबाट हुने क्षति नियन्त्रण गर्न खोला छेउछाउमा हुने बस्ती विकास रोक्नुपर्नेमा उनले जोड दिए । “खोला छेउछाउ र जंगल नजिकका ऐलानी जग्गा कब्जा गरेर बस्ती विकास गर्ने चलन छ”, उनले भने, “खोलामा आउने वाढी र जंगली जनावरको आक्रमणबारे हामी सोच्दैनौं, त्यसबाट पनि विपद् निम्तिरहेको छ ।” खोला र जंगल छेउछाउका क्षेत्रमा रहेका बस्ती स्थानान्तरण गरी अन्य क्षेत्रमा बस्नयोग्य बनाउन नगरपालिकाले कार्ययोजना बनाउने वनले बताए ।
शक्तिखोरमा रहेको चुनखानीका कारण विपत्ति निम्तिन सक्नेमा उनले चिन्ता व्यक्त गरे । “वाढी पहिला माथिल्लो भेगबाट आउने हो”, उनले भने, “शक्तिखोरको चुनढुंगा खानीका कारण एक दिन विपत्ति आउनेमा द्विविधा छैन, त्यसको असर रत्ननगरसम्म पर्न सक्छ ।” वाढीबाट जोगाउनकै लागि स्वीस सरकारको सहयोगमा पूर्वी चितवनको विभिन्न खोलामा तटबन्धको काम भइरहेको नगर प्रमुख वनले बताए ।
नगर उपप्रमुख विमला दुवाडीले विपद्को सामना गर्नुभन्दा पहिले नै क्षति न्यूनीकरणको तयारी गर्नुपर्नेमा जोड दिइन् । कार्यकारी अधिकृत एवं जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले विपद् कम गर्न सूचना संयन्त्र प्रभावकारी बनाउनुपर्र्नेमा जोड दिए । जलवायु परिवर्तनका कारण विभिन्न किसिमका विपत्ति आउन सक्ने भएकाले वातावरण संरक्षण गर्नु नै उत्तम उपाय रहेको उनले बताए ।
रत्ननगर–२ का वडाध्यक्ष तिलकराज शर्माले रत्ननगरमा बन्न लागेको सडकलाई नमूना सडकको उपमा दिइएपनि यसले दुर्घटना र विभिन्न रोगको प्रकोप फैलन थालेको भन्दै चिन्ता जनाए । “निर्माण कार्य ढिला हुँदा दुर्घटना बढेका छन्”, वडाध्यक्ष शर्माले भने, “निर्माणकै क्रममा खाल्डाखुल्डीमा जमेका पानीबाट विभिन्न रोग देखिन थालेका छन् ।” हाजिपुर टोल विकास संस्थाका अध्यक्ष शम्भु थपलियाले बालीनालीमा हुने रोगको प्रकोपलाई विपद्को सूचीमा राख्नुपर्ने बताए ।
गोष्ठीमा जिल्ला समन्वय समितिअन्तर्गत गठित विपद् व्यवस्थापन समितिका फोकल पर्सन बलराम लुइँटेलले विपद्, मनसुन पूर्वतयारी अपाउनुपर्ने उपाय, विपदपछि हुने क्षेत्रगत विषयका बारे जानकारी गराएका थिए । रत्ननगरमा सबैभन्दा बढी बाढीको डर छ भने वन्यजन्तुको आक्रमण, सवारी दुर्घटना, खडेरी, हावाहुरी, आगलागी पनि यहाँ हुन सक्ने विपद्मै पर्दछन् । गोष्ठीले क्षेत्रगत विषयमा समिति गठन गर्ने जिम्मा नगर बोर्डलाई दिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनको अध्यक्षतामा मनसुन पूर्वतयारी नगरस्तरीय कार्यशाला गोष्ठी भएको थियो ।