सिर्जन अविरल मूलतः कवि हुन् । रेडियोकर्मी र साहित्य पत्रकारका रूपमा पनि उनी विगत डेढ दशकदेखि क्रियाशील छन् । प्रगतिशील लेखनीमा यिनी अब्बल लेखकका रूपमा परिचित छन् ।
वाल्मीकि साहित्य सम्मान २०७४, शिव पौडेल स्मृति पुरस्कार(साहित्य संगम चितवन) डिल्लीराम–धनसरा पुरस्कार (शारदास्मृति प्रतिष्ठान चितवन) नारायणी वाङ्मय पुरस्कार (वीरगञ्ज)लगायतका पुरस्कार तथा सम्मान पाइसकेका अविरल अभिव्यञ्जना साहित्य प्रतिष्ठानका संस्थापक हुन् । यिनी कविडाँडा साहित्य समाज तथा अक्षर समूह चितवनसँग पनि आबद्ध छन् ।
कालिका यात्रा, अभिव्यञ्जना, भद्रकुमारी स्वर्ण, विश्वप्रकाश स्वर्ण स्मारिका सम्पादन गरेका यिनी साहित्यिक पत्रकारितामा पनि क्रियाशील छन् । एमए नेपाली (प्रथम श्रेणी) उत्तीर्ण उनी अहिले प्रगति शिक्षा सदन (पूर्व रामपुर) र एपेक्स एकेडेमी क्षेत्रपुरमा अध्यापन गर्दछन् ।
आदिगायक सेतुरामदेखि दिलमाया खातीसम्म (पुराना गायक गायिकाको जीवनी) ‘म आकाश हेरिरहेछु’ कविता संग्र्रह साथै ‘क्यान्टोनमेन्ट र अरू कविताहरू’ कविता सङ्ग्रह प्रकाशन गरिसकेका अविरलले अबको कृतिको रूपमा उपन्यासको तयारी गरिरहेका छन् । उनी कायाकैरन दैनिकको साप्ताहिक साहित्यिक परिशिष्टाङ्क ‘शनिबासरीय’ मा स्तम्भ ‘मेरो सिर्जना’ का लागि साउन महिनाभर प्रस्तुत भइरहेका छन् । जसअन्तर्गत साउन ७ गते शनिबारको अंक (साउन–१) मा उनका सशक्त ३ कविता छापिएका छन् । जसलाई स्तम्भ संयोजक लेखराम सापकोटाले यहाँ प्रस्तुत गरेका छन् ।
कविता–१
प्रेमको गुम्बज
बुझेर पनि तिम्रो असीम दुःख
म उभिरहेछु अर्को दुःखको किनारमा
सपनाको भ¥याङ टेकाएर
कसले पु¥याएको हो तिमीलाई त्यो दुःखको आँगनमा
र
देखाएको हो ती उदास डाँडाहरू
आँखामा नाचिरहेको झिलमिल उज्यालो
अनुपम प्रेमको गुम्बज र भोग्न नपाएको बैंस
कसले खोसेको हो यो ठाउँमा
गाइरहेको कोइली किन उड्दै गएको हो
माथि–माथि असजिलो पहाडतिर
र मेरो मनसम्म आएर
किन सुनिएको हो तिम्रो प्रेमको धड्कन ?
अलग–अलग बगेका यी खोलाका किनारहरूसँग
यही पहाडमा उभिएको वर्षौदेखि
तिमीले अझै किन नसोधेको प्रश्न
सिंगो जीवनमा नसकिने तिम्रो दुःख
अब लान्छ कहिले बगाएर यो मस्र्याङ्दीले
कसले छोडेको हो तिमीलाई यही दुःखको चौतारीमा
किन नपढेको हो उसले शाहजहाँको प्रेमकथा
कहाँ गएको हो त्यो युवक एक्लै–एक्लै छोडेर
यो दुस्खको भिरमा तिमीलाई
र
कहिलेसम्म बगिरहने हो, तिम्रो आँखाको डिलबाट
अत्यास लाग्दो दुःखको झरी ?
यो नयाँ वर्ष पनि दुःखै लिएर आउने हो भने
किन बदलिएको हो, भित्ताको क्यालेण्डर,
मौसमी झरी र कोइलीको गीत
तिम्रो दुःख उस्तै हुने हो भने
किन फलाकिरहेको हो त्यो युवकले
सखारैदेखि स्वतन्त्रताको गीत ?
कविता–२
ओ, अनाम युवती !
समयले छेक्दाछेक्दै
आफ्नै बलले उठेर यही जमिनमा
यतिका वर्ष हिँडेर आँफ्नै बाटो
र
देखेर आकाशजस्तै अनन्त सपना
भेटेको हुँ पहिलो पटक
मेरो जस्तै दुःखका खातहरू तिमीसँग
र भनेको हुँ, पहिलो पटक
हामीसँगै हुन सक्छौं कहिल्यै नसकिने यात्रासम्म
आँखाबाट चुहिरहेको तिम्रो दुःख देखेर
रोजेको हुँ, दुःखकै यात्रा
रमाएको हुँ, दुःखमै रूझ्न
र लेखेको हुँ पहिलो पटक साहसले
तिम्रो प्रेमको कविता
ओ, अनाम युवती !
सपनाकै जंगलमा सपनाका खातहरू ओढाएर
कोही तिमीलाई सपनाकै बन्दी बनाइरहेछ
देखाएर झिलमिल ताराहरू
र सुनाएर धर्मग्रन्थको पुरानो कथा
छेक्दैछेक्दै डरलाग्दो पर्खालले
कोही तिमीलाई दास बनाइरहेछ
पहिलो पटक साहस गर युवती !
तिमीलाई पनि स्वतन्त्रताको गीत गाउने अधिकार छ
उड्दैउड्दै आकाशमा बिलाएको चङ्गाजस्तै
किन हराएको हो तिम्रो आँखामा सपना
कसले खोसेको हो जीवनको रङ
किन ओइलाएको हो,
लिँदालिँदै हातको रातो गुलाफ
तिम्रो अनुहारमा भर्खरै देखिएको उज्यालो
रमाउँदै रमाउँदै ओठमा नाचिरहेको खुसी
कुन पिरले पखालिएको हो
कुन धर्मले छेकेको हो तिम्रो बाटो
कसले धकेलेको हो दासताको आँगनमा
अब तिम्रो दुस्ख बिसाउन यही यात्रामा
भेटिनेछैन कुनै अर्को मान्छे
र भेटिने छैन
तिमीले सोचेजस्तै अर्को चौतारी
साहस गर युवती !
तिमीलाई पनि स्वतन्त्रताको गीत गाउने अधिकार छ ।
कविता–३
निर्जन जंगल
सुन, सुनमाया !
हरेक बिहान दौडिदै यी खोलाहरूमा
तिमीले सुसेल्दै गाएको
आफ्नै जीवनको गीत कहाँ गएर रोकियो ?
हतारै हतारमा समाएर तिम्रो हात
कसम खाइसकेपछि
खोसेर तिम्रा रंगिन सपनाहरु
जिन्दगीको यो निर्जन जंगलमा
कसले तिमीलाई सपनाकै बन्दी बनायो ?
वर्षौंअघि कसैले यही बाटोमा
जीवनभन्दा अप्ठ्यारा दुस्खहरू बिर्साएर
सपनाको इन्द्रेणीमा डुलाउँदै डुलाउँदै
ताराहरूको प्रेमिल कथा सुनाएपछि
बिर्सिएर संसारका सबै दुखान्त कथा
तिमीले आफ्नै हृदयमा लेखेकी हौ एउटा नाम
सुन, सुनमाया !
एक दिन तिम्रो मृत्युपछि
र
सेलाएर आएपछि उसले आफ्नै सपना
बग्दै–बग्दै जानेछ आँखाबाट नरित्तिने झरी
केबल बाँकी रहनेछ मधुरो स्मृति
रहिरहनेछ यो रित्तो आकाश
अनि
तस्बिर अगाडि टोलाइरहने उदास आँखाहरू
जीवनको यही दलदलमा
सम्झिरहनेछ कोही तिमीलाई
र सोधिरहनेछ हरपल तिम्रो तस्बिरसँग
किन साँची बस्यौ कहिल्यै नपुग्ने सपना
हार्नलाई बाँकी केही नभएपछि
किन हेरिरहन्छ्यौ मेरो आँखामा ?
सुन, सुनमाया!
कुनै एक दिन तिमी नभएछि
मात्र बाँकी हुनेछ तिम्रो सम्झना ।